कला


गाईजात्राका दर्शकलाई रुवाउने सीताको प्रस्तुति : दिनै सिटामोल खाएर बचाएको सम्बन्धको मोल हुन्छ र?

गाईजात्राका दर्शकलाई रुवाउने सीताको प्रस्तुति : दिनै सिटामोल खाएर बचाएको सम्बन्धको मोल हुन्छ र?

लक्ष्मी बलायर
साउन २६, २०८२ सोमबार १९:२१, काठमाडौँ

आइतबार साँझ। नेपाल प्रज्ञा प्रतिष्ठानको हल गुल्जार थियो। ‘२०८२ को गाईजात्रा’ मा प्रस्तुति हेरेर नेतादेखि दर्शकहरू खित्का छोड्दै हाँसिरहेका थिए। जब कमेडियन सीता न्यौपाने कठघरामा उभिइन्, तब २ घण्टासम्म हाँसोमय बनेको माहोल एकाएक बदलियो।

सेतो सारी, रातो पोते। सिउँदोमा सिँदूर। र, अनुहारभरि नीलडाम। कठघरमा उभिएकी सीता आफ्नो पीडा पोखिरहेकी थिइन्। पुष्पा बुढाथोकी पात्रमार्फत।

कुरा सुरू हुन्छ बिहेको प्रसंगबाट। अथाह सम्पत्ति, सहरमा घर। यति भएपछि छोरीले सुख पाउँछ भन्ने बुवाआमालाई लाग्यो। त्यसकै भरमा उनीहरूले छोरीको बिहे गरिदिए। तर, बिहेपछि पुष्पाको जीवन आफ्नो रहेन।

खाइरहेको जागिर छोडिन्। जसले सबैको कुराको लागि श्रीमानमै निर्भर हुनुपर्‍यो। घरको चारकुनाभित्रै कैदीसरह भइन्। श्रीमान बेलैमा घर आऊन्, पकाएको खाना खाइदिऊन् र, आफूसँग मिठो बोलिदिऊन्। बस यत्ति चाह थियो पुष्पाको।

तर, बदलामा उनले श्रीमानबाट पाइन् कुटाइ र अपमान। त्यसैले त उनी पीडा कोट्याउँदै भनिरहेकी थिइन्, ‘बिहेअगाडि भोको पार्दिनँ भन्थे श्रीमान्। भोको पर्छु भन्ने कहिल्यै लागेन। बरु बोरामा पोको पर्छु कि भन्ने डर हुँदै गयो।’  

उनको त्यस प्रस्तुति धेरैको भोगाइसँग मिल्दोजुल्दो छ। किनकि अहिले पनि अनेक बहानामा धेरै महिलाले घरेलु हिंसाको सिकार भइरहेका छन्। जसको शरिरभरि हप्केलादेखि पेटी र जुत्ताको छाप बसेको छ। तर, सम्बन्ध जोगाउन उनीहरू चुपचाप आँसु बगाइरहेका छन्।

श्रीमानको भने पारा त्यही। सुध्रिने त कहाँ हो कहाँ। झन् उल्टै हिंसामाथि हिंसा। त्यही तितो यथार्थलाई स्टेजमा पोखिरहेकी थिइन् सीता। त्यो सुनेर हाँसिरहेका दर्शक एकाएक भावुक बनेका थिए।

प्रायजसो सीताका प्रस्तुतिमा सामाजिक विषयवस्तु भेटिन्छन्। यसपटक उनको प्रस्तुति महिला हिंसामा केन्द्रित थियो। जसमा पीडा मात्रै होइन, सशक्तीकरणका कुरा अटाएका थिए। बुवाआमाप्रतिको सन्देश पनि मिसिएको थियो।

एक संवादमा सीता भन्छिन्, ‘फेर्नुहोस्, छोरी अन्माउने बेलामा ज्वाइँको हात समातेर मारे पाप, पाले पुण्य होइन बाबा। ज्वाइसाब, छोरी हँसायौँ भने ढोग दिन्छु, रुवायौ भने जहाँ देख्यो त्यहीँ ठोक्दिन्छु।’

यो संवादमा दर्शकदीर्घामा तालीको गडगडाहट सुनिएको थियो।

सम्बन्ध जोगाउँदा जोगाउँदै आफूलाई जोगाउन बिर्सिने महिलाहरूलाई यस प्रस्तुतिले प्रतिनिधित्व गरेको थियो। त्यस्तो सम्बन्धबाट निस्किएर आफ्नो लागि बाँच्नुपर्ने त्यस प्रहसनको सन्देश थियो।

अन्तिममा सीता बोलिन्, ‘अब पुग्यो श्रीमान्। दिनदिनै सिटामोल खाएर बचाएको सम्बन्धको मोल हुन्छ र? आजसम्म प्रत्येक तीजमा उनको आयु लामो होस् भनेर उनको गोडाको पानी खाएँ। आजबाट म आफ्नो गोडाको पानी खान चाहन्छु, म मेरो आयु लामो बनाउन चाहन्छु।’

यसपटक पनि गाईजात्राको सुरुवात बालकलाकार युमी गौतमको प्रस्तुतिबाट गरिएको थियो। स्कुल पढ्दा झोलाका भारीले थिचिएको विद्यार्थीको पीडालाई उनको प्रस्तुतिले उठान गरेको थियो।

मनोज गजुरेल भने यसपटक दुई फरक अवतारमा देखा परेका थिए। साइबर गुरुदेखि बिचौलिया अवतारमार्फत उनले समसामयिक विषयवस्तुमाथि प्रहार गरे। सामाजिक सञ्जालको दुरुपयोगदेखि राजनीतिमा बिचौलियाको हस्तक्षेपलाई प्रधानमन्त्रीको बेडरूम शीर्षकमार्फत दुरुस्तै उतारेका थिए। शैलेन्द्र सिम्खडाले पनि नेता र वर्तमान राजनीति पद्धतिप्रति तिखो व्यङ्ग्य गरे। 

त्यसैगरी, युवा पुस्ताका कमेडियन सुमन कार्की र मेक्सम गौडेलको प्रस्तुतिले गाईजात्रालाई अझै रमाइलो बनाएको थियो। उनीहरूको प्रहसनमा पूर्वगृहमन्त्री रवि लामिछाने र दुर्गा प्रसाईंबीचको जेल संवादलाई प्रस्तुत गरिएको थियो। उनीहरूप्रतिको व्यङ्ग्य सुनेर दर्शकहरू बेस्सरी हाँसिरहेका थिए। सुबोध गौतमले पनि शीर्ष नेतालाई व्यङ्ग्य गर्न बाँकी छोडेनन्। राजनीतिक विषयलाई टपक्क टिप्दै उनले दर्शक हँसाए।

त्यसैगरी, यसपटकको गाईजात्रामा लोकदोहोरी गायक पशुपति शर्मादेखि कवि नवराज पराजुली समेत गुञ्जिए। त्यसैगरी, गाईजात्रामा अभिनेत्री प्रियंका कार्कीदेखि गायिका एलिना चौहानसम्मका कुरा अटाए। प्रभात लामाले होस्टसँगै कमेडी प्रस्तुति दिएका थिए।

साथै गाईजात्रामा चक्र दवाडी, प्रकृति गिरी, श्रेया सुवेदी, आशिष खनाल, सन्देश सुवेदी लगायतको समेत प्रस्तुति रहेको थियो। यसवर्षको गाईजात्रा सोमबार रातिसम्म चल्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad