कला


भारतमा पनि ‘ऊनको स्वीटर’ले आकर्षित गर्दै दर्शक

भारतमा पनि ‘ऊनको स्वीटर’ले आकर्षित गर्दै दर्शक

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १४:२४, काठमाडौँ

नेपालमा आक्रामक व्यापार गरेको फिल्म ‘ऊनको स्वीटर’ भारतका विभिन्न सहरमा  प्रदर्शन भइरहेको छ।

भारतका प्रमुख सहरमा दर्शकको मागसँगै सफलतापूर्वक प्रदर्शन भइरहेको र थुप्रै सहरमा प्रदर्शनको क्रममा रहेको निर्माण पक्षले जनाएको छ। निर्माण कम्पनी आर्टमान्डू नेपाल प्रालिले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वोत्तर भारतमा सफलतासँगै फिल्म ‘ऊनको स्वीटर’ दक्षिण भारतसम्म पुगेको जनाएको छ। यो फिल्मको भारत यात्रा दुई हप्ता अघि सिक्किमको राजधानी गान्तोकमा प्रिमियर शोसँगै सुरु भएको थियो।

प्रारम्भिक दुई शो हाउसफुल भएपछि गान्तोकमा प्रदर्शन संख्या बढाएर ६ पुगेको थियो। उत्साहजनक प्रतिक्रियाले नाम्ची, कर्स्याङ, दार्जिलिङ, कालिम्पोङ, कोलकाता र सिलिगुडीका हलमा समेत दर्शकको भीड बढ्दै गएको र यी हलहरूले अझै पनि शो निरन्तरता दिएको बताइएको छ।

पूर्वोत्तर भारतमा प्राप्त सफलतापछि ‘ऊनको स्वीटर’ अब आसामको गुवाहाटी, पश्चिम बङ्गालको कोलकाता, उत्तराखण्डको देहरादून, नयाँ दिल्ली, बैंगलोर र हैदरावादसम्म विस्तार भएको छ। विशेष गरी बैंगलोरमा नेपाली भाषी जनसंख्या न्यून रहे पनि चार प्रमुख हलमा फिल्म हाउसफुल चलिरहेको निर्माता टिमले उल्लेख गरेको छ। दक्षिण भारतमा समेत पाएको साथ नेपाली फिल्मका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

निर्माण संस्थाले १२ डिसेम्बरदेखि थप भारतीय सहरमा प्रदर्शन विस्तार गर्ने घोषणा गरेको छ। मुम्बई, हैदरावाद, हिमाञ्चलका सिमला, धर्मशाला, कुल्लु, अरुणान्चल प्रदेशका तेजू रनामसाई, मेघालयको सिलोङ तथा असामका अन्य महत्त्वपूर्ण सहरमा पनि फिल्म प्रदर्शन हुँदै छ। नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’मा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल लगायतको अभिनय छ। 

निर्देशक चौहानले गान्तोकबाट सुरु भएको यात्रा दक्षिण भारतसम्म पुग्नु कल्पना गरेकोभन्दा ठूलो उपलब्धि भएको प्रतिक्रिया दिएका छन्। नेपाली भाषाबाहेकका दर्शकबाट समेत फिल्मप्रतिको रुचि बढ्दो क्रममा रहेको उल्लेख गर्दै उनले यसले नेपाली फिल्मलाई नयाँ बजार र अन्तर्राष्ट्रिय उपस्थितिको ढोका खोलिदिएको विश्वास व्यक्त गरे।

आर्टमान्डू नेपाल प्रालिले भारत तथा नेपालभरका दर्शक र साझेदारलाई धन्यवाद दिँर्दै ‘ऊनको स्वीटर’को सफल अन्तर्राष्ट्रिय यात्राप्रति आशावादी दृष्टिकोण व्यक्त गरेको छ। भारतमा ‘ऊनको स्वीटर’लाई एसली प्रोडक्सन र एवन राईको समूहले प्रदर्शन गरेको हो। भारत प्रदर्शनको लागि निर्देशक चौहानसँगै गायक सुजन चापागाईंपनि भारतमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad