फिल्म ‘द ब्लू लाइट’लाई निर्माताले हलबाट निकाल्ने निर्णय गरेका छन्।
निर्माता कम्पनी स्काइफल पिक्चर्सले सोमबार विज्ञप्तिमार्फत फिल्मलाई हलबाट हटाउने निर्णय गरिएको जानकारी गराएका हुन्।
फिल्मलाई सशक्त तयारी र प्रभावकारी प्रचार रणनीतिसहित पुनः प्रदर्शन गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘प्रदर्शन अवधिमा अपेक्षाभन्दा फरक रूपमा दर्शकहरूको उल्लेखनीय स्वस्फूर्त उपस्थिति देखिन गयो र फिल्मले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गर्यो। दर्शक, फिल्मकर्मी तथा शुभेच्छुकहरूबाट द ब्लु लाइटलाई नेपाली सिनेमाका लागि फरक, नयाँ र महत्त्वपूर्ण प्रयासका रूपमा मूल्याङ्कन गर्दै अझ व्यापक प्रचार-प्रसार आवश्यक रहेको सुझाव प्राप्त भयो’, जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्राप्त सम्पूर्ण सुझाव, प्रतिक्रिया तथा दर्शकहरूको समर्थनलाई उच्च सम्मान गर्दै द ब्लू लाइटलाई हालका लागि हलबाट हटाई, आगामी दिनमा थप सशक्त तयारी र प्रभावकारी प्रचार रणनीतिसहित पुनः प्रदर्शन गर्ने निर्णय गरेको छ।’
गत शुक्रबार अर्थात् माघ १६ मा रिलिज भएको यस फिल्मले प्रिमियर शोमा राम्रो प्रतिक्रिया पाएको थियो। यद्यपि फिल्मले खासै दर्शक तान्न सकेन।
बलिराम चौहानको निर्देशन रहेको यो फिल्म साइकोलोजिकल थ्रिलर जनरामा बनेको हो। यसै फिल्मबाट अभिनेत्री बेनिशा हमाललले निर्माताको रुपमा डेब्यु गरेकी हुन्।
बेनिशासहित अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी लगायतको अभिनय छ।
भोलानाथ कटुवाल र रमन ग्रे सह-निर्माता रहेको फिल्मका कार्यकारी निर्माताहरू बेनिशा हमाल र नरेन्द्र मैनाली हुन्।

Shares

प्रतिक्रिया