कलाकार जितु नेपालले चर्चित हास्य टेलिभिजन शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका छन्। अस्पतालमा रहेकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको अनुपस्थितिमा जितु उनको स्थानमा देखिने लागेका हुन्।
जितुले आफूलाई योग्य ठानेर जिम्मेवारी सुम्पिएकोमा दीपाश्रीसहित कार्यक्रमका निर्देशक तथा होस्ट विशाल भण्डारीप्रति आभार व्यक्त गरेका छन्।
जितुले शनिबार दुई भागको छायांकनसमेत गरिसकेका छन्। यस जिम्मेवारीलाई जितुले आफ्नो कलाकारिताको यात्रामा नयाँ सिकाइ र गर्वको विषयका रूपमा लिएका छन्।
‘म एउटा यस्तो कलाकार हुँ, जसले हरेक नयाँ अनुभवलाई सिकाइको अवसरका रूपमा लिने गर्छु। यो जिम्मेवारी पनि मेरो लागि एउटा ठूलो अनुभव र गर्वको विषय बनेको छ।’
जितुले २०७५ सालमा प्रसारण सुरु भएको ‘मुन्द्रेको कमेडी क्लब’ मा दीपाश्री अध्यक्षको भूमिकामा रहेको स्मरण गर्दै अहिले केही समयका लागि दीपाश्रीकै स्थानमा बसेर जिम्मेवारी सम्हाल्न पाउनु आफ्नो लागि ठूलो सौभाग्य भएको बताएका छन्।
आफूले कार्यवाहक अध्यक्षको जिम्मेवारी इमान्दारीपूर्वक निभाउने प्रतिबद्धतासमेत जितुले व्यक्त गरेका छन्।
केही समयअघि दीपाश्रीलाई मस्तिष्क ट्युमर देखिएको थियो। त्यसको सफलतापूर्वक शल्यक्रियापछि उनले स्वास्थ्यलाभ गरिरहेकी छन्।
Shares

प्रतिक्रिया