कला


पलेँटीमा संगीतकार विक्रम गुरुङ

पलेँटीमा संगीतकार विक्रम गुरुङ

नेपालखबर
साउन ५, २०७६ आइतबार १३:४८,

यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’मा प्रसिद्ध संगीतकार विक्रम गुरुङको प्रस्तुति हुने भएको छ। यसका निम्ति हङकङबाट संगीतकार विक्रम गुरुङ काठमाडौं आइपुगेका छन्। 

संगीतकार विक्रम फेवातालको पश्चिम पहाडमा रहेको तामागी गाउँमा जन्मिएका संगीतकार हुन्। विक्रमका पिता भारतीय सेनामा भएका कारणले उनको बाल्यकाल भारतको देहरादुनमा वित्यो। प्राथमिक तहमा पढ्दै गर्दा स्कुलमा पियानो बजाउँदै बालगीत सिकाएको दृश्यले उनलाई आकर्षित त गर्थ्यो तर त्यतिबेला उनी संगीत कक्षामै सहभागी विद्यार्थी भने थिएनन्। कक्षा पाँचको अध्ययनपछि विक्रमको परिवार पोखरा फर्कियो र उनी शुरुमा नेपाली आदर्श विद्यालयको नामले चिनिएको गण्डकी बोर्डिङ स्कुलमा भर्ना भए। गण्डकी बोर्डिङ स्कुलमा कक्षा दशसम्म पढेका उनले एसएलसी भने मल्टी पर्पोज न्यासनल हाइस्कुलबाट गरे।

 विक्रम सानै उमेरदेखि संगीतमा जिज्ञासु भएरै हो किशोर अवस्थामै बिना बाजागाजा गुनगुनाएर धुन बुन्ने प्रयास गर्थे। पलेँटीको निम्ति गाउने अभ्यास गरिरहेका उनीलाई आफ्नो सुरुका दिन सम्झन अनुरोध गर्दा भन्छन्– ‘मैले ट्युन गर्न पहिलो कोसिस गरेको त ‘फेरि उसैका लागि’ मा रहेका राजा महेन्द्रका शब्दहरूबाट हो, बिना गाजागाजा। त्यो संगीतप्रतिको मेरो रहरको जिज्ञासु चरण थियो।‘

 विसं २०३३/३४ सालपछि भने उनको सांगीतिक रुचिले नयाँ मोड लियो। त्यो नयाँ मोडमा पुर्‍याउने पात्र भने गायक अरुण थापा थिए। अरुणको स्वर त्यतिबेला मौलिक रचनामा प्रवेश भएकै थिएन। उनी रेडियो र फिल्ममा चलेका हिन्दी, नेपाली गीत गाउँथे। उनको गायकीको चर्चासँगै पोखरामा रहेका संगीत र साहित्य प्रेमीहरूको चहलपहल बढ्यो। त्यही चहलपहलले पोखरेली युवा सांस्कृतिक परिवारको जन्म भयो। संगीतकार विक्रम त्यही विगतलाई सम्झँदै भन्छन्– ‘अरूणसँगको भेटपछि भने पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसा)को जन्म भयो। विभिन्न कार्यक्रमहरू आयोजना हुनथाले। त्यसका निम्ति नेपाली गीत बनाउनु पर्छ भन्ने सोच आयो र मैले पनि अरुण सँगसँगै बसेर संगीत सृजना गर्ने जाँगर चलाएँ।‘

 संगीतकार विक्रमले सृजना गरेका तीनवटा गीत मात्र अरुणले गाएका छन्। ती तीनवटै गीतले लोकप्रियता र बौद्धिक जमातको प्रसंसा दुबै बटुले। ‘भुलुँ भलुँ लाग्यो मलाई’ ले त लोकप्रियताको उचाइ नै चुम्यो साथै ‘आँखाको निँद खोसी लाने’ र ‘कतै टाढा तिमीबाट भुलेँ भने’ ले पनि राम्रो प्रसंसा पाए। अरूण र विक्रमको सांगीतिक सहकार्यमा निकै ठूलो सम्भावना रहेको थियो तर त्यो सम्भावनालाई समयले साथ दिएन। उच्च शिक्षा हासिल गर्न विक्रम काठमाडौंतिर लागे। किर्तिपुरको त्रिभुवन विश्वविद्यालयमा भर्ना भए। अरुण भने पोखरामै रहे। केही अन्तरालमा अरूण पनि काठमाडौं उपत्यका त आए तर पोखराको जस्तो सांगीतिक जमघट भने हुन सकेन। साँगाको प्रहरी विद्यालय हुँदै अध्यापन पेशामा प्रवेश गरेका विक्रमलाई त्यही पेशाले हङकङ पुर्‍यायो। संगीतबाट उनी टाढा नै त भएनन् तर त्यसमै तल्लिन रहन पनि पेशा र समयले साथ दिएन।

 ‘अरूणकै निम्ति भनेर केही गीत तयार पनि गरेँ र काठमाडौंमै रेकर्ड गर्ने तयारी पनि भयो। म्युजिक ट्रयाक पनि बने तर अरूण हराइरहेको बेला थियो त्यो। अरूणको स्वास्थ्य खस्किसकेको बेला थियो। उनको मनले गाउन खोज्थ्यो तर शरीरले साथ दिन सकेन। ती ट्रयाकहरू त्यत्तिकै थन्किए।‘ तिनै गीतको संयोजन गरेका सहयोगी संगीतकार अम्बर गुरुङ ‘पोखरेली’ तिर फर्कँदै विक्रमले अरूणका पछिल्ला क्षण सम्झिए।

 पलेँटीमा आउने शुक्रबर, शनिबार र आइतबार तिनै क्षण र सांगीतिक यात्राको सम्झना गर्दै आफ्ना गीत प्रस्तुत गर्ने तयारीमा छन् संगीतकार विक्रम गुरुङ। ‘पलेँटीले शब्द लेख्ने र धुन भर्नेहरूलाई प्रस्तुत गर्ने क्रममै मलाई पनि निम्त्याएको हो भन्ठान्छु। यो मञ्चमा नेपाली आधुनिक संगीतका धेरै योगदानकर्ताहरू प्रस्तुत भइसक्नु भएको छ। यो मञ्चले नेपाली आधुनिक संगीतको प्रतिष्ठा उठाउन गरेको अभियानमा जोडिन पाउनु खुशीको कुरा हो।’ आफ्ना धेरैजसो गीत आफैँ गुनगुनाउने तयारीमा रहेका गुरुङ भन्दै थिए। उनलाई महिला गायनतर्फ भने गायिका मीना निरौलाले साथ दिनेछिन्।

 ‘पलेँटी मार्फत् विक्रम दाइसँगको संगतलाई अझ परिमार्जित गर्न पाउनु एउटा छुट्टै सांगीतिक रचनाको अध्ययन गर्नु जस्तै हो। उहाँले संख्यामा थोरै गीत बनाए पनि तिनको मिठास र गुणले म सँधै आकर्षित भएको छु’ पलेँटी संयोजक आभासले भने।

4. Musician Vikram Gurung rehearsing with the Paleti team

 यही महिनाको १० गते शुरु हुने विक्रम गुरुङसँगको पलेँटी ३ दिनसम्म चल्ने छ। कार्यक्रमलाई पलेँटीको शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतकर्मी आभासले संगीतकार विक्रम गुरुङको सांगीतिक जीवनको सेरोफेरोमा रहेर अन्तरसम्वाद पनि गर्नेछन्।

 कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने पलेँटीमा संगीतकार गुरुङलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा पारस, बाँसुरीमा बलराम समाल र बेस गिटार मा अम्बर गुरुङ ‘पोखरेली’ले साथ दिनेछन्।

 शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्तान्त शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ।

यही जुलाई महिनाको, २६, २७ र २८ तारिखमा हुने पलेँटी कालिकास्थान स्थित नेपालयको साबिककै कार्यक्रमस्थल ‘आर।शाला’मा प्रस्तुत हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad