अभिनेता जितु नेपालले फिल्म ‘आईएम जीतबहादुर’मार्फत निर्माताको रुपमा डेब्यु गरेका छन्। यतिखेर जितु फिल्मको स्वरांकनको लागि मुम्बईमा छन्। यशराज फिल्म्सको स्टुडियोमा सातादेखि डबिङको काम चलिरहेको छ।
यशराज फिल्म्सको स्टुडियो बलिउडकै ब्यस्त स्टुडियोमध्ये पर्छ। जहाँ भारतका ठूला फिल्मको डबिङदेखि पोस्ट प्रोडक्सनको काम चलिरहन्छ। जसले बलिउडका चर्चित कलाकारहरु डबिङका लागि स्टुडियो पुग्ने गर्छन्।
यसैबीच, सोमबार जितुले चर्चित बलिउड अभिनेता वरुण धवनसँग भेटेका छन्। आगामी फिल्म ‘ए जवानी हे तो प्यारा तो होना ही हे’ को डबिङका लागि पुगेका वरुणसँग जितुले रमाइलो भेटघाट गरेका हुन्। जितुले यो कुरा फेसबुकमार्फत जानकारी दिएका हुन्।
स्टुडियोमा यी दुई कलाकारले भेट्नुको साथै आगामी फिल्मको लागि शुभकामना आदानप्रदान समेत गरे। अझ जितुले शुभकामना दिँदै वरुणलाई पशुपतिनाथबाट लगेको प्रसादस्वरुप रुद्राक्षको माला लगाइदिएका थिए।
जितु र वरुणबीच चिनजान चाहिँ शुभेन्दु घोषले गराइदिएका थिए, जो हिन्दी र बंगाली सिनेमाका चर्चित निर्देशक पनि हुन्। उनले जितुको फिल्म ‘आइएम जितबहादुर’ लाई निर्देशन गरेका हुन्।
Shares

प्रतिक्रिया