चैत्रको २७ गतेबाट रिलिज हुने फिल्म ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ लाई दर्शकहरूले रूचाएका छन्। १३ दिनअघि सार्वजनिक यस गीतले टिकटकदेखि सामाजिक सञ्जालमा छाएको छ।
निर्वाचनको समयमा सिंगो देशको ध्यान नै मतदान र मतपरिणाममा तानिएको समयमा पनि यस गीतले आफ्नो रफ्तारलाई कायमै राखेको छ। जसकारण सार्वजनिक भएको २ साता नवित्दै युट्युबमा हेर्नेको संख्या २१ लाख पुगेको छ। यस गीतमा लाख भन्दा बढी टिकटक बनिसकेका छन्।
यस गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ। रोमान्टिक शैलीको यो गीतमा भिडिओमा मुख्य कलाकार विराज भट्ट र सुपुष्पा भट्ट छन्।
माइकल चन्दको निर्देशनमा तयार भएको यो गीतको टिजर केही दिनमा नै सार्वजनिक गर्ने तयारी गरिएको छ।
गीतले दर्शकको मन जितेपछि निर्देशक माइकल चन्द उत्साहित देखिए। उनले भने, ‘निर्वाचनको छेकोमा हामीले गीत सार्वजनिक गर्दा धेरैले गलत समयमा किन रिलिज गर्नुभयो भनेका थिए। तर, गीत हिट हुनेमा हामी विश्वस्त थियौं। आज दर्शकको मुखमा गीत झुन्डिएको छ। लाखौं टिकटक बनेका छन्। यसले हामीलाई उत्साहित बनाएको छ।’
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार फिल्मका कार्यकारी निर्माता हुन्।
मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको यो फिल्मका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन्. माइकल चन्दकै कथा र पटकथा रहेको छ। फिल्मका स्क्रिप्ट सल्लाहाकार अभिमन्यू निरवी र समय थपलिया हुन्। फिल्मलाई एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरिएको छ।
यस फिल्मले ‘पर्दा पछाडिको पर्दा’को थिम बोकेको छ। फिल्ममा विराज र सुपुष्पासहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ।
Shares

प्रतिक्रिया