कला


सरला गौतमको ‘डुमेरो’ सार्वजनिक

सरला गौतमको ‘डुमेरो’ सार्वजनिक

नेपालखबर
साउन १५, २०७७ बिहिबार ११:४१,

पब्लिसन्स नेपालयले सरला गौतमको उपन्यास ‘डुमेरो’ सार्वजनिक गरेको छ। यो उपन्यासले सानो शहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोज्दाको कथानकलाई अंगालेको छ।

गौतमले पत्रकारिताबाट आफ्नो लेखकीय जीवन आरम्भ गेरकी हुन्। वर्षौंदेखि उनले आफूलाई सामाजिक सरोकारमा मुखरित हुने आलोचनात्मक टिप्पणीकारको रुपमा स्थापित गरेकी छिन्। अखबारका स्तम्भमा उनी सामाजिक र राजनैतिक मुद्दाहरूमाथि केन्द्रित रहेर अभिव्यक्त हुने गर्छिन् जसलाई पाठकहरूले निकै रुचाउने गर्छन्। यो उपन्यास उनको पहिलो साहित्यिक कृति हो।

पुस्तकको शैलीको बारेमा बोल्दै नेपालयकी भूषिता वशिष्ठ भन्छिन्, ‘गौतमले वकालत गर्ने भाषाको अराज्नैतिकरणको धारणा उनको पुस्तकमा पनि देखिएको छ। उनले पात्रहरूका सशक्तिकरण, पहिचान र बद्लिँदा सम्बन्धहरूका गुत्थालाई क्लिष्ट वा प्राविधिक पदावली नराखी सरल र चलनचल्तीको भाषामा उधिन्छिन्। गौतमको शैली निडर, बेलगाम र समसामयिक छ। यो पुस्तकले नेपालयको आख्यान प्रकाशनमा विविधता अंगाल्ने प्रतिबद्धतालाई पनि उजागर गरेको छ।’

शीर्षक ‘डुमेरो’ आफैंमा नौलो शब्द छ। कुनै गन्तब्यविहीन यात्रामा निस्किएको घुमन्ते अन्वेषकको अर्थ राख्ने यो शब्दले एकैसाथ अनेक प्रतीकात्मक अर्थ बोक्छ।

‘यो शब्द सुन्नमा लयालु त छदै छ,’ सरला गौतम भन्छिन्, ‘तर यसका साथै यसको अर्थ पनि गहन छ। महिलाको पहिचानलाई घरेलुपनले सधैँ बन्धनमा पारेको हुन्छ। तर अब हामी इतिहासको मध्य मोडमा उभिएका छौं। जहाँ पुरुष र महिला लिंगको आधारमा मात्र परिभाषित हुने बेला छैन। अबको पुस्ताले अघिल्ला पुस्ताजस्तो किटान गरेर आफ्नो गन्तब्य तय गर्न सक्तैन। हाम्रा चुनौती अमुर्त छन्, संघर्ष नौला छन्। यस्तै चुनौती र संघर्षमा जेलिएको एक आम पात्रको कथा हो डुमेरो।’

महामारीको लगत्तै बजारमा आएको किताबले अरुबेलाकै झैँ प्रकाशन जगतलाई सन्तुष्ट पार्नेमा विश्वस्त रहेकी नेपालयकी सैजन मास्के भन्छिन्, ‘समय साँच्चै चुनौतीपूर्ण छ, तर हाम्रो अघिल्लो प्रकाशन भूवन ढुंगानाको परित्यक्ताले बन्दाबन्दीका बाबजूद तुलनात्मक रुपमा निकै राम्रो परिमाणमा स्वीकृति पायो। यो पुस्तकलाई पनि नेपाली पुस्तक बजारले उत्साहजनक प्रोत्साहन प्रदान गर्छ भन्नेमा हामी आशावादी छौं।’

नेपाली बजारको लागि ‘डुमेरो’ को मूल्य ४९५ रुपैयाँ निर्धारण गरिएको छ, जुन देशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुनेछ । यसको इ–बुक प्रतिलिपि भने थुप्रै डट कमबाट किन्न सकिन्छ साथै यो पुस्तक अनलाइन बिक्रेता अमेजनमार्फत् विश्वव्यापी रूपमा पनि उपलब्ध हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad