‘झलिको’ गीतको चर्चासँगै गत मंसिरदेखि नै गायक अर्जुन सापकोटा स्वदेशका मेला महोत्सवमा निकै व्यस्त बने। पूर्व उदयपुरदेखि पश्चिम धनगढीसम्म पुगेर ‘झलिको’सहितका गीतमा स्रोता तथा दर्शकलाई झुमाए।
स्वदेशपछि अब अर्जुन ‘झलिको टुर’ लिएर विदेश यात्रामा निस्किने भएका छन्। त्यसको सुरूआत अस्ट्रेलियाबाट गर्दैछन्। यसअघि पनि अस्ट्रेलियामा प्रस्तुति दिइसकेका उनी दोस्रोपटक त्यसतर्फ जान लागेका छन्।
फागुन १४ मा अष्ट्रेलिया प्रस्थान गर्ने उनी एडिलेडमा फागुन १६ (फेब्रुअरी २८) मा पहिलो प्रस्तुति दिनेछन्। भने १७ गते (मार्च १) मा पर्थमा कार्यक्रम तय छ। एडिलेड नेपाल आईएनसीको आयोजनामा हुन लागेको टुरमा अस्ट्रेलियाका अन्य स्थानमा समेत प्रस्तुति रहनेछ।
अस्ट्रेलियामा प्रस्तुति पूरा गरेपछि उनी नेपाल फर्किएर लगत्तै बहराइन जानेछन्, जहाँ इदको अवसरमा चैत ६ (मार्च २०) मा नेपाली क्लब बहराइनको आयोजनामा हुने कार्यक्रममा प्रस्तुति दिनेछन्।
नेपाली नयाँ वर्षको अवसरमा उनी युरोप टुरमा निस्किनेछन्। चौतारी इभेन्टस्सँगको सहकार्यमा ‘झलिको टुर’ लिएर उनी युरोपका विभिन्न देशमा पुग्ने भएका हुन्। यो टुरको फिनल्याण्ड, फ्रान्स, माल्टा र पोर्चुगलको प्रस्तुति मिति तय भइसकेको छ भने डेनमार्क र बेल्जियमलगायतको मिति तय हुन बाँकी छ।
विदेश टुरलाई लिएर उत्साहित रहेको गायक सापकोटाले बताए। उनले भने, ‘एकदमै उत्साहित छु। नेपाली रहनुभएको हरेक ठाउँमा पुग्न मन छ। झलिको गीत सबैसँग साझा गर्न मन छ।’
नेपालमा यस वर्ष आफ्नो हरेक प्रस्तुति विशेष अनुभव रहेको उनले बताए। ‘सानो बच्चादेखि बृद्ध बुवाआमासम्म सबैको माया पाएँ, परिवारकै सदस्यजस्तो भएर उहाँहरूसँग पुग्न पाएको अनुभव भयो’, उनले भने, ‘विदेश टुरमा पनि यस्तै माया पाउने अपेक्षा छ।’
आगामी वर्षका लागि क्यानडा, जापानलगायतका देशमा पनि प्रस्तुतिको तयारी रहेको अर्जुनको भनाइ छ।
‘पछ्यौरी लिसियो’, ‘बस्यौं अलक्कै’, ‘दुःख साटम्ला’ लगायतका गीतबाट चिनिएका उनी यस वर्ष ‘झलिको’ गीतसँगै थप चर्चामा छन्। तीन महिनाअघि सार्वजनिक ‘झलिको’ लाई युट्युबमा २ करोड ५७ लाखभन्दा बढीपटक हेरिएको छ।
Shares

प्रतिक्रिया