अभिनेत्री रेखा थापाले किताब र सिनेमा, साहित्य र सिनेमा उस्ताउस्तै रहेको बताएकी छन्। किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार थापाले यी दुवै चीजमा समाजकै कथा हुने भएकाले समानता रहेको बताइन्।
किताब पढ्ने गरेको सुनाउँदै नेपालमा दुःखका कथा बेसी रहेको र आफूले पनि तिनै कथालाई देखाइरहेको उनको भनाइ छ। ‘हामीले समाज हाँसिरहेको कथा किताब र फिल्ममा कहिले देखाउन पाउँला!,’ थापाले भनिन्।
सहजकर्ता नरेश भट्टराईले अब तपाईं निर्वाचनमा सहभागी हुने सम्भावना कत्तिको छ भनेर सोधेको प्रश्नको उत्तरमा थापाले यसपटक राजनीतिक द्रष्टा मात्र बन्ने बताइन्। ‘म निर्वाचनमा होमिँदैन, फिल्ममै सक्रिय रहन्छु,’ उनले भनिन्।
पढाइमा राम्री भए पनि कलाप्रतिको मोहले पढाइको रुची घट्दै गएको थापाले सुनाइन्। उनले आफ्नो रुचीको क्षेत्रमा दक्षता हासिल गर्दा सफल भइन्छ भन्ने लागेर कलाप्रति बढी सक्रिय भएको बताइन्।
सफल व्यक्तिको परिचय पढाइसँग जोड्न नहुने उनको तर्क थियो। ‘के हामीले बुद्धको पढाइ सोध्छौं? बुद्धको कर्मले समाज र जीवमा प्रभाव पार्छ। कला साधना भएकाले क्लासको पढाइले मात्र जीवनमा अर्थ राख्दैन,’ थापाले भनिन्।
Shares

प्रतिक्रिया