साउन २३ गतेबाट प्रदर्शन हुने फिल्म ‘सिटामोल’को गीत ‘रातो पछ्यौरी’ सार्वजनिक भएको छ। सिनेमाको आक्रामक प्रचार जारी रहेका बेला निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर सुन्न सकिन्छ। बाबुल गिरीले शब्द, संगीत तथा एरेञ्ज रहेको गीतले नेपाली मौलिकता झल्काउने र सिनेमाको कथा भावलाई थप सशक्त बनाउने प्रयास गरेको छ।
राजबहादुर साने निर्देशित सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डीसीको अभिनय छ। श्रीकृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन्।
तुल्सी देवी फिल्म प्रालिले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भूगोल कुमार कार्की र विकाश राज जोशी निर्माता हुन्।
Shares

प्रतिक्रिया