कला


३० वर्षपछि ‘एक मुठ्ठी बादल’ मार्फत पर्दामा फर्किएकी ‘रङ्गमञ्चकी रानी’ निशा

३० वर्षपछि ‘एक मुठ्ठी बादल’ मार्फत पर्दामा फर्किएकी ‘रङ्गमञ्चकी रानी’ निशा

लक्ष्मी बलायर
बैशाख ३१, २०८३ बिहिबार ६:५५, काठमाडौँ

नाट्यकर्मी निशा शर्माले रंगमञ्चलाई नै आफ्नो संसार मानिन्। कहिले पात्रमार्फत मञ्चमा जादु छरिन् त कहिले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति बन्दै इतिहास रचिन्। पुतलीको घर, अग्निको कथा, मार्क्स फर्किए जस्ता तीन दर्जन बढी नाटक खेले पनि उनी ठूलो पर्दाबाट भने टाढै बसिन्।

३० वर्षअघि फिल्म ‘प्रेमपिण्ड’ खेलेकी निशालाई पर्दामा फर्काउन धेरैले प्रयास गरे। तर, उनलाई न फिल्मको स्क्रिप्टले तान्यो, न त काम गर्ने शैलीले। तर, तिनै निशा तीन दशकपछि ‘एक मुठ्ठी बादल’ मार्फत कमब्याक गर्दैछिन्।

फिल्मक्षेत्रमा निशाको यो कमब्याक योजनाबद्ध थिएन। बरु एउटा सुखद संयोग थियो। खासमा निर्देशक सहारा शर्माले निशाको एउटा अन्तर्वार्ता हेरेकी थिइन्। त्यसपछि सहाराले निशालाई नै आमाको पात्रमा देखिरहेकी थिइन्।

दुई वर्षअघि पत्रकार सामीप्यराज तिमल्सेनाले निशालाई भेट्न बोलाए। फिल्म लेखक सामीप्य यस फिल्मका निर्माता समेत हुन्। उनले निशालाई फिल्मको लागि अफर गरे।

निशा कमब्याकको मुडमा थिइनन्। त्यसैले उनले सुरुमै प्रश्न गरिन्, 'जस्तो पायो त्यस्तै भूमिका त होइन नि! नोटिस नै नहुने रोल त म खेल्दिनँ?'

निशाको कुरा सुनेपछि सामीप्यले विश्वस्त पार्दै भने: 'आमाको रोल हो, एकदम राम्रो छ। सानोतिनो भएको भए त म हजुरलाई भन्थेँ? हजुरले खेल्नुभयो भने एकदम राम्रो हुन्छ, ठ्याक्कै हजुरलाई सुहाउने रोल हो।’

निशा विश्वस्त भइन्। त्यसपछि बालुवाटारको एक क्याफेमा निर्देशक सहारासँग भेट भयो। भेट्ने बित्तिकै निशातिर हेर्दै सहाराले भनिन्: 'मैले खोजेको आमा तपाईं नै हो।'

निर्देशकको कुरा सुनेपछि सामीप्य पनि छक्क परे। किनकि यसअघि उनले निशालाई अफर गरेको कुरा खुलाएका थिएनन्। दुवैको रोजाइसहित कथा मनपरेपछि आफू कमब्याक गर्न तयार भएको उनको भनाइ छ।

‘पहिले हिरो/हिरोइनबाहेक अरु त आर्टिस्ट नै होइन भन्ने जस्तो गर्थे। सानोभन्दा सानो रोलको पनि त्यत्तिकै महत्त्व हुन्छ भन्ने थिएन। जुन  मैले धेरै अनुभव गरिसकेको थिएँ। त्यो भएकोले पनि मैले जे पायो त्यही खेल्दै खेल्दिनँ भन्ने कुरा थियो,’ उनले भनिन्, ‘तर, यो फिल्म आर्ट टाइपको छ। फेरि मलाई मनपर्ने पनि यस्तै खालको। त्यही भएकाले राम्रो स्क्रिप्ट र टिम पाउँदा काम गर्न तयार भएँ।’

हुन त निशाको फिल्मी पुनरागमनको चर्चा चार वर्षअघि नै चलेको थियो। अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले आफ्नो फिल्म ‘पानीफोटो’ का लागि निशा र उनका श्रीमान् सुनिल पोखरेललाई अनुबन्धित गराइसकेका थिए। यसअघि गुरुकुलमा नाटक ‘पानीफोटो’ मञ्चन भएको थियो। तर, अन्तिममा सुनिलले फिल्म नखेल्ने निर्णय गरे। र, सोही समयमा निशा पनि अस्वस्थ भइन्। उनको कमब्याक अधुरै रह्यो।

निशाका अनुसार ‘एक मुठ्ठी बादल’ फिल्मका कुनै पनि पात्रको नाम छैन। फिल्ममा निशा आमाकै नामले चिनिन्छिन्। र, अरू पात्रहरू पनि बुवा, जेठी, माइली, कान्छी र ज्वाइँकै रूपमा चिनिन्छन्।

यस फिल्मले नेपाली समाजमा महिलाहरूले भोग्ने मानसिक द्वन्द्व र स्पेसको अभावलाई सूक्ष्म रूपमा चित्रण गरेको उनको भनाइ छ।

‘यो फिल्मले ती महिलाहरूको आवाज बोलेको छ, जो आफूभित्रको उकुसमुकुस व्यक्त गर्न सक्दैनन्। विवाह गरेर अर्को घर जाँदा एउटी युवतीले भोग्ने संघर्ष र घरभित्रको वातावरणसँग एडजस्ट गर्नुपर्ने कुराहरुलाई यसले कलात्मक रूपमा देखाएको छ,’ उनले भनिन्।

यस फिल्मको ट्रेलरमा एउटा संवाद छ। जहाँ माइली पात्रको भूमिकामा देखिएकी आँचल शर्मा निशालाई भन्छिन्: 'आमाहरु त छोरीको बिहेमा रुने कराउनुपर्ने होइन र?' तर, निशाका लागि आमाको यो कठोरताभित्र एउटा गहिरो दर्शन लुकेको छ। घर बनाउन पुरुषसँगै महिलाको पनि उत्तिकै भूमिका रहेको उनको भनाइ छ।

‘हामी श्रीमानले घर बनाएको भन्छौँ। तर, लोग्ने मान्छेले त खाली ढुङ्गा, छड, रोडा र गिट्टीको एउटा संरचना मात्र बनाउँछन्। तर, त्यहाँभित्र माया, विश्वास र ममता मिसाएर त्यसलाई वास्तविक घर बनाउने काम महिलाको हुन्छ। एउटी आमा आफ्नो परिवार र सन्तानको सुरक्षाका लागि कहिले कोमल त कहिले रौद्र रूपमा प्रस्तुत हुनुपर्छ। यो फिल्ममा मेरो भूमिका तिनै संवेगहरूको सम्मिश्रण हो,’ उनले भनिन्।

फिल्ममा अभिनय गर्नु रंगमञ्चमा भन्दा केही फरक हुन्छ। त्यसैले सुटिङ सेटमा उनी आफूलाई सिनियर भन्दा पनि विद्यार्थीका रूपमा उभ्याउन चाहन्थिन्। उनले निर्देशकलाई स्पष्ट भनेकी थिइन्: ‘म नाटक खेलिरहेकी मान्छे, अभिनय अलि लाउड हुन सक्छ। म सिनियर हुँ, कुलपति भइसकेकी मान्छे हुँ भनेर मेरा गल्तीहरू नभनी नबस्नुस्। मलाई प्वइन्ट आउट गर्नुस्, म रिसाउँदिनँ।’

त्यसो भनेपछि निर्देशक सहाराले केही बिग्रिँदा गाह्रो नमानी भनिन्। जसले अझै राम्रो गर्न सकेको उनले सुनाइन्।   

३० वर्षअघि फिल्म क्षेत्र छोड्नुको मुख्य कारण त्यहाँको वातावरण थियो। उनका अनुसार पहिला सेटमा पुगेपछि मात्रै डाइलग हातमा आउँथ्यो, कलाकार भन्दा पनि स्टारडमको मात्रै महत्व हुन्थ्यो। तर, अहिले प्रविधिदेखि काम गर्ने शैलीमा निकै परिवर्तन आएकोमा उनी दंग छिन्।

‘पहिले यसरी कपी गरेर नै बोल भनिन्थ्यो। क्यारेक्टरमा काम गरिँदैनथ्यो। सुटिङ स्पटमा पुगेपछि बल्ल स्क्रिप्ट हातमा आउँथ्यो। अहिलेका निर्देशकहरू पढेर र बुझेर आउनुभएको छ। सुटिङअघि नै रिहर्सल गर्ने र क्यारेक्टरमाथि गहन छलफल गर्ने शैली मलाई निकै मन पर्‍यो,’ उनले भनिन्।

‘एक मुठ्ठी बादल’ मा निर्देशकदेखि सिनेम्याटोग्राफरसम्म महिलाहरुकै बाहुल्यता रहेको छ। यसकारण पनि टिममा काम गर्दा सहज भएको उनको भनाइ छ।

फिल्म हेरेपछि दर्शकले आफूलाई कतै न कतै रिलेट गर्ने उनको विश्वास छ।

‘महिलाहरूले भन्न नसकेको कुराहरू यो फिल्मले बताइदिएको छ। जुन तपाईँ-हाम्रो जिन्दगीमा व्यक्त गर्नै सक्दैनौँ। व्यक्त गर्न चाहेर पनि असर पर्ला कि भनेर भन्दैनौँ। तर यो फिल्म हेरेपछि सबै जनाले आफैँलाई रिलेट गर्नुहुन्छ। लोग्ने मान्छेले पनि रिलेट गर्छन्,’ उनी भन्छिन्।

अब उनी रङ्गमञ्चसँगै आफ्नो उमेर सुहाउँदो र सशक्त भूमिका आएमा फिल्ममा पनि निरन्तर देखिने सोचमा छिन्। ‘एक मुठ्ठी बादल’ जेठ १ गतेदेखि रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad