भक्तपुरकाे मध्यपुरथिमि नगरपालिका-८ र ९ बोदेको ऐतिहासिक एवम् धार्मिक महत्वको तान्त्रिकविधि विधानयुक्त मल्लकालीन निलबाराही द्यो प्याखँ अर्थात् निलबाराही गणनाच आज रातिदेखि सुरु हुने भएको छ। गाईजात्राको भोलिपल्ट अर्थात भाद्र कृष्ण द्वितिया देखि पञ्चमीसम्म चार रात, चारदिन प्रदर्शन गरिने यो प्याखँ बोदेको नारायणथान लाछीबाट सुरु हुन्छ।
बोदे द्यो प्याखँलेसमेत परिचित यो नाचको देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार, द्धारपाल दुई र गणेश चार गरी १९ जनाको समूह हुन्छ । देवगणका जोकल (सहयोगी) र बाद्यबाधक गरी सय जना भन्दाबढी व्यक्ति यो नाचमा क्रियाशील हुने गुठी एवम् देवगणका नाईके प्रेमचन्द्र अदुवा श्रेष्ठले जानकारी दिए। यसवर्ष निलबाराही द्यो प्याखँमा नयाँ सदस्यको आगमन भएको छ। श्रेष्ठका अनुसार ऐतिहासिक निलबाराही गणनाचको दोस्रो सिन्द्यो भगवान राजकुमार पाँ को निधनपछि उनको नाति साहिल पाँ दोस्रो सिन्द्यो बन्ने भएको छ।
यस्तै छोराकाजी घों श्रेष्ठ दाँयादेवी र धनभाजु किला श्रेष्ठ बाँया देवी धाः बाजाको गुरुको रुपमा बढुवा भएका छन् । निलबाराही द्यो प्याखँ तान्त्रिकविधि विधानयुक्त नाच हो।
यसमा कठिन विधि विधान रहेको श्रेष्ठले बताए। ‘यो नाचमा देवता बनेर नाच्ने व्यक्ति नाच्नको लागि घरबाट निस्केदेखि कसैसँग बोल्न नहुने, हावाहुरी र ठूलै पानी परे पनि कतै ओत लाग्न नहुने, घामपानीबाट बच्न छाता ओढ्न नहुने, तीर्खा लागे पानी पिउन नहुने, थकाइ लागे कहींँकतै बस्न नहुने र बस्नै भर्ने भए जोकलको तिघ्रामा मात्र आसन लगाएर बस्नुपर्ने, दैनिक १४-१५ घण्टा थकाइ नभनी नाच्नुपर्ने विधान छ,’ उनले भने।
यो प्याखँ बोदेको लायकु छें, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंँसी टोल, निलबाराही स्थान हुँदै पुनः नारायणथानमा प्रदर्शन गरिन्छ । नाचमा धाँ बाजा, भुस्या, काँय, पोँगा बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगणहरु नाच्ने गुठीका नाइके श्रेष्ठले बताए। यो प्याखँमा एक पटक देवता बनेपछि उनको मृत्यु नभएसम्म उनको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान रहेको छ।
‘देवता बनेको व्यक्ति भागेमा, विदेश गएमा, बिरामी भएमा उनको मुकुण्डो देव घरमा राखेर पूजा गरी राख्ने तर उसको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान छ,’ श्रेष्ठले भने।
यो प्याखँ कहिलेदेखि सुरु भएको भन्नेबारे एकीन प्रमाण फेला परेको छैन । तर भक्तपुरको नवदुर्गा नाचसँगै निलबाराही नाच सुरु भएको स्थानीय वृद्धा बताउँछन्। प्रचलित किंबदन्ती अनुसार परापूर्वकालमा बोदेका स्थानीय धों श्रेष्ठको परिवार ‘चुलिचा’ भन्ने ठाउँमा रहेको खेतमा काम गरिरहेका थिए। उक्त परिवारका सदस्य अचानक हराउँछन । उनी हराएपछि स्थानीयहरुले धेरै खोजी गरेपनि फेला पर्दैन । तर हराएको केही दिनमा उनीहरु आफैं घर आइपुग्छन्।
निलबाराही द्यो प्याखँको प्रचलित कथन अनुसार खेतमा काम गरिरहेको बेला खाजा खाने समयमा खाजाको भाग लगाए । तर तीन जनाको लागि भाग लगाउँदा चार भाग हुन जान्थ्यो। यो भएन भनेर दुई भाग लगाए तर एक जनालाइ भाग नपुग्ने हुन्थ्यो। फेरि तीन भाग मात्रै लगाउँछन् तर चार भाग बन्न पुग्थ्यो।
यस्तो घटना भएपछि तिनै जनाले डराएर यहाँ भूतप्रेत पो छन् कि भनी भगवान पुकारा गरे । त्यसपछि निलबाराही माता स्वयम् प्रकट भई ‘यो मैले गरेको हुँ। तिमिहरुलाई निलबाराही नाच सिकाउँछु। यो नाच तीन दिन चार रात नचाउनुपर्छ’ भनी निलबाराही देवीलेसँगै लिएर गए। निलबाराही देवीले निलबाराही जङ्गलको गःख्योमा चार रातसम्म यो निलबाराहीको नाच सिकाइ पुनः खेतमा नै पुर्याएको कथन पाइन्छ।
निलबाराही स्वयम् मनुष्यको रुप धारण गरी सिकाएको विश्वास रहेको यो नाचको लागि आवश्यक सामान र बाजागाजासमेत देवी स्वय्मले नै बनाएर पठाएको विश्वाससमेत रहेको छ । यसको प्रमाणको रुपमा भैरवले लगाउने तामाको माला रहेको छ, जुन माला त्यही धों श्रेष्ठको घरमा गएर लिन जानुपर्ने र नाच सकेपछि पु¥याउन जानुपर्ने प्रचलन आज पनि रहेको छ।
यो प्याखँमा देवगणका देवताहरुले आफ्नो सम्पूर्ण खर्च आफू स्वयम्ले नै व्यर्होनु पर्दछ । गुठी नाइके अदुवा श्रेष्ठले भने, ‘देवतालाई चढाएको भेटी गुठीको कोषमा जम्मा हुन्छ । गुठीमा करिब पाँच रोपनी जग्गा छ, त्यसैको बालीबाट यो नाचको तयारी गरिन्छ।’
उनका अनुसार भेटीबाट सङ्कलन भएको रकमले अन्तिम दिन सामूहिक रुपमा भोज खाने गरिन्छ। निलबाराही द्यो प्याखँ मल्लकालदेखि अटुट रुपमा चल्दै आएको नाच हो । कतिपय गणनाच लोप भइसकेका छन् र लोप हुने अवस्थामा पुगेको छ । मध्यपुर थिमिकै नगदेशमा महाकाली, भैरव, अष्टमात्रिका, थिमिको लाय्कू भैलः, थिमि भैलः, थिमि महाकालीलगायतका गणनाचहरुको प्रदर्शन नियमित छैन । तर बोदेको निलबाराही द्यो प्याखँ अटुटरुपमा सञ्चालन हुँदैं आइरहेको अदुवा श्रेष्ठले बताए।
पछिल्लो समय यो प्याखँको संरक्षणका लागि मध्यपुर थिमि नगरपालिकाले आवश्यक सहयोग गर्दै आइरहेको छ। निलबाराही द्यो प्याखँको निरन्तरताको लागि आवश्यकता अनुसार विभिन्न बाजागाजा र आर्थिकरुपमा सहयोग गर्दै आइरहेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए। रासस
Shares

प्रतिक्रिया