गत शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनरत फिल्म ‘मीतज्यू’ले दर्शकको साथ पाइरहेको छ।
यस्तो अवस्थामा निर्माण टिमले हलहलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ।
राजधानीका केही हलमा दर्शकका प्रतिक्रिया लिएपछि निर्माण टिम मोफसलतर्फ लागेको छ।
फिल्मका मुख्य कलाकार दयाहाङ राई, टेरिया फौजा मगर र निर्देशक अनिल बुढा मगरसहितको टिमले बुधबारदेखि नेपालगन्ज, दाङ र बुटवलमा दर्शकसँग साक्षात्कार गरिरहेको छ। उनीहरूले त्यहाँ रहेका हलमा दर्शकसँगै बसेर फिल्म हेर्ने निर्माण पक्षले जनाएको छ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल र टेरिया मगर मुख्य भूमिकामा छन्। सौगात, दयाहाङ र टेरियाका अलावा फिल्ममा शिशिर वाङ्देल, खड्गबहादुर पुन मगर, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतका कलाकारले अभिनय गरेका छन्।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका लगानीकर्ता जनक घर्तीमगर हुन्। फिल्मलाई अनिल बुढामगरले निर्देशन गरेका हुन्।
लोकेश बज्राचार्यले सम्पादन गरेको यो फिल्मलाई शिशिर विशंखेले खिचेका हुन्। यस फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गरेको छ।
Shares

प्रतिक्रिया