नयाँ वर्षको अवसरमा प्रदर्शन भएका ‘राम नाम सत्य’ र ‘पहाड’ को बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार ‘राम नाम सत्य’ ले २ करोड ७८ लाख १८ हजार ८४१ रुपैयाँ ग्रस कमाएको छ।
जुन पछिल्लो शनिबारसम्मको कमाइ हो। यस अवधिमा फिल्मका ९७ हजार २०५ वटा टिकट बिक्री भएका छन्। एक्सन जनरामा बनेको ‘राम नाम सत्य’ माइकल चन्द्रको लेखन र निर्देशनमा बनेको हो।
यस फिल्ममा विराजसहित सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारको अभिनय छ।
फिल्म ‘राम नाम सत्य’ को ठिकै कमाइ गर्दा तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ भने बक्सअफिसमा कमजोर देखिएको छ।
शनिबारसम्म यो फिल्मले ४६ लाख ७६ हजार ६३७ रुपैयाँ ग्रस कमाइ गरेको छ। जुन अवधीमा १४ हजार ३१८ जना दर्शकले यस फिल्मलाई हेरेका छन्।
घिमिरे ९ वर्षपछि ‘पहाड’ मार्फत निर्देशनमा फर्किएका छन्। यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ।
फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरिएको छ। निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरे अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्।
Shares

प्रतिक्रिया