अभिनेत्री प्रियंका कार्कीले अबदेखि पैसा र भोटिङले निर्णय गर्ने शोको हिस्सा नहुने घोषणा गरेकी छिन्। मंगलबार ‘स्टुडेन्ट अफ द इयर’ नामक शोको पत्रकार सम्मेलनमा बोल्दै उनले भोटिङ भएमा आफू उक्त शो गर्न नसक्ने बताएकी हुन्।
खासमा उक्त कार्यक्रममा प्रियंका र कन्टेन्ट क्रिएटर इभा गिरीलाई जजको रूपमा परिचय गराइँदै थियो। जहाँ एक आयोजकले शोमा भोटिङ पनि हुने बताए।
उनी बोल्दै गर्दा प्रियंकाले माइक तानेर यदि शोमा भोटिङ छ भने आफूले नगर्ने बताइन्। केही बोलिसकेपछि उनी पत्रकार सम्मेलनको बीचबाटै उठेर हिँडिन्। पैसाको चलखेल हुँदा वास्तविक प्रतिभाले मौका नपाउने यथार्थ देखेको बताउँदै उनले त्यस्ता शोका दोस्रो सिजनहरू आफूहरूले छाडेको समेत खुलाइन्। पैसाको चलखेल हुने कार्यक्रममा अबदेखि आफू हिस्सा नहुने उनकी दाबी छ।
‘आइएम सो सरी ! म शुभकामना दिन चाहन्छु। यदि शोमा भोटिङ छ भने म यो शो गर्न सक्दिन। मेरो मन मर्या छ के दुई तीनवटा शोमा । यस्तो ट्यालेन्टेड मान्छेहरू, जहाँ पुग्नुपर्ने पुगेन किनभने पैसा छैन। मैले दुईतीन चोटी त यस्तो फाइट गर्या छु । म नाम लिन सक्छु ती शोहरूको । म रोको छु कन्टेस्टेन्ट सँगसँगै। आज मैले नाम मात्र लिइन। यदि यो भिडियो भोली भाइरल भयो भने, भाइबहिनीले आफै लेख्नुहुन्छ कि कमेन्ट्मा कि मैले कति फाइट गरेको छु’ उनले भिडिओमा भनेकी छिन्, ‘यसले गर्दा धेरै शोहरू निरन्तर गरेको छु, सिजन २ हरू मैले छोडेँ सबै। एउटा शो मैले अहिलेसम्म गरिराखेको रोडिज हो, किनभने त्यहाँ पैसाको चलखेल छैन। भोटिङ र पैसाले निर्णय गर्ने शोको हिस्सा अबदेखि बन्दिन। इमान्दारीपूर्वक भन्नुपर्दा, मैले पक्कै पनि अडान लिएकी हुँ।’
प्रियंका पछिल्लो समय धेरै रियालिटी शोदेखि टेलिभिजन कार्यक्रममा व्यस्त हुने अभिनेत्रीमा पर्छिन्। यस्तोमा उनले गरेको यस निर्णयको निकै चर्चा भइरहेको छ।
Shares

प्रतिक्रिया