आज शुक्रबार सिनेमाहलमा एक विदेशीसहित तीन नेपाली फिल्म प्रदर्शन भएका छन्। घरेलु बक्स अफिसमा फिल्म ‘आ बाट आमा’ को दबदबाबीच बलिउड फिल्म ‘ओ रोमियो’सहित नेपाली फिल्म ‘बिगुल’, ‘श्री बुकुरो’ ‘शिवांश’ हलमा लागेका हुन्।
फरक फरक कथावस्तुमा बनेका नेपाली फिल्मले मल्टिप्लेक्स हलहरुबाट न्युन शो पाएको देखिन्छ। अग्रिम बुकिङमा पनि कमजोर देखिएको फिल्मको आगामी व्यापार वर्ड अफ माउथ पब्लिसिटीले निर्धारण गर्नेछ।
सुदीप भुपाल सिंहको लेखन तथा निर्देशन रहेको ‘श्री बुकुरो’ पारिवारिक कथावस्तुमा बनेको फिल्म हो। फिल्ममा लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, मोहन निरौला, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, लय संग्रौला लगायतको अभिनय रहेको छ।
त्यस्तै, अर्को फिल्म ‘बिगुल’ राजनीतिक विषयवस्तुमा आधारित छ। रमेश कोइराला निर्देशित यस फिल्ममा नीर शाह, रमेश बुढाथोकी, बेनिशा हमाल, नरेन खड्का, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डित लगायतको अभिनय छ। दिनेश कोइराला निर्माता रहेको फिल्मको कल्पना पौडेल प्रस्तुतकर्ता हुन्।
त्यस्तै, ‘शिवांश: च्याप्टर १’ मा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने, विमला लिम्बू, विकाश जोशी, प्रदीप कुमार चौधरी, टीका निरौला लगायतको अभिनय छ। सन्तोष कुमार आत्रेयको निर्देशनमा बनेको ‘शिवांश’को कथा हिन्दु पौराणिक कथा र समुद्र मन्थनको प्रसंगमा आधारित छ । समुद्र मन्थनका क्रममा उछिट्टिएको एउटा शक्तिशाली ‘शिला’ (ढुङ्गा) को खोजीमा चलचित्रको कथा केन्द्रित छ ।
बलिउड अभिनेता शाहिद कपुरको मुख्य भूमिका रहेको बहुप्रतिक्षीत फिल्म ‘ओ रोमियो’ पनि रिलिज भएको छ। विशाल भारद्वाजको निर्देशन रहेको यो एक ‘ग्याङस्टर रोमान्टिक ड्रामा’ हो। फिल्ममा शाहिद कपुर ‘हुसेन उस्तरा’को भूमिकामा छन्। फिल्ममा शाहिदसहित विक्रान्त मेस्सी, तृप्ति डिमरी र तमन्ना भाटियाको पनि मुख्य भूमिका छ। यस फिल्मले नेपाली मल्टिप्लेक्सबाट राम्रो शो पाएको छ।
Shares

प्रतिक्रिया