दिवंगत बलिउड अभिनेता धर्मेन्द्रको अन्तिम फिल्म ‘इक्किस’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ। यो फिल्म डिसेम्बर २५ मा रिलिज हुने तय थियो। तर, अब भने १ जनवरी २०२६ मा रिलिज हुनेछ।
‘धुरन्धर’ को बक्स अफिस रेकर्डलाई ध्यानमा राख्दै निर्माताहरूले यो निर्णय गरेका हुन्। ट्रेन्ड विश्लेषक तरण आदर्शले फिल्मको नयाँ पोस्टर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्।
रणवीर सिंह र अक्षय खन्ना अभिनीत ‘धुरन्धर’ ले भारतीय बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ। यस फिल्मले घरेलु बक्सअफिसमा ४ सय ३७ करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ।
यस फिल्ममा धर्मेन्द्रसहित जयदीप अहलावत र अगस्त्य नन्द लगायतको अभिनय छ। यो फिल्म सन् १९७१ को भारत-पाकिस्तान युद्धमा असाधारण वीरता प्रदर्शन गर्ने भारतका सबैभन्दा कान्छा परमवीर चक्र प्राप्तकर्ता सेकेन्ड लेफ्टिनेन्ट अरुण खेतरपालको सत्य कथामा आधारित छ।
यस फिल्ममा अमिताभ बच्चनका नाति अगस्त्य नन्दले अरुण खेत्रपालको भूमिका निर्वाह गरेका छन् भने धर्मेन्द्रले उनको बुबाको भूमिका निर्वाह गरेका छन्। यो अगस्त्य नन्दाको पहिलो थिएटर रिलिज हुनेछ। उनी यसअघि जोया अख्तरको ‘द आर्चीज’ मा देखा परेका थिए, जुन नेटफ्लिक्समा रिलिज भएको थियो।
धर्मेन्द्रले आफ्नो अन्तिम फिल्म ‘इक्किस’ को लागि कविता पनि लेखेका थिए। श्रीराम राघवन निर्देशन रहेको बनेको फिल्मलाई दिनेश विजनको म्याडक फिल्म्सले निर्माण गरेको हो। श्रीराम राघवन, अरिजित विश्वास र पूजा लाधा सुरतीले फिल्मको पटकथा लेखेका हुन्।
Shares

प्रतिक्रिया