थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हात पारेको छ। फिलिपिन्स, दक्षिण अफ्रिका, भारत, म्यानमार, श्रीलंका र आयोजक थाइल्यान्डजस्ता १६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली टोलीले ३ स्वर्ण र १ रजत पदक जितेको हो।

त्यहाँबाट कुरा गर्दै ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजले प्रतियोगितामा ‘एनडिए जुनियर’ले जुनियर मेघा क्रु र टिन्स विधामा प्रथम स्थान हासिल गर्दै दुईवटा स्वर्ण पदक चुमेको बताए। साथै, जुनियर क्रु विधामा दोस्रो हुँदै सोही समूहले नेपाललाई रजत पदक पनि दिलायो। त्यस्तै, ‘टिम एनटी’ले लोक विधामा दमदार प्रस्तुति दिँदै अर्को स्वर्ण पदक आफ्नो पोल्टामा पार्न सफल भयो। खुला विधातर्फ भने नेपाल चौथो स्थानमा रहेको गहतराजले जनाए।


हालै नेपालमा सम्पन्न ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएर नेपाली टोली थाइल्यान्ड पुगेको हो। ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजको नेतृत्वमा गएको जम्बो टोलीमा टिम डिभिजन विजेता ‘टिम एनटी’, रनरअप ‘दि इननेट सउल’ र जुनियर टिम डिभिजन ‘एनडिए जुनियर’ सहभागी थिए। गत बुधबार साँझबाट सुरु भएको यस लिगमा विश्वभरका सयौँ उत्कृष्ट डान्सर, प्रशिक्षक तथा कोरियोग्राफरहरूको जमघट रहेको थियो।

यसपटकको लिग नेपाली नृत्य क्षेत्रका लागि अर्को कारणले पनि विशेष बन्यो। नेपालका चर्चित डान्स डिरेक्टर तथा कोरियोग्राफर जेडी तमू प्रतियोगितामा निर्णायकको भूमिकामा थिए। विश्वस्तरको यति ठूलो मञ्चमा नेपाली निर्णायक पुग्नु आफैँमा एउटा महत्वपूर्ण उपलब्धि हो। जेडीसँगै प्रख्यात अमेरिकी पप स्टार जस्टिन बिबरको चर्चित गीत ‘सरी’की कोरियोग्राफर तथा न्युजिल्यान्डकी डान्सर काया पियर्सले पनि प्रतिस्पर्धीहरूको मूल्यांकन गरेकी थिइन्।

विभिन्न देशका प्रतिष्ठित निर्णायकहरूसँगै नेपाली निर्णायकको उपस्थिति र डान्सरहरूको जितले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सान बढाएको छ।
Shares

प्रतिक्रिया