ad ad

कला


अभिनेता सुशान्तको मृत्युपछि दबंगका निर्देशक भन्छन्ः खान परिवारले मेरो भविष्य सिध्याउन खोजे

अभिनेता सुशान्तको मृत्युपछि दबंगका निर्देशक भन्छन्ः खान परिवारले मेरो भविष्य सिध्याउन खोजे

नेपालखबर
असार २, २०७७ मंगलबार ११:२४,

अभिनवले आफ्ना सम्पूर्ण प्राजेक्टहरु खान परिवारले खोसेको बताएका छन्। बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि अभिनवले खान परिवारविरुद्ध अभिव्यक्ति दिएका हुन्।

ट्रिबुन इन्डियाका अनुसार अभिनवले सुशान्त सिंह राजपुतको मृत्युले बलिउडमा ठूलो समस्या भएको देखाएको र एक व्यक्तिले किन आत्महत्या गर्नुपर्छ भन्नेबारेमा संकेत दिएको बताएका छन्।

‘यसराज फिल्म ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीले सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाएको हुनसक्छ तर यो अनुसन्धानको विषय हो। यिनीहरुले भविष्य बनाइदिँदैनन्। उनीहरुले तपाइँको भविष्य र जीवन बर्बाद गरिदिन्छन्’ आफूले व्यक्तिगत रुपमा तनाव भोगेको बताउँदै अभिनव भन्छन्,‘बलिउडका ट्यालेन्ट म्यानेजर र ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सी कलाकारको सम्भावित मृत्युको पासो हो।’

यसअघि सोमबार अभिनेत्री कंगना रनावतले सुशान्तलाई बलिउडले अनुचित व्यवहार गरेको र उनको राम्रो कामको प्रशंसा नभएका कारण डिप्रेसनमा गएर उनले आत्महत्या गरेको हुनसक्ने धारणा राखेकी थिइन्।

आफू शोषण र बदमाशीको शिकार भएको बताउँदै अभिनव भन्छन्,‘दश वर्ष अगाडि दबंग २ नबनाउनुको कारण थियो म सलमान खानको परिवारको शोषणमा परेको थिए। उनीहरुले डर र धम्की देखाएर मेरो भविष्य नियन्त्रणमा लिन खोजेका थिए।’

‘अर्बाज खानले मेरो दोस्रो प्रोजेक्ट खोसेका थिए। मैले श्री अष्टविनायक फिल्मबाट चलचित्र बनाउने सम्झौता गरेको थिए। तर उनीहरुले अष्टविनायकका प्रमुख राज मेहतालाई मसँग काम गरे गम्भीर परिणाम भोग्नुपर्ने भन्दै धम्क्याए। मैले प्राप्त गरेको पैसा पनि फिर्ता गर्नुपर्यो। भियाकम पिक्चर्सको विषयमा पनि उनीहरुले त्यही व्यवहार दोहोर्याए।’ उनी भन्छन्,‘भियाकमसँग चलचित्र बनाउने भनेर सम्झौता हुँदा सोहिल खानले भियाकमका सिइओ विक्रम मलहोत्रालाई धम्क्याए। त्यसपछि मेरो यो कामपनि खोसियो। मैले ७ करोड ब्याजसहित फिर्ता गर्नुपर्यो।’

रिलायन्स इन्टरटेनमेन्टले भने खान परिवारको चेतावनी बाबजुद आफूसँग काम गरेको अभिनव बताउँछन्। अभिनवले रिलायन्स इन्टरटेनमेन्टबाट ‘बेसरम’ भन्ने चलचित्र बनाएका थिए।

तर यस चलचित्र बनिसकेपछि भने खान परिवाले यस चलचित्रको रिलिजमा अवरोधहरु सिर्जना गरेको अभिनव बताउँछन्। वितरकहरुले त्यसपछि यस चलचित्र प्रदर्शन गर्नसमेत मानेका थिएनन्।

यद्यपी रिलायन्स इन्टरटेनमेन्ट र आफ्नो साहसका कारण चलचित्र रिलिज भएको उनी बताउँछन्। खान परिवारको अवरोधबीच उक्त चलचित्रले ५८ करोड कमाएको थियो।

त्यसको केही वर्षपछि पनि आफ्नो प्राजेक्टहरुमा खान परिवारले अवरोध खडा गरेको उनले फेसबुकमा बताएका छन्। आफूलाई मार्ने धम्की पनि आएको साथै परिवारका महिला सदस्यलाई बलात्कार गर्ने चेतावनी आएको पनि उनको भनाइ छ।

खान परिवारका कारण आफ्नो पारिवारिक जीवनमा पनि असर परेको उनी बताउँछन्। खान परिवारले दिएको मानसिक दबाबका कारण आफ्नो सम्बन्ध विच्छेद भएको उनको भनाइ छ।

विभिन्न फोनहरुबाट डर र धम्कीका म्यासेजहरु आएपछि आफूले प्रहरीलाई खबर गरेको तर प्रहरीले उजुरी लिन नमाएको उनी बताउँछन्। अझैसम्म पनि सोहिल खानले पठाएको म्यासेज तथा विभिन्न प्रमाणहरु आफूसँग भएको अभिनवको भनाइ छ।

सलिम खान, सलमान खान, अर्बाज खान र सोहिल खान नै आफ्नो दुश्मन भएको उनको भनाइ छ। सलमान खानको परिवार विषालु सर्प भएको उनी बताउँछन्।

अन्डरवल्र्ड गुन्डा, राजनीतिक पहुँच र अवैध पैसाका कारण खान परिवारले जसलाई पनि चुनौती दिनसक्ने उनको भनाइ छ।

अभिनवका अनुसार बलिउडमा सुशान्तले पनि आफुलेजस्तै मानसिक तनाव भोगेको हुनसक्छन्।

तर उनी भन्छन्,‘म सुशान्त जसरी हार मान्नेछैन। म अन्तिमसम्म लड्नेछु। धेरै सहियो अब प्रतिकार गर्ने समय आएको छ।’

निर्दोष व्यक्तिले आत्महत्या नगरुन् भन्नका लागि यो पोस्ट गरेको उनको भनाइ छ। उनले सलमान खानलाई बहिष्कार गरिनुपर्ने पनि बताएका छन्।

बलिउडकै अभिनेता विवेक आवरोयले यसअघि सलमान खानसँगको विवादले आफूलाई बलिउडले स्वीकार नगरेको आरोप लगाउँदै आएका थिए।

विवकले सुशान्तको मृत्युपछि उनी एक देखिएका उदाहरण मात्र भएको बताएका थिए। बलिउडमा अन्य कलाकारहरु पनि सुशान्तजस्तै पीडित भएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .