कारोबार


भारतीयले लगेको रेमिट्यान्सले देखाउँछ नेपालमा कामको कमी छैन: प्रधानमन्त्री ओली

भारतीयले लगेको रेमिट्यान्सले देखाउँछ नेपालमा कामको कमी छैन: प्रधानमन्त्री ओली

नेपालखबर
भदौ २१, २०७७ आइतबार १५:१७,

युवराज खतिवडाले राजीनामा दिएपछि अर्थमन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार निजी क्षेत्रका नेतृत्वसँग छलफल गरेका छन्।

अर्थ मन्त्रालयबाट बाहिरिएका खतिवडा, राष्ट्रिय योजना आयेगका उपाध्यक्ष पुष्पराज कँडेल, उद्योग वणिज्य तथा आपूर्ति मन्त्री, राज्य मन्त्री, अर्थमन्त्रालयका अधिकारीहरु लगायत सरोकारवाला निकायका व्यक्तिहरु समेत राखेर उनले निजी क्षेत्रका अगुवासँग छलफल गरेका हुन्।

प्रधानमन्त्री तथा अर्थमन्त्री ओलीले निजी क्षेत्रका नेतृत्वकर्तासँग सुझाव र परामर्शका लागि छलफल आयोजना गरेका उनका प्रेस सल्लाहाकार सूर्य थापाले जानाकारी दिए।

थापाका अनुसार छलफलमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका तर्फबाट आ-आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए। त्यसक्रममा उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलो गरेर अर्थतन्त्रलाइ चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए।

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदमहरू, गरेको अध्ययन र सम्बोधनको बारेमा स्पष्ट गरेका थिए।

आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नागरिकको जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको स्पष्ट पार्दै स्वतन्त्रताको असन्तुलित वकालतले गर्दा धेरै ठूलो क्षति भोग्नुपर्नेतर्फ सबैको ध्यानाकर्षण गरे।

उनले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको समेत उल्लेख गरे ।

कोभिड–१९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जिम्मेवार पक्ष सचेत हुन पनि उनले निर्देशन दिए ।

प्रधानमन्त्रीले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गरे।

प्रधानमन्त्रीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारेका थिए।

काम गरेर खान नेपालमा समस्या नरहेको स्थिति पनि उनले स्पष्ट पार। छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैठौं मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन भन्ने देखाउने प्रधानमन्त्रीको तर्क थियो।

प्रधानमन्त्रीको भनाई उधृत गर्द थापाले भने ‘भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, युवाहरू यो अवस्था बुझेर देशभित्र क्रियाशील हुनपर्छ।’

कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको मनोबल बढाउनुपर्नेमा उनले विशेष जोड दिए।

छलफल करिब अढाई घण्टासम्म चलेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad