कला


पलेँटीमा गुञ्जिए पवन गोले र रमेश गुरुङ

पलेँटीमा गुञ्जिए पवन गोले र रमेश गुरुङ

नेपालखबर
बैशाख १४, २०८३ सोमबार ८:५१, काठमाडौँ

गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको ‘आर शाला’ मा दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार पवन गोले र रमेश गुरुङ गुञ्जिएका छन्।


यसपालिको पलेँटीमा गायक पवन गोलेले नयाँ पुराना गरी १६ वटा गीत प्रस्तुत गरेका थिए। विभिन्न संगीतकारका धुन समेटिएको सो कार्यक्रममा आठवटा गीतमा भने संगीतकार रमेश गुरुङका एकल धुन रहेका थिए ।

कार्यक्रममा प्रस्तुत हुने क्रममा पवनले आजभन्दा १४ वर्षअघि पहिलो पल्ट पलेँटीमा प्रस्तुत भएको सम्झना गरे। संगीतकार रमेश गुरुङ पनि आजभन्दा २० वर्ष पहिले पलेँटीमा संलग्न भएका कलाकार हुन् । सन् २००६ मा रमेशले अग्रज कण्ठ शिल्पी दावा ग्याल्मोलाई हार्मोनियममा साथ दिएर पलेँटी कसेका थिए।

कार्यक्रमको सुरुवात कवि तथा गीतकार दिनेश अधिकारीको शब्द 'माटो मात्र देश होइन' बाट गरिएको थियो। दिवंगत संगीतकार दिव्य खालिङले संगीत भरेको यस रचनामा सांस्कृतिक सिमाना देश सिमानाभन्दा बाहिर पनि फैलिएको हुन्छ भन्ने भाव बोकेको थियो ।


सधैँ झैँ यसपालि पनि कार्यक्रमको सञ्चालन पलेँटीका संयोजक तथा गायक संगीतकार आभासले गरेका थिए। उनले कार्यक्रमलाई दुई चरणमा विभाजन गरेर प्रस्तुत गरेका थिए।

कार्यक्रमको पहिलो चरणमा संगीतकार रमेश गुरुङले धुन भरेका गीतहरू प्रस्तुत गरिएका थिए। त्यस क्रममा गीतकार मधुकर बल, नरदेन रुम्बा, संजय बान्तवा, संजय बिष्ट, पुरन गिरी, कालुसिंह रनपहेली, जस योन्जन प्यासी, नगेन्द्र खड्का र जितेन्द्र बर्देवाका शब्दहरू समेटिएका थिए। संगीतकार रमेश गुरुङले धुन भरेका आठवटा गीतमा शैलीको विविधता झल्कन्थ्यो।

कार्यक्रमको दोस्रो चरणमा पवन गोलेको स्वरमा रेकर्ड भएर लोकप्रिय बनेका गीतका साथै केही नयाँ गीत पनि प्रस्तुत गरेका थिए। दोस्रो चरणको आरम्भमा पवन गोलेका पहिलो संगीतकार सुवर्ण लिम्बुका दुई धुनहरू समेटिएका थिए। 

'छाडी जाने मायालु' बोलको गीतको प्रस्तुतिपछि गायक पवन गोलेले मुस्कुराउँदै जानकारी गराए, ‘यो गीतको गीतकार ओम विक्रम बिष्ट दाइ हुनुहुन्छ है।’

दोस्रो चरणको दोस्रो प्रस्तुतिमा गीतकार अरुण तिवारीको 'मलाई थाहा छैन' बोलको गीत रहेको थियो। जुन गीतलाई पवनले केही दिन पहिलेमात्र संगीतकार सुवर्ण लिम्बुबाट प्राप्त गरेर सिकेको जानकारी गराए।

त्यस चरणमा प्रस्तुत भएका थप गीतहरूमा 'कहीँ तिमीलाई', 'कति संगालेँ', 'भत्किएको महल', 'कहाँ दिन खुल्छ' बोलका गीतहरू रहेका थिए। उल्लेखित गीतहरू क्रमश: नरदेन रुम्बा, अशोक गुरुङ, पारस गजमेर र प्रमोद स्नेहीले सृजना गरेका शब्दहरू हुन् । संगीतकार बसन्त छेत्री, पवन गोले, पारस गजमेर र प्रदीप छेत्रीले धुन भरेका गीतहरूको प्रस्तुतिपछि कार्यक्रमले अन्तिम चरण प्रवेश गरेको थियो ।

कार्यक्रमको समापन पवन गोलेको अत्यधिक लोकप्रिय गीत 'हावासँगै बगुँ भन्छ' बाट भयो। संगीतकार सुवर्ण लिम्बुले नै धुन भरेको यस गीतलाई अग्रज गीतकार शिवशंकर थापाले सिर्जना गरेका हुन्।

शिवशंकर थापा प्रसिद्ध गायक दीप श्रेष्ठका प्रारम्भिक चरणका गीतकार हुन् । उनले रचेका गीतहरूमा 'भन्थी मेरी उनी' 'बिधुवालाई सिन्दूरको रहर' लगायत अनेकौं गीतहरू लोकप्रिय छन्। 

यसपालिको पलेँटीमा बाद्यवादनतर्फ हार्मोनियममा संगीतकार रमेश गुरुङ, किबोर्डमा सुनील सिंह नेपाली, बाँसुरीमा मिलन घिमिरे, ताल बाजाहरूमा मिलेश तण्डुकार र सुन्दरकुमार महर्जन, रिदम गिटारमा प्रवीण पुलामी मगर र बेस गिटारमा कृपेश लोहनीको साथ रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad