गत असोज १४ गते काठमाडौंमा प्रसिद्ध गीतकार तथा गायक गणेश रसिक (गणेशप्रसाद राई) को नाममा सङ्ग्रहित ‘गणेश रसिकः अभ्यर्थना ग्रन्थ’ सार्वजनिक गरिएको थियो। सो ग्रन्थको लोकार्पण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।
भोजपुरे समाज काठमाडौंद्वारा आयोजित कार्यक्रममा विभिन्न ३० वटा संस्थाले रसिकको अभिनन्दन पनि गरे। कार्यक्रममा बोल्दै रसिकले सम्मान सम्हाल्न गाह्रो भएको बताएका थिए।
उनले भनेका थिए, ‘कहाँ राखुँ मैले यो सम्मान? कहाँ राखुँ यो इज्जत? मलाई बोक्न गाह्रो भयो।’
क्यान्सरबाट पीडित उनी बोल्दाबोल्दै भक्कानिए। एकछिनपछि रोकिएर उनले थपे, ‘बाँचे फेरि भेटौला, मरे त जीवन सकिहाल्छ।’
उनले भनेझैँ गत आइतबार गणेश रसिक सधैंका लागि अस्ताइसकेका छन्। मङ्गलबार पशुपतिमा अन्येष्टि गरिएका उनको भौतिक शरीर आजदेखि हामीमाझ छैन।
अत्येष्टिअघि उनको शवमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय झन्डा ओढाएका थिए। साथै संगीतकार संघ नेपालले गीत गाउँदै सम्मान दिएको थियो। संघले उनको चर्चित गीत यो नेपाली ठिटो गाउँदै श्रद्धाञ्जली दिएको थियो।
नयाँ कार्यकाल सुरु गर्न नपाउँदै अग्रज स्रष्टा गुमाउँदा निकै दु:ख लागेको संगीतकार संघ नेपालका अध्यक्ष बनेका अष्ट लामाले बताउँछन्।
हुन पनि नेपालको कला, साहित्य र संगीतमा रसिकले पुर्याएको योगदान कम छैन। आफू नरहे पनि उनी आफ्ना तमाम सिर्जनामार्फत नेपालीमाझ बाँचिरहने छन्। उनको एक चर्चित गीत छ:
नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर
कहाली लाग्दो अक्करको भीरमा सासलाई रोकेर
के गरी तर्नु पिखुवाको बाइसै जँघार
आत्तिएर मन रुन्छ कठै घरलाई सम्झेर
परिवारको जेठो सन्तानको रुपमा जन्मेका गणेशले जीवनमा विभिन्न वियोगहरु भोग्नुपर्यो। क्यान्सरकै कारण सानै उमेरमा आमा गुमाए। त्यसमाथि तीनजना भाइको दर्दनाक मृत्यु। बुढेसकालको सहारा मानेको छोराको ३२ वर्षमै देहान्त। र, केही वर्षअघि जीवनसाथी पनि गुमाए। केहीवर्षदेखि क्यान्सरबाट पीडित उनी आफ्नै गीतले भनेजस्तै जीवन बाँचिरहेका थिए।
वियोगका गीत मात्रै होइन, देशभक्ति र प्रेमिल गीत सिर्जना गर्न समेत खप्पिस थिए उनी। रसिकको अर्को गीत पनि निकै लोकप्रिय छ।
धेरै सम्झे धेरै हुन्छ,
थोरै सम्झे थोरै हुन्छ
नसम्झेमा केही पनि छैन,
तिमीलाई देको मेरो माया
धेरै सम्झे धेरै हुन्छ
गीतसंगीतका माध्यमबाट मात्रै होइन् उनका पुस्तक पनि चर्चित छन्। उनले लेखेका क्षितिजलाई छुन खोज्दा, एउटा सारंगी छुन खोज्दा, आकाशगंगाको ओतमुनि, जब सिस्नुहरू टेक्दै हिँडे, रसिकका गीतहरू, दशगजामा उभिएर हेर्दा, पेरुङ्गो संस्करण लगायतका कृतिहरु प्रकाशित छन्।
साथै रसिकले नेपालका कला तथा सांस्कृतिक क्षेत्रसँग सम्बन्धित थुप्रै संस्थाको नेतृत्व समेत गरिसकेका छन्। रत्न रेकर्डिङ संस्थानको महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सदस्य सचिव जस्ता प्राज्ञिक संस्थानहरूको जिम्मेवारी सम्हालिसकेका छन्।
उनको निधनप्रति गायक तथा गीतकार हिरण्य भोजपुरेले दु:ख व्यक्त गरेका छन्। छ महिना मन्जुल, रायन, रामेश र नोरेमसँग राल्फामा बसेपछि छुट्टिएर रसिकले भोजपुरेसँग मिलेर लेकाली समूह गठन गरेका थिए। जसको प्रमुख थिए: रसिक र भोजपुरे।
रातो भाले क्वायँ क्वायँ, नखेल्नू जुवा तास, त्यो माथिबाट, खोलातिर नाचेर लगायत दर्जनौं गीत सिर्जना गरेका उनीहरु कार्यक्रमका लागि गाउँ गाउँ पुगेका थिए। रसिक र भोजपुरेले पाँच दशकभन्दा लामो समय लेकाली समूह चलाएका थिए।
उनले लेखेका छन्, ‘गणेश रसिक गएछन्। अरु जानेहरू गए जसरी गए। दैवले उनलाई हुनी दुःख दिएनन्। अब त दैवले पनि उनलाई दुखाउन सक्दैनन्।’
हाल अमेरिका बस्दै आएका भोजपुरे थपेका छन्, ‘उनले लेकालीलाई चुलीतिर पुर्याउन कम कसरत गरेका होइनन्। उनले लेकालीहरूलाई उचाले। लेकालीहरूले उनलाई अग्लो बनाए। साहित्य, स्वर र संगीतका कलकल निनाद गणेश रसिक। तिमी सर्वदा बfडुली बनेर हाम्रो मनमा बिम्झिरहने छौ। ६० वर्षभन्दा लामो हाम्रो आत्मियता अब त तुस बनेर भित्रभित्र बल्झिरहने भो।’
नेपाली कला, साहित्यका अन्य स्रष्टाले उनलाई यसरी सम्झिए:
अरुलाई सुख दिन खोज्ने मान्छे : मन्जुल नेपाल
गणेश रसिक बितेको खबर सुन्दा सपनाजस्तो लागिरहेको छ। उसँग बिताएका पलहरु याद आइरहेको छ। गणेश मेरो बच्चैदेखिको साथी हो। भोजपुर एकै ठाउँ घर भएकाले हामीले एउटै स्कुलबाट उच्चशिक्षाको अध्ययन पूरा गरेका थियौं।
ऊ पहिल्यैदेखि मेरो घनिष्ठ साथी हो। काठमाडौं आएपछि पनि हामी एउटै डेरामा बसेका थियौं। गणेश निकै मिलनसार र अरुलाई सुख दिन खोज्ने व्यक्ति थियो।
हामीले राल्फा समूह खोलेका थियौं। सुरुवाती खालमा गणेश पनि जोडिएको थियो। जसबाट हामीले सँगै गीतहरु गाउँथ्यौँ। पछि गणेश लेकाली समूहमा गए। फरकफरक समूहमा भए पनि पिकनिक जाँदा उसले जहिल्यै बोलाउँथ्यो।
धेरैपछि मैले ऊ बिरामी भएको थाहा पाएँ। आफू पनि बिरामी भएकाले उसको दु:खमा सँगै हुन पाइनँ। अन्तिमपटक कहिले भेटेको ठ्याक्कै त याद छैन। तर, हामी दुवै बिरामी थियौं। सरकारबाट मद्दत मागेर भएपनि उपचार गरौं भन्ने कुरा भएको थियो। पहल गरेका थियौं तर त्यस्तो केही भएन।
मेरो घनिष्ठ साथी छुटेर गयो। जोसँग म निकै मिल्थेँ। संगीतमा पनि क्षति भयो। उसका सिर्जनाहरु देशका सम्पत्ति हुन्। जसलाई सुनेर हामी गर्वाअनुभूति गर्न सक्छौं।

पछिल्लोचोटि भेट्दा निराश हुनुहुन्थ्यो : वसन्त मुकारुङ
उहाँ चाहिँ संगीतक्षेत्रको धरोहर हुनुहुन्थ्यो। लेखन, साहित्य, संगीत र गायन सबैमा अब्बल हुनुहुन्थ्यो। उहाँ हामीभन्दा सिनियर मान्छे। म उहाँहरुकै बाटो पहिल्याउँदै र आशीर्वाद लिँदै हिडेको हुँ। बेलाबेला उहाँले मलाई सुझाव पनि दिनुहुन्थ्यो।
नेपाली गीत संगीतमा त्यतिको योगदान दिने मान्छे कमै हुन्छन्। लेखन, साहित्य, गीतसंगीत र गायन चारवटा विधामा एकजनाले सक्ने कमै हुन्छन्।
हामी नातेदार पनि हौँ, साइनोले उहाँ दाइ पर्नुहुन्छ। जसकारण उहाँसँग धेरैअगाडिको चिनजान हो। उहाँको निधनले नेपाली गीतसंगीतले ठूलो क्षति बेहोर्नुपरेको छ। उहाँजस्तो त्यो लेबल र हाइटको मान्छे पाउन धेरै समय लाग्छ।
उहाँहरु जम्मा चारजना दाजुभाइ हो। सबै बित्नुभयो। उहाँ मात्रै बाँकी हुनुहुन्थ्यो। छोरा र श्रीमती पनि बित्नुभयो। अब एकजना छोरी हुनुहुन्छ।
क्यान्सर भएको त छ/सात वर्ष भइसक्यो होला। अस्ति मात्रै म घरमा पनि भेट्न गएको थिएँ। उहाँ एकदम निराश सुनिनुहुन्थ्यो। दिमाग पनि एकदम डल भइसक्यो भन्ने कुरा गर्नुहुन्थ्यो। अब यति हो। बिरामी कहिलेसम्म झेलेर बस्नु पर्ने हो। यस्तै हो जिन्दगी भन्ने कुराहरु हुन्थ्यो।
सँगै थुप्रै काम गरेका थियौँ : शम्भुजित बाँस्कोटा
उहाँसँग चिनजान भएको चार दशक नै भयो। उहाँ अत्यन्तै क्रियटिभ मान्छे हुनुहुन्थ्यो। सरल र धेरै सहयोगी हुनुहुन्थ्यो। उहाँ धेरै गीत र सिर्जनाको स्रष्टा हो। उहाँले देशलाई अनगिन्ती सिर्जनाहरु छोडेर जानुभएको छ। उहाँले आफ्ना समकालीन साथीहरुसँग मिलेर थुप्रै गीतहरु गर्नुभएको छ।
पहिल्यैदेखि हाम्रो भेटघाट भइरहन्थ्यो। हामीबीच भाइचाराको राम्रो सम्बन्ध थियो। आठ वर्षअघि संगीत नाट्य एकेडेमीमा हामी चारवर्ष सँगै काम गर्यौं। गम्भीर र राम्रो विषयहरुलाई लिएर हामीले एउटै टिममा बसेर धेरै कामहरु गरेका छौं।
अनि नाचघरमा पनि उहाँ कार्यरत हुँदा बेलुका साँझ उहाँ आफ्ना समकालीन सूर्य राई, नवीनकिशोर राईसँगसँगै गाउनुहुन्थ्यो। नाचघरमा मैले पनि केही समय काम गरेको थिएँ। त्यसबेला पनि एउटै रंगमञ्चलाई हामीले सेयर पनि गरेका थियौं। मैले उहाँकै बेलामा नारायण गोपालको दुइटा गाना रेकर्ड गरेको थिएँ। पर्खी बसेँ आउँछौ भनी र तिमीले भनेका सारा दीप छोएर। उहाँ जनरल म्यानेजर हुँदा। मैले रेकर्ड गराएको गानामा मेरो पनि रेकर्ड भएको थियो। उहाँको गीत र संगीत अत्यन्तै मौलिक र लोकभाकाका हुन्थे। उहाँले राष्ट्रिय र देशप्रेम गीत पनि निकै गर्नुभएको छ।
उहाँ जानुभयो भन्दा निकै मिस गरेका छौ। पछिल्लोपटक उहाँसँग लगभग आठ/नौ महिनाअगाडि भेट भएको थियो। बिरामी भएपछि मैले उहाँलाई भेटेको पनि छु। उहाँसँग जुन सम्बन्ध थियो, उहाँसँग जति काम गरियो, भेटघाट गरियो, अत्यन्त सौहार्द्रपूर्ण भयो। उहाँ अत्यन्तै असल व्यक्तित्त्व हुनुहुन्थ्यो। उहाँले गरेका सिर्जना र कृतिहरू राष्ट्रको लागि विशेष छ।
म पनि आफैं शब्द कोर्ने र उहाँ पनि कोर्ने। जसकारण उहाँको रचना र संगीतमा काम गर्न पाइनँ।
उहाँ जब रोगले ग्रस्त हुनुभयो, उहाँले अलिअलि रोगको बारेमा बताउनुहुन्थ्यो। तर, पनि उहाँ त्यसलाई आफ्नै किसिमले हिम्मतले काम गर्नुहुन्थ्यो। खानपिनमा निकै सौखिन हुनुहुन्थ्यो।
Shares

प्रतिक्रिया