नेपालमा प्रदर्शनरत फिल्म ‘रमिताको पिरती’ अब भारतमा पनि रिलिज हुने भएको छ। भारतमा कन्सर्ट र फेसनका इभेन्ट गर्दै आएको इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्टले चलचित्रलाई मार्चको दोस्रो सातादेखि भारतका हलमा देखाउने जिम्मा लिएको हो।
कम्पनीले आफूहरु भारतको रिलिजका लागि निर्माताको रुपमा जोडिएको जनाउँदै ‘रमिताको पिरती’ को कथा र प्रस्तुति भारतका युवा दर्शकले पनि रुचाउने विश्वासका साथ रिलिजका लागि जुटेको बताए। निर्माता सागर लम्साल र इन्फिनिटीका बीच हालै ‘रमिताको पिरती’ भारतमा रिलिज गर्ने सम्झौता भएको हो।
इन्फिनिटीले चलचित्र ‘रमिताको पिरती’ले भारतीय युवा दर्शकको पनि मनोविज्ञानलाई समेटेको महसुस गर्दै भारतभर रिलिज गर्ने निर्णय गरेको जनाएको छ। दक्षिण एसियाका कथा संसारभर पुर्याउने लक्ष्यसहित कम्पनीको स्थापना भएको हुँदा संसारले रुचाउने कथालाई धेरैभन्दा धेरै दर्शकसम्म पुर्याउने लक्ष्यसहित ‘रमिताको पिरती’कोे वितरणमा जोडिएको इन्फिनिटीले जनाएको छ। यसले नेपाली चलचित्रलाई सीमा भित्र मात्र नभएर सीमाबाहिर पनि बजार विस्तारमा मद्दत पुग्ने जनाएको छ।
अहिले रिलिजका लागि भारतका हलसँग कुराकानी भइरहेकोे र चाँडै भारतका कुन कुन ठाउँमा कहिलेदेखि लाग्ने भन्ने जानकारी सार्वजनिक गर्ने कम्पनीले जनाएको छ।
सुदिप्ताको निर्देशनमा बनेको यस फिल्ममा आना शर्मा, विनय श्रेष्ठ, धिरज मगर, समिर श्रेष्ठ, रेनु योगी लगायतका कलाकारहरूको अभिनय छ। आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्मको कथा पनि सुदीप्ताको नै रहेको छ।
Shares

प्रतिक्रिया