कला


रियलमा पनि काजीजस्तै प्रेमिल विपिन, भन्छन्: एक्सप्रेसिभभन्दा पनि म केयरिङ छु


लक्ष्मी बलायर
जेठ ८ , काठमाडौँ

अभिनेता विपिन कार्की हरेक फिल्ममा भिन्न चरित्रमा देखिन मन पराउँछन्। ‘पशुपतिप्रसाद’ को भस्मे डन होस् वा ‘जात्रा’ सिरिजको फणिन्द्र। सोझो कृषक हरिदेखि ‘ऊनको स्वीटर’ को धरणीधरसम्म। उनी फरकफरक पात्रमार्फत दर्शकको मनमा बस्न सफल छन्। जेठ ८ गतेबाट प्रदर्शन हुने ‘काजी’ मा पनि विपिन नौलो र प्रेमिल अवतारमा देखिँदैछन्।

काजी भन्नेबित्तिकै हाम्रो दिमागमा गाउँको मुखिया वा रवाफ देखाउने अलि कडा स्वभावको व्यक्ति याद आउँछ। सुरुमा फिल्मको अफर आउँदा विपिनलाई पनि त्यस्तै लागेको थियो। तर, फिल्मको काजी त्यो भन्दा फरक र प्रेमिल भएकाले आफूले यो पात्र रोजेको सुनाउँछन् उनी।

‘यो प्रेमको मामलामा काजी हो। एउटा गरिबको घरमा मात्रै दु:ख हुँदैन। एउटा सम्पन्न र धनीको घरमा पनि सानासाना खुसीहरूको कमी भइरहेको हुन्छ। प्रेमको अभाव भइरहेको छ। यस चलचित्रले भन्न खोजेको कुरा यही हो,’ विपिनले भने, ‘सुरुमा मलाई पनि नाम सुनेर अचम्म लागेको थियो। तर, निर्देशकको कुरा सुनेपछि म पूर्ण रूपमा कन्भिन्स भएँ। यो पूर्णतया एउटा श्रीमान्–श्रीमती अर्थात् लभ बर्ड्सको कथा हो।’

रियलमा पनि काजीजस्तै
विपिन कार्की आफूले निर्वाह गर्ने हरेक भूमिकामा आफ्नो आधा अंश मिसिने दाबी गर्छन्। उनी वास्तविक जीवनमा पनि आफ्नी श्रीमतीको निकै केयर गर्छन्। र, काजीको पनि कतिपय गुण आफूसँग मिल्ने सुनाउँछन् विपिन।

उनका अनुसार विवाह भएको १०/१२ वर्षसम्म पनि श्रीमतीसँग कहिल्यै ठूलो झगडा परेको छैन। परिहाले पनि आफैँले तुरुन्तै फकाउने उनको भनाइ छ।

विपिनले भने, ‘एक्सप्रेसिभभन्दा पनि म केयरिङ छु। केयरिङ भनेकै लभ हो। त्यो काजीको अलिअलि गुण ममा छ। बिहे गरेको १०/१२ वर्ष भइसक्यो, अहिलेसम्म मेरो श्रीमतीसँग अहिलेसम्म पनि ठूलो ठासठुस, ठाकठुक परेको छैन। परिहाल्यो भने पनि म तुरुन्तै फकाउँछु। एक मिनेटमै हामी जस्ताको त्यस्तै भइहाल्छौँ। प्राय: म मात्रै फकाउँछु किनभने म धेरै रिसाउँछु। अनि रिसाइसकेपछि म किन रिसाएँ वा किन नबोलेको भए पनि हुन्थ्यो जस्तो लाग्छ।’

तराईमा हुर्किएका विपिनलाई पहाडी परिवेशको यो चरित्र समात्न सुरुका केही दिन निकै गाह्रो भएको थियो।

उनी सम्झिन्छन्, ‘मलाई हाउभाउ भन्दा पनि एउटा टोन र लबज सेट गर्न एकदमै गाह्रो भएको थियो। तर, एक–दुईवटा सिन गरेपछि मैले स्टाइल पत्ता लगाइहालेँ। मेरो एउटा बानी के छ भने म जुनसुकै चरित्र गर्दा पनि रियल लाइफमा समेत अरूसँग बोल्दा त्यही स्टाइल प्रयोग गरेर प्राक्टिस गर्छु।’

यस फिल्मभित्र दिवंगत बुवाआमासँग कुरा गर्ने दृश्य छ। त्यो मोनोलगको सुटिङ गर्दा विपिन निकै भावुक भएका थिए। खासमा २ वर्षअघि मात्रै विपिनले आमा गुमाएका थिए। त्यो सिन गर्दा आफ्नी स्वर्गीय आमालाई सम्झिएर गाह्रो भएको सुनाउँछन् उनी।

‘फिल्ममा बितिसकेका बाआमासँग एक खालको मोनोलग जस्तो छ। मलाई त्यो गर्दा एकदमै गाह्रो भएको थियो। त्यो फिल गर्दा मैले आमा सम्झेको थिएँ। अब म चाहिनेभन्दा बढी ओभरह्वेल्म भइहाल्ने। त्यसले गर्दा मलाई अलिकति अप्ठ्यारो भएको थियो। त्यो सिन तीनचार टेकमा मैले सकेँ,’ उनले सुनाए।

यस फिल्ममा विपिनको जोडीको रुपमा अभिनेत्री केकी अधिकारी छिन्। ‘प्रसाद २’ मा सहकार्य गरिसकेकाले केकीसँगको सहकार्य निकै सुखद भएको सुनाउँछन् उनी। केकी एक सशक्त र परिपक्क एक्टर भन्दै उनले खुलेर तारिफ गरे। सुटिङअगाडि आफ्ना को–एक्टरसँग पर्याप्त रिहर्सल र छलफल गर्न रुचाउँछन्।

यस फिल्ममा विपिनले केकीलाई डोकोमा बोकेको दृश्य छ, जुन दर्शकहरूले निकै रुचाएका छन्। प्राविधिक कारणले ५–६ टेक खानु परे पनि केकीको तौल कम भएको र आफूलाई डोको बोक्ने पूर्वअनुभव भएकाले त्यो सिन खासै गाह्रो नभएको उनी बताउँछन्।

पितृसत्तात्मक सोचमाथि झापड
विपिनका अनुसार यस फिल्मले पुरुषप्रधान र पितृसत्तात्मक सोचमाथि व्यङ्ग्य प्रहार गरेको छ। विसं २०४५ सालतिरको यस कथाले आफ्नी श्रीमतीलाई अथाह माया गर्ने र उसको दुःखसुखलाई आफ्नो सम्झिने एउटा आदर्श पुरुषको कथा भन्छ।

‘यस फिल्मले पितृसत्तात्मक सोचलाई झापड हान्छ। किनकि पुरुषले यस्तो गर्नै हुँदैन भनिन्छ नि, काजी त्यसको ठ्याक्कै विरुद्धमा छ। अहिले पो हामी सम्मानजनक रूपमा महिला र पुरुष बराबर भन्छौं। पहिले पहिले त अझ कठिन थियो,’ उनले भने, ‘त्यो कारणले गर्दा पनि काजी त्यस्तो कठिन समयमा पनि यसरी जुधेको थियो। अहिले आफ्नो श्रीमतीसँगलाई धेरै माया गर्‍यो भनेदेखि घरमा जोइटिंग्रे भन्छन्। त्यतिबेला त झन् कस्तो भन्थ्यो होला? त्यो काजीको संघर्ष फिल्मले प्रस्तुत गर्छ।’ 

विपिनका अनुसार श्रीमती आफ्नो आधी अंश हो। प्रेममा पुरुषले पनि आफ्नो भावना र माया घरपरिवारमा दर्शाउनुपर्ने उनको तर्क छ। सम्बन्ध गिभ एन्ड टेक भएको बताउँदै खुसी हुन ठुल्ठुला कुरा नचाहिने सन्देश फिल्मले दिने उनले सुनाए।

रवि लामिछानेसँगको त्यो सम्बन्ध
केही समयअघि विपिन रवि लामिछाने हिरासतमा हुँदा उनको समर्थनमा हस्ताक्षर गर्न पुगेका थिए। त्यतिबेला विपिनलाई धेरैले आलोचना पनि गरे। तर, उनी आफू कुनै पार्टीको कार्यकर्ता भएर नभई एउटा पुरानो सम्बन्ध कारण गएको स्पष्ट पारे।

‘रवि लामिछानेकहाँ सिग्नेचर गर्न म रास्वपा भएर गएको होइन। राज्यले प्रतिशोध साधेर एकजना व्यक्तिलाई अन्याय परिरहेको भन्ने महसुस गरेर गएको हो। रवि लामिछानेलाई मैले नेता भएपछि चिनेको होइन। उहाँ टेलिभिजनमा र म नाटकमा काम गर्दादेखि हामीबीच चिनजान भएको थियो। त्यो बेलादेखि नै हामीबीच दाजुभाइको सम्बन्ध छ। त्यहाँपछि मात्रै उहाँ पार्टीमा लाग्नुभएको हो। अब के उहाँ एउटा पार्टीमा लाग्नुभयो भन्दैमा मैले उहाँसँग बोल्न छोड्दिने र? म हरेक पार्टीको मान्छेसँग बोलिरहेको हुन्छु,’ उनले भने।

रवि निर्वाचित भएपछि पनि आफूहरूबीच भेटघाट भएको उनले खुलाए। भेटघाटका क्रममा चलचित्रका विषयमा कुरा हुने बताउँदै आफूलाई सधैँ रविले प्रोत्साहन गर्ने उनको भनाइ छ।

‘उहाँसँग भेट्दा जहिले पनि मसँग कला साहित्यकै कुरा हुन्छ। उहाँसँग भेट्दा दाइले मलाई इन्करेज गर्ने भनेको जहिले पनि मेरा कामका कुराले नै हुन्। यस्तो गर्छौ, नछोड है तिमी। एक्टिङ बाहेक अरू कुरा नगर। तिमी एक्टिङकै लागि जन्मेको हौ भन्नुहुन्छ। खुसी लाग्छ मलाई,’ उनले सुनाए।

बालेन शाहको नेतृत्वमा रहेको वर्तमान सरकारप्रति विपिनको आफ्नै धारणा छ। प्रधानमन्त्री स्वयं कलाकार भएकाले चलचित्र उद्योगको विकास हुनेमा उनी विश्वस्त छन्। तर, सुकुमवासीहरूमाथि चालिएको कदम अलि हतारो भएको उनको बुझाइ छ।  

‘सुकुमवासी बस्तीमा एकैचोटि डोजर लगाउनुभन्दा पहिले सही सुकुमवासीको पहिचान गरेर उनीहरूको उचित व्यवस्थापन गर्नुपर्थ्यो। मैले प्रत्यक्ष रूपमा गर्भवती महिला र कतिपय साँच्चैका सुकुमवासीहरू मारमा परेर कोठा खोज्दै हिँडेको अँध्यारो मुख देखेको छु। भत्काएपछि पनि त्यो ठाउँ लामो समयसम्म त्यत्तिकै फोहोर थुपारेर राख्ने हो भने हतारहतार किन भत्काउनु पर्‍यो? पहिले नै तयारी गरेर उचित व्यवस्थापन गरेको भए त्यो काम स्यालुट गर्न योग्य हुन्थ्यो,’ उनले भने।

जेठ ७, २०८३ बिहिबार १८:३९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad