सुशान्त केसीको चर्चित ‘बार्दली’ गीतको भिडिओ गीत हेर्नुभएको छ? जहाँ सुशान्त सुरुवातकै अन्तरामा गाउँछन्:
कहिले आउँछौ माया तिम्रो घरको बार्दलीमा
कुर्दैछु हेर्न तिमीलाई
जिस्काउँछन् साह्रै नि मलाई
उसको एक झलक, मुस्कान अलग
यही अन्तरासँगै बार्दलीमा देखा पर्छिन् एक सुन्दर युवती। रातो सारीमा देखिएकी उनी मुस्कुराउँछिन्। अनि मुस्कानसहित सुशान्ततर्फ हेर्दै हात हल्लाउँछिन्। यति भएपछि के चाहियो र? त्यसपछि हायलकायल हुन्छन् सुशान्त।
अनि भन्छन्: उफ… मार्यो नि मायाले।
ती युवती हुन्, आकृति राजभण्डारी। जो यसै म्युजिक भिडिओमार्फत अभिनयको संसारमा आइन्। र, एकाएक लाखौँ/करौडौँ दर्शकमाझ चिनिइन्।
गायक सुशान्त आकृतिका स्कुलदेखिका साथी हुन्। सोहीकारण बेलाबखत कुराकानी भइरहन्थ्यो। एकदिन आकृति पाटनमा डुल्दै थिइन्। सुशान्तले फोन गरेर म्युजिक भिडिओ खेल्न अफर गरे। सोही गीतको भिडिओ सुट भइराखेकाले सुशान्तले तुरुन्तै बोलाए। साथीको कुरा मान्दै आकृति पनि सुटिङ सेटतर्फ लागिन्।
‘सेट पुग्दा त सप्राइज भएँ। भिडिओमा मिस नेपालदेखि टप अभिनेत्री हुनुहुँदोरहेछ। तर, इन्ट्री नै मेरो रहेछ,’ उनले भनिन्, ‘सुरुमा त नर्भस भएँ। पछि यस्तो गर भनेपछि फ्लोमा गएँ।’

डेढ वर्षअघि रिलिज भएको गीत ‘बार्दली’ निकै चलेको थियो। ग्लोबल ट्रेन्डिङसम्म पुगेको यस गीतले युट्युबमा समेत साढे १२ करोड भ्युज पाइसकेको छ।
यही गीतसँगै आकृति पनि धेरैको नजरमा परिन्। उनलाई म्युजिक भिडिओदेखि फिल्मको अफर आउन थाल्यो। सानैदेखि हिरोइन बन्ने आकृतिको सपना थियो। तर, थिएटर सिकेर मात्रै उनी नेपाली सिनेक्षेत्रमा आउन चाहन्थिन्। जसकारण उनले आएका अफर पनि स्वीकारिनन्।
सोहीबेला कार्यकारी निर्माता केदार भुसालले फोन गरेर फिल्म ‘कुमारी’ को अफर गरे। फिल्मको कथा मन परेपछि फिल्म खेल्न तयार भएको उनको भनाइ छ।
‘पहिले पनि फिल्मको अफर आउँथ्यो। तर, कहिले स्टोरी मन नपर्ने, कहिले के। कुमारीको स्टोरी सुन्दा नै इन्ट्रेस्टिङ लाग्यो। क्यारेक्टरको जर्नीले निकै लोभ्यायो। त्यसमाथि निर्देशक दिनेश राउत हुनुहुन्थ्यो। उहाँले बनाएको क्लासिक र नोभेम्बर रेन हेरेको थिएँ,’ उनले सुनाइन्।
आकृति वास्तवमा चञ्चले अनि रौसे स्वभावकी छिन्। तर, फिल्ममा उनको इशा क्यारेक्टर ठ्याक्कै अपोजिट। जो सालीन र गम्भीर छिन्। त्यसैले सुरुमा चरित्रमा ढल्न केही चुनौती भएको थियो। को-एक्टर अभिषेक खड्कासँगको सहकार्यले सहज भएको उनको अनुभव छ।
आकृतिको डेब्यु फिल्म ‘कुमारी’ माघ २३ गतेबाट हलमा लागिसकेको छ। आकृतिका अनुसार यस फिल्ममा जेनजी पुस्ताको प्रेमकथा छ। फिल्मले लभस्टोरीसहित सामाजिक मुद्धा पनि उठान गरेको उनको भनाइ छ।
मेकअप आर्टिस्ट समेत रहेकी आकृतिको मेकअप स्टुडियो र कपडा स्टोर सञ्चालनमा छ। ‘बार्दली’ चलेसँगै उनी पछिल्लो समय भने अभिनय क्षेत्रमा सक्रिय छिन्।

त्यसो भए ‘बार्दली’ गीतले नै आकृतिलाई फिल्मक्षेत्रमा ल्याएको हो त?
जवाफमा भन्छिन्, ‘यो गीत चलेपछि पक्कै पनि ऊर्जा मिलेको हो। तर, म कुनै न कुनै दिन मुभी गर्छु भन्ने भित्रबाट चाहना थियो। योभन्दा अगाडि धेरै अडिसन पनि दिएको छु। बार्दलीले धेरैजना मेकरको आँखामा परेजस्तो लाग्छ। अफरहरू पनि आएजस्तो लाग्छ। तर, बार्दली नभएको भए पनि म मुभीमा चाहिँ आउथेँ।’
चितवन घर भएकी आकृतिको हुर्काइ काठमाडौँमा भयो। सानैदेखि होस्टेल बसेर पढिन्। पहिल्यैदेखि उनलाई कोर्स बुकभन्दा पनि मेकअप र कलाक्षेत्रतिर बढी झुकाव थियो।
आकृतिलाई मेकअप गर्ने खुबै मन पर्ने। ममीको सामान भेट्नेबित्तिकै उनी सिँगारपटारमा लाग्थिन्। त्यस्तै, स्कुलका कार्यक्रममा डान्स गर्थिन्।

एसएलसीपछि उनी व्यवस्थापन संकायमा भर्ना भइन्। तर, उनको मन भने मेकअपबाट टाढा जान सकेन। त्यसपछि उनले प्लस टु सकिएसँगै औपचारिक रुपमा मेकअप क्लास लिइन्। त्यतैतिरै काम गर्न थालिन्।
केहीपछि देशैभर कोरोनाको कहर आयो। लकडाउनमा आकृति पनि फुर्सदिली भइन्। त्यो खाली समयमा उनी टिकटकको दुनियाँमा आइन्। बिहान उठेर मेकअप गर्थिन्। अनि धेरै समय टिकटकमा बिताउन थालिन्।
‘लकडाउनमा फुर्सद थियो, रमाइलोका लागि टिकटक बनाउँथेँ। पछि बिस्तारै राम्रो भ्युज र लाइक आउन थाल्यो। त्यसपछि त धेरैले नोटिस गर्न थाल्नुभयो। त्यसपछि नै म्युजिक भिडिओबाट अफर आउन थालेको हो,’ उनले सुनाइन्।
नम्रता श्रेष्ठ आकृतिको मनपर्ने नेपाली अभिनेत्री हुन्। त्यस्तै, बलिउडमा भने उनलाई रानी मुखर्जी मन पर्छिन्। आफूलाई लभस्टोरी जनरा बढी मन पर्ने सुनाउँछिन् उनी।
आकृति फिल्मक्षेत्रमै बस्ने मुडमा छिन्। फिल्मको सफलता/असफलताले आफूलाई फरक नपार्ने उनको भनाइ छ।
‘यो फिल्म हिट वा फ्लप हुँदा केही फरक पर्दैन। किनकि सुरु गर्नेबित्तिकै सफल धेरै कम हुन्छन्। यसमा फ्रेस लभस्टोरी छ। हामीले शत प्रतिशत दिएका छौँ। मलाई दर्शकले आगामी दिनमा हेर्न पाउनुहुनेछ,’ उनले भनिन्।
Shares

प्रतिक्रिया