कला


बढ्दै कलाकारको नाममा अनलाइन ठगी, सचेत रहन साइबर ब्यूरोदेखि बोर्डको आग्रह

बढ्दै कलाकारको नाममा अनलाइन ठगी, सचेत रहन साइबर ब्यूरोदेखि बोर्डको आग्रह

नेपालखबर
पुस १३, २०८२ आइतबार १०:८, काठमाडौँ

पछिल्लो समय कलाकारको नाम र फोटो दुरुप्रयोग गर्दै अनलाइन ठगी बढेको छ। आफ्ना नाममा ह्वाट्स एप र भाइबरमा पैसा माग्दै ठगी हुन थालेपछि कलाकारहरुले सामाजिक सञ्जालमार्फत गुनासो पोखिरहेका छन्।

हिजो शनिबार अभिनेता दयाहाङ राईले फेसबुकमा स्टाट्स लेख्दै आफ्नो नाममा पैसा मागिरहेको बताउँदै सचेत हुन आग्रह गरेका छन्। उनले लेखेका छन् ‘सबै साथीहरु र  इष्टमित्र साबधान रहनुहोला। मेरो नाम गरेर पैसा मागिरहेको रहेछ। त्यो सत्य होइन्, स्क्याम हो है,’उनले लेखेका छन्।

त्यस्तै, शुक्रबार राति अभिनेता अनमोल केसीले पनि आफ्नो नाम र तस्विर प्रयोग गरेर स्क्याम भइरहेको जानकारी दिए। आफूलै कसैलाई फोन र मेसेज गरेर पैसा नमागेको बताउँदै यस्तो कार्यबाट सजग रहन आग्रह गरेका छन्। अनमोलले त्यसरी पैसा पठाइएका स्क्रिनसट पनि सेयर त्यस्ता व्यक्तिहरुलाई ब्लक र वेवास्ता गर्न उल्लेख गरेका छन्।

अभिनेताद्वय दयाहाङ र अनमोल मात्रै होइनन् केकी अधिकारी, स्वस्तिमा खड्का, आकाश श्रेष्ठ, धिरज मगर, पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ, जोन राई लगायतका सेलिब्रेटी स्क्याममा प्रयोग भइसकेका छन्। उनीहरुले पनि फेसबुकमार्फत आफ्नो फोटो र नाम दुरुप्रयोग गरेर पैसा मागिएको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका थिए।

‘मेरो नामको दुरूप्रयोग गर्दै ह्वाट्स एप, भाइबरमा मेरा साथीहरूलाई पैसा माग्दै गरेको भेटिएको हुनाले त्यस्ता मेसेजहरूमा नझुक्किनुहुन सबैमा जानकारी गराउन चाहन्छु,’स्वस्तिमाले लेखेकी छिन्।

त्यस्तै, केकीले फेसबुकमा लेखेकी छिन्,‘मेरो नाम र तस्बिरको दुरूपयोग गरि भाइबररह्वाट्स एपमार्फत पैसा मागिरहेको भन्ने जानकारी प्राप्त भएको छ। यो कार्य कानुनी रूपमा पनि दण्डनीय छ। र, सम्पूर्णलाई सजग रहन हार्दिक अनुरोध गर्दछु।’

कलाकारको नाम अत्याधिक ठगी हुन थालेपछी प्रहरीको साइबर ब्युरोले पनि सचेत हुन सबैलाई अपिल गरेको छ। अनलाइन ठगीबाट बच्न व्यक्ति स्वयमले सचेत हुनपर्ने साइबर ब्यूरोले जनाएको छ।  

त्यस्तै, कलाकार तथा चलचित्रकर्मीको फोटो र नाम दुरुपयोग गरेर अनलाइन ठगीका घटना हुन थालेपछि चलचित्र विकास बोर्डको पनि ध्यानाकर्षण भएको छ।

शनिबार बोर्डले विज्ञप्ति जारी गर्दै यसबारे सबैले सहज रहन आग्रह गरेको छ। चलचित्रकर्मीलाई आफ्ना सामाजिक सञ्जालका खातामा बलियो पासवर्ड र ‘टू फ्याक्टर अथेन्टिकेसन’ अनिवार्यरुपमा प्रयोग गर्न सुझाव दिएको छ।

‘कसैले कलाकार वा चलचित्रकर्मीको नाममा पैसा मागेमा वास्तविक व्यक्ति हो भनी पृष्टि नगरी कुनै पनि रकम नपठाउनुहोला,’विज्ञप्तिमा लेखिएको छ।

पछिल्लो समय फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्स एप लगायतका सामाजिक सञ्जालमा कलाकार तथा चलचित्रकर्मीको तस्वीर प्रयोग गरि नक्कली आइडी बनाउने, वास्तविक आइडी ह्याक गर्ने, साथीभाइ र शुभचिन्तकसँग पैसा माग्ने ठगीका घटना बढिरहेको बोर्डको तर्क छ।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad