कला


‘गौँथली’को गीत सार्वजनिक कार्यक्रममा बेहुला-बेहुली बनेर पुगे अरुण र सिम्रन

‘गौँथली’को गीत सार्वजनिक कार्यक्रममा बेहुला-बेहुली बनेर पुगे अरुण र सिम्रन

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १२:३५, काठमाडौँ

फिल्म ‘गौँथली’ को पहिलो गीत सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौँमा कार्यक्रम आयोजना गर्दै निर्माण टिमले फिल्मको गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरिएको हो। 

सार्वजनिक कार्यक्रममा निर्माण टिमले केही फरक तरिकाले सार्वजनिक गरेको छ। फिल्मका  मुख्य भूमिका कलाकार बेहुला र बेहुलीको भेषमा कार्यक्रम स्थलमा पुगेका थिए।

ठ्याक्कै विवाह घर झैँ कार्यक्रमस्थल सिंगारिएको थियो। पञ्चे बाजा घन्किएको थियो। अनि कार्यक्रमका केही अतिथिहरू जन्तीको भेषमा औपचारिक गेटअपमा पुगेका थिए, जो बेहुला र बेहुलीको अगाडि र पछाडि लागेर नाच्दै हिँडिरहेका थिए।

तर, यथार्थमा साँच्चै विवाह नभएर यो फिल्म ‘गौँथली’को गीत सार्वजनिक समारोह थियो।

गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ। डा. भोला रिजालको शब्दरचना रहेको गीतमा थानेश्वर स्वयंको संगीत रहेको छ।

गीतको भिडिओमा फिल्मका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्कालगायत छन्। आफू जन्मे हुर्केको घर, गाउँ, आमाबुवा तथा आफन्तलाई छोडेर विवाह गरेर अर्कैको घर जाँदाको वियोग गीतमा उल्लेख छ।

कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’ साउन १ गतेबाट रिलिज हुँदै छ। फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

डा. भोला रिजालको कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन्। हरि हुमागाईंले खिचेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन्।

‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए। उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ। ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो।

अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad