वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशन रहेको फिल्म ‘कमला मिस’ को यति बेला काठमाडौँमा छायांकन चलिरहेको छ।
शाह ‘कमला मिस’ मार्फत एक दशकपछि निर्देशनमा फर्किएका हुन्। ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विजय मल्ल स्मृति प्रतिष्ठान, मल्ल परिवार र फिल्म युनिटले नाटेश्वरीको पूजा गरी सफलताको कामना गरेका छन्। फिल्म ‘कमला मिस’ मा यो पूजा सम्पन्न गरेर छायांकनको सफल र बाधारहित प्रवाहको कामना गरिएको हो।
मनोवैज्ञानिक विषयवस्तुमा आधारित फिल्ममा मुख्य कलाकारको रूपमा बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्तकुमार श्रेष्ठ, जयन्त रेग्मी, रमेश बुढाथोकी छन्।
फिल्म विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भइरहेको छ। कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान, लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन), छायांकन शिवराम श्रेष्ठ, सङ्गीत युग भुसाल, कोरियोग्राफी रामजी लामिछाने, निर्माण व्यवस्थापन भोला सुवेदी र मुख्य सहायक निर्देशन सगर बोहराले सम्हाल्नेछन्।
पटकथा तथा संवाद निर शाह, प्रजाल दुलाल, सुगम दुलालले संयुक्त रूपमा तयार गरेका हुन्। शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’, र ‘सेतोबाघ’ जस्ता सफल फिल्म निर्देशन गरेका थिए।
Shares

प्रतिक्रिया