चलचित्रकर्मीहरूको समूहले अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म समितिलाई नेपालबाट सिफारिस गरिएको फिल्मलाई रोक्दै त्यसमाथि समीक्षा गर्न उजुरी दिएको छ। एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा आयोजित प्रतिष्ठित अस्कर अवार्डको ९८ औं संस्करणमा यस पटक फिल्म ‘अञ्जिला’ सिफारिस गरिएको थियो। देश संकटमा हुँदा छानिएकाले नेपालको अस्कर छनोट समितिको यो चयनमाथि समीक्षा गर्दै नयाँ आवेदन पारदर्शी रूपले खुलाउन उजुरी दिइएको हो।
अस्करको अन्तर्राष्ट्रिय फिचर हेर्ने समितिसहित नेपाल चलचित्र विकास बोर्ड र नेपालको विदेशी अन्तर्राष्ट्रिय फिल्म छनोट समितिमा पनि उजुरी पेस गरिएको छ। प्रस्ताव गरिएको उजुरीमा देश राष्ट्रिय संकटमा हुँदा, कर्फ्यु र सार्वजनिक सम्पत्तिमाथिको आक्रमणदेखि देशको प्रधानमन्त्रीले राजीनामा दिँदै गर्दाको क्षण निष्पक्ष प्रतिस्पर्धाका लागि उपयुक्त नभएको उल्लेख छ।
‘आवेदन दिने समय निकै छोटो थियो। धेरै फिल्मकर्मीले आवेदन बन्द भएपछि मात्रै यसबारे जानकारी पाए। समितिको भोटिङ सदस्यका रूपमा जीवन पराजुली छन्, जो अञ्जिला फिल्मको मिडिया कोर्डिनेटर पनि हुन्। अर्का सदस्य चिरञ्जीवी गुरागाईंले त फिल्म पनि हेरेका छैनन्। त्यस्तै यो समितिको ६ जना सदस्य पनि सक्रिय फिल्मकर्मी होइनन्,’उजुरीमा लेखिएको छ।
समिति चयनकै नीतिमाथि छानबिन गर्दै नेपालको फिल्म सिफारिसका लागि ३० दिनको थप म्याद माग गरिएको छ। यो उजुरीमा चलचित्रकर्मी दीपक रौनियार, समुन्द्र भट्ट, विनोद पौडेल, जोस्लिन ब्रायन्स,राजन कठेत, अभिनेता नाजिर हुसेन, निर्माता रामकृष्ण पोखरेल, समीक्षक समाजका अध्यक्ष सामिप्यराज तिमल्सिना, अभिनेत्री आशा मगराती, पूर्णसिंह बराइली, निर्देशक दीपेन्द्र लामा, निर्माता आमोद राई, निर्देशक नवीन सुब्बा, फिल्म विश्लेषक मनोज पण्डित, मनोजबाबु पन्तलगायतको हस्ताक्षर गरिएको छ।
गत बिहिबार अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले नेपालबाट ‘अञ्जिला’ पठाउने निर्णय गरेको थियो। तर, छनोट समितिको निर्णय त्रुटिपूर्ण रहेको बताउँदै चलचित्रकर्मीहरूले चर्को आवाज उठाएका थिए। छनोट समितिले फिल्मकर्मीलाई आवेदनबारे जानकारी नदिई अस्कर मापदण्डविपरित निर्णय गरेको भन्दै विरोध गरेका थिए। चर्को विवादपछि नेपाल छनोट समितिले फिल्म ‘अञ्जिला’ लाई अस्कर अवार्डका लागि सिफारिस गरेको निर्णय स्थगित गरेको छ।
Shares

प्रतिक्रिया