जिन्दगीको यात्रामा बदलिरहने गन्तव्यजस्तै अहिले हिमेश पन्तको जीवनमा पनि एउटा मोड थपिएको छ। उनी हिजोका ती ‘कमेडी च्याम्पियन’ मात्र रहेनन्, जसले ठट्टा गरेरै देश हँसाएका थिए। उनका सामाजिक सञ्जालका भित्ताहरू चिहाउँदा थाहा हुन्छ- उनी अचेल ‘राजनीतिक टिप्पणीकार’ पनि भइसके।
नेपालखबरमा हिमेशको स्टुडिओ प्रवेशनै रोचक भयो। ‘कमेडी च्याम्पियन’ पहिलो संस्करणको विजेता बनेर पाएको त्यो पहिलो गाडी अहिले उनीसँग छैन। समयको माग र पर्यावरणको चेतसँगै उनी अचेल विद्युतीय गाडी (ईभी) तिर मोडिएका छन्। यो परिवर्तन केवल इन्धनमा मात्र होइन, उनको राजनीतिक र सामाजिक सोच्ने शैलीमा पनि देखिन्छ। उनी भन्छन्, ‘कमेडी च्याम्पियनमै जितेको गाडी त होइन, त्यो चेन्ज गरेँ। अब अहिले ईभीको टाइम छ, त्यतै लागेको छु।’

हिजोको सत्ताको आलोचना गरेर उपाधि चुमेका हिमेश अचेल सत्ताको गुनगानमा बढी समय खर्चिन्छन्। यस्तो लाग्छ, उनको जीवनमा अब उनी चढ्ने गाडीमात्रै परिवर्तन भएन, बालेन सरकार आएपछि सत्ताप्रतिको उनको दृष्टिकोण पनि बदलिँदैछ।
अचेल उनलाई धेरैले एउटा नयाँ उपनाम दिएका छन्- बालेन शाह र रास्वपाको ‘अघोषित प्रवक्ता’। यही जिज्ञासा राख्दा हिमेशको अनुहारमा एउटा अर्थपूर्ण मुस्कान देखियो। उनले सहजै स्वीकार्दै भने, ‘डेफिनेट्ली हो, म प्रवक्तानै हो वास्तवमा। प्रवक्ता हुन मजा पनि आउने रहेछ। सरकारबाट राजनीतिक नियुक्तिहरू सबै खारेज हुँदा कति मजा आयो, लेख्न पनि मजा आयो।’
हिमेश राजनीति शास्त्रका विद्यार्थी पनि हुन्। केपी ओली प्रधानमन्त्री हुँदा उनले गरेका जोकहरूमा भन्दा बालेन शाहले चालेका कदमहरूमा उनको मन बढी अडिन्छ। बालेनले संसद् छलेको आरोप लाग्दा उनी बालेनको प्रतिरक्षामा उभिन्छन्। ‘बालेन बोले हुन्थ्यो भन्ने मलाई पनि थियो। तर कानुनी हिसाबले हेर्ने हो भने बालेन बोल्नै पर्छ भन्ने रहेनछ। आफूलाई केही समस्या हुन्छ भने प्रतिनिधि पठाउन पनि पाउने रहेछ नि त,’ उनले भने।

बालेनका कतिपय कदम निर्दयी लाग्न सक्छन् तर हिमेश त्यसभित्र पनि ‘नियत’ खोज्छन्। यद्यपि बालेन सरकारले सुकुमवासी वस्ती हटाउँदा भएका केही त्रुटि भएको उनी स्वीकार्छन्। ‘खोलाको छेउमा सुकुमवासी बस्ने होइन। तर दुई जना सुकुमवासीले आत्महत्या गर्नुपर्यो भनिसकेपछि त्रुटि त भएको छ। यद्यपि बालेन सरकारले जे पहल गर्यो त्यो राम्रो हो तर व्यवस्थापन गरेर सारेको भए पक्कै पनि अझ राम्रो हुन्थ्यो होला,’ उनी भन्छन्।
दर्शक हसाउँदाहसाउँदै ०७९ को निर्वाचनबाट हिमेशले राजनीतिक पाइला सुरु गरे। गृह जिल्ला धादिङबाट चुनाव लडे। चुनाव त उनले हारे, तर जिन्दगीका धेरै ठूला पाठहरू जिते। ‘चुनाव हारेपछि पैसाको भ्यालु सिकायो। मैले जति कमाएको थिएँ, त्यो सबै चुनावमा लगेर खर्च गरिदिएँ, १५–२० लाख भन्दा बढी खर्च भयो। त्यसपछि मलाई लामो समयसम्म तनाव भयो,’ उनले भने।

त्यो हार र तनावले उनलाई यति गाँज्यो कि उनलाई ‘एलोपेसिया’ (कपाल झर्ने समस्या) समेत भयो। डाक्टरले सोधेका थिए– के तपाईं तनावमा हुनुहुन्छ? हिमेशलाई बल्ल महसुस भयो– राजनीति हँसाउने काम जस्तो सजिलो रहेनछ।
यतिखेर मानिसहरू भन्छन्, कलाकार हिमेश अब हराउँदै छ, कलाकारबाट रास्वपाको कार्यकर्तामा रूपान्तरण हुँदै छ। तर हिमेशको तर्क अर्कै छ। उनी भन्छन्, ‘म राजनीतिशास्त्रको विद्यार्थी पनि हुँ। कलाकार हुनुअघि म यो देशको नागरिक हुँ। त्यसैले मेरो कमेडी पनि राजनीतिक र सामाजिक व्यंग्यमै बढी केन्द्रित हुन्छ।’
उनको जीवनमा केही यस्ता पात्रहरू छन्, जसले उनलाई कलाकारिता र मानवताको कसीमा उभ्याए। तीमध्ये एक हुन्, स्वर्गीय अभिनेता सुनिल थापा। हिमेशको घरमा बुबाले बनाएको डुनोट खान पुग्ने सुनिल थापाको त्यो सादगी हिमेश कहिल्यै बिर्सँदैनन्। एउटा रमाइलो संस्मरण सुनाउँदै उनी भन्छन्, ‘अनामगरमा मेरै सानो गाडीमा जाँदै थियौँ। गाडी उकालोमा तानेन। सर सुनिल थापा ओर्लेर गाडी धकेल्न लाग्नुभयो। मैले सर पर्दैन भन्दा उहाँले मान्नुभएन। उल्टै हिमेश पन्तको गाडी सुनिल थापाले धकेलेको थियो भनेर भोलि यो मीठो मेमोरी हुन्छ भनेर सम्झाउनुभयो।’

अहिले हिमेश धादिङ र राष्ट्रिय राजनीति मात्र होइन, प्रदेश संरचनाको बहसमा पनि रुचि राख्छन्। ०८२ को निर्वाचन नलडेका हिमेश अब प्रदेशस्तरको निर्वाचन लड्ने तयारीमा रहेको संकेत गरे। ‘मेरो रुचि प्रदेशमै छ। प्रदेशमा हामी जत्तिको मान्छे गयो भने प्रदेशको पावर के हो, के गर्न सक्छ भनेर जनतालाई देखाउन सक्छौँ कि जस्तो लाग्छ,’ उनले भने।
राजनीति र सामाजिक सञ्जालको ताली र गालीको बीचमा हिमेश नयाँ कामको तयारीमा छन्। ‘कन्टेन्ट क्रिएटर च्याम्पियनसिप’ र एउटा नयाँ ‘कमडी शो’ मार्फत उनी छिट्टै टेलिभिजनको पर्दामा छाउने तयारीमा छन्।
राजनीतिमा हिमेश कसैलाई अन्धभक्त भएर समर्थन गर्न चाँहदैनन्। धरानका मेयर हर्क साम्पाङको प्रसंगमा उनी सन्तुलित सुनिए। साम्पाङले सुरु गरेको श्रम संस्कृतिलाई उनी सलाम गर्छन् तर उनको सामाजिक सञ्जालको शैलीलाई भने उटपट्याङ मान्छन्। भन्छन्, ‘हर्क साम्पाङका कतिपय विचारहरू मलाई मन पर्दैन। उहाँले लेखेका कतिपय कुराहरू उटपट्याङ र इलजिकल लाग्छन्। तर व्यक्ति फेरि मलाई मन नपर्ने होइन, उहाँले श्रमको जुन एउटा संस्कार बनाउनुभयो, त्यसलाई प्रशंसा गर्नैपर्छ।’

०७९ मा उनी पराजित भएको धादिङ-१ बाट यसपटक आशिका तामाङ सांसदमा निर्वाचित भएर सदन पुगेकी छन्। निर्वाचनमा आशिकाको प्रस्तावक बनेका हिमेश आफ्ना जनप्रतिनिधि संसद्मा परिपक्व भएर प्रस्तुत भएको देख्न चाहन्छन्। ‘आशिकाजीलाई अलि बढी स्टडी गर्नुस्, माननीय भइसकेपछि केही न केही ब्याकअप ज्ञान भएको राम्रो हो। बोल्दै गर्दा मन सफा भए पनि कतिपय केसमा चिप्लिन सक्छ। नयाँ मान्छेले अवसर पाए पनि अध्ययनको कमीले गर्दा संसदमा कमजोर देखिनुहुँदैन,’ आशिकालाई हिमेशको सुझाव छ।
आफ्नो करिअर र राजनीतिक घटना-परिघटनालाई लिएर हिमेशले थप के-के भने? हेर्नुहोस् नेपालखबर शो ‘लेट्स टक’:
फोटो/भिडिओ: सरोज नेपाल

प्रतिक्रिया