कला


नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक सुरुवात, ऐतिहासिक क्यामेरा–पोष्टर हस्तान्तरण

नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक सुरुवात, ऐतिहासिक क्यामेरा–पोष्टर हस्तान्तरण

नेपालखबर
फागुन १३, २०८२ बुधबार १६:२८, काठमाडौँ

नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक सुरुवात गरेको छ। मंगलबार बोर्डको प्रेक्षालयमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतको प्रमुख आतिथ्यतामा सङ्ग्रहालय उद्घाटन गरिएको हो।

कार्यक्रममा चलचित्रकर्मी तथा विभिन्न संस्थाहरूले विगतका ऐतिहासिक क्यामेरा, क्यासेट, टेप, पोस्टर, आर्टवर्क, स्क्रिप्ट तथा संग्रहयोग्य कागजातहरू हस्तान्तरण गरेका थिए। सामग्री उपलब्ध गराउने व्यक्तित्व तथा संस्थाहरूलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो।

सङ्ग्रहालयलाई समृद्ध बनाउन विभिन्न क्षेत्रका चलचित्रकर्मी तथा संस्थाहरूले महत्त्वपूर्ण योगदान दिएका छन्।

सिने फोकस प्रालि (रजत बुढाथोकी)ले रेड क्यामेरा हस्तान्तरण गरेका छन्।

क्लासिक सिने युनिभर्स प्रालि (दिनेश महरा) ले सोनी ईएक्स३ क्यामेरा उपलब्ध गराएका छन्।

वरिष्ठ चलचित्र सम्पादक मानबहादुर थापाले सन् १९८० को पानासोनिक १० क्यामेरा, सोनी कलर मोनिटर (२००१), नेशनल पानासोनिक ५४३ क्यासेट टेप, साउण्ड र भिडिओ उपकरण तथा अडिओ मिक्सर उपलब्ध गराएका छन्।

उत्तम थापा, प्रबन्ध निर्देशक, म्यूजिक नेपाल प्रालिले १५२ वटा नेपाली चलचित्रका पोस्टर तथा आर्टवर्क प्रदान गरेका छन्।

रुपेन्द्र खड्गी, ओएसआर प्रालिले चलचित्र आर्टवर्कहरू उपलब्ध गराएका छन्।

कान्तिपुर रेडियोले ३४४ वटा चलचित्रका क्यासेट तथा अडिओ सिडीहरू हस्तान्तरण गरेको छ।

दर्शनवीर शाक्य, सम्पादक, पेज थ्री पत्रिकाले नेपाल भाषाका ८० चलचित्रका पोस्टर उपलब्ध गराएका छन्।

जनक तामाङ, प्रबन्ध निर्देशक, हाईलाईट्स नेपाल प्रा।लि। ले २०२ नेपाली चलचित्रका आर्टवर्क प्रदान गरेका छन्।

सुन्दरलाल श्रेष्ठ, आईडियल डिजाईनर्स ले १४६ नेपाली चलचित्रका पोस्टर उपलब्ध गराएका छन्।

वरिष्ठ चलचित्रकर्मी मन्दिल श्रेष्ठ तथा गौरीशंकर धुँजु (ए वन जन सेन्टर) ले पुरानो ऐतिहासिक क्यामेरा तथा ट्राइपोड प्रदान गरेका छन्।

लेखक तथा चलचित्रकर्मी नरेन्द्रबहादुर श्रेष्ठ ले प्रथम चलचित्र अवार्डका संग्रहयोग्य कागजात उपलब्ध गराउने भएका  छन्।

वरिष्ठ छायाँकार पुरुषोत्तम प्रधान ले आफू सम्वध्द ६३ नेपाली चलचित्रका स्क्रिप्टहरू उपलब्ध गराएका छन्।

नेपाली चलचित्रप्रेमी दर्शक खुमराज पौडेल (प्रतिनिधि प्रिया लामिछाने) ले ७०४ वटा नेपाली चलचित्रका पोस्टर हस्तान्तरण गरेका छन्।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वदेशी चलचित्र सङ्ग्रहालय स्थापना आफ्नो दीर्घकालीन सपना रहेको उल्लेख गर्दै यसलाई नेपाली चलचित्रको आत्मा जोगाउने अभियानका रूपमा व्याख्या गरे।

'नेपाली चलचित्रको इतिहास केवल सम्झनामा सीमित नहोस्, त्यसलाई पुस्तान्तरण गर्न सकिने गरी संस्थागत रूपमा संरक्षण गर्नुपर्छ भन्ने सोचका साथ हामीले यो पहल गरेका हौँ,' अध्यक्ष डिसीले भने। उनले विगतका संघर्ष, प्रविधिगत विकास र सिर्जनात्मक यात्रालाई एकै थलोमा अभिलेखीकरण गर्नु समयको माग भएको धारणा व्यक्त गरे।

उनले सङ्ग्रहालयलाई आगामी दिनमा डिजिटल अभिलेखीकरणसँग जोड्दै अनुसन्धानकर्ता, विद्यार्थी तथा चलचित्रप्रेमीका लागि अध्ययन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए। 'यो सुरुआत मात्र हो। हामी यसलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा विस्तार गर्नेछौँ,' उनले प्रतिबद्धता जनाए।

बोर्ड सदस्य गणेश सुवेदीको मन्तव्यबाट शुरुभएको कार्यक्रममा सेन्सर वोर्ड अध्यक्ष उदय बहादुर राना मगर र वोर्ड सदस्य राजु प्याकुरेल, वीरेन्द्र भट्टको समेत उपस्थिति थियो । 

कार्यक्रममा वक्ताहरूले नेपाली चलचित्रको इतिहास संरक्षणमा बोर्डले ऐतिहासिक कदम चालेको बताएका थिए। सङ्ग्रहालयले विगतका प्रविधि, सिर्जना र दस्तावेजहरूलाई एकै स्थानमा सुरक्षित राखेर नयाँ पुस्तालाई अध्ययन तथा अनुसन्धानको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

चलचित्र विकास बोर्डले आगामी दिनमा थप चलचित्रकर्मी, संस्थाहरू तथा निजी संग्राहकहरूसँग सहकार्य गर्दै सङ्ग्रहालयलाई थप व्यवस्थित र समृद्ध बनाउने जनाएको छ। नेपाली चलचित्र उद्योगको इतिहासलाई संस्थागत रूपमा जोगाउने यो पहललाई चलचित्रकर्मीहरूले स्वागत गरेका छन्।

कायर्क्रममा चलचित्र संग सम्वन्धित १३ संघ संस्थाका अध्यक्षहरू लगायत विशिष्ट चलचित्रकर्मीहरुको उल्लेख्य उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad