कला


‘उर्फ दारासिङ’: अन्यायमा परेको मिथकीय पात्रलाई नाटकमार्फत न्याय दिने प्रयास

‘उर्फ दारासिङ’: अन्यायमा परेको मिथकीय पात्रलाई नाटकमार्फत न्याय दिने प्रयास

लक्ष्मी बलायर
जेठ ५, २०८२ सोमबार १४:५१, काठमाडौँ

दुई वर्षअघि चेतन आङथुपोको निर्देशनमा नाटक ‘झोडा’ मञ्चन भयो। त्यो पहाडबाट झरेर तराईमा झोडा फाँडेर बस्ने जनजातति समुदायको कथा थियो। सरकारको ऐन, कानुन र राजनीतिक दबाबले भोग्नुपरेको झोडाबासीको सास्ती नाटकले समेटेको थियो।

यस नाटकबाट निर्देशक आङथुपोले निकै चर्चा पाए। तर, चर्चासँगै उनलाई धेरैबाट एक साझा प्रश्न आउन थाल्यो: नाटकमा दारासिङलाई किन छुटाएको?

दारासिङ जसको झोडासँग प्रत्यक्ष सम्बन्ध थियो। धेरैले दारासिङबारे सोधेपछि चेतनलाई पनि यस विषयमा चासो लाग्यो।

दारासिङ अर्थात् कर्णबहादुर केरुङ लिम्बू। जो विसं २००४ सालमा पाँचथरको फालेलुङ जन्मे, हुर्के। केहीवर्षपछि परिवारसहित इलामको चुलाचुली झरे। पछि उनको बसोबास झापाको मुजुरभिटामा थियो।

त्यतिबेला देशमा पञ्चायती व्यवस्था थियो। त्यस व्यवस्थाले सिर्जना गरेको एकदमै खलनायक र नकारात्मक पात्र थियो दारासिङ।

के साँच्चै अरुले भनेजस्तै दारासिङ खलनायक थिए त?  त्यही भाष्य चिर्न यो नाटक भनिएको सुनाउँछन् निर्देशक आङथुपो।

‘यस नाटकमा हामीले २०२८ देखि २०३७ सम्मको कथा भनेका छौँ। त्यो बेला पञ्चायत व्यवस्थाले व्यवस्थाले निर्माण गरेको दारासिङको वास्तविक कथा भन्नुपर्छ वा उसले त्यो कालखण्डमा बाँचेको जिन्दगीलाई सिर्जनाको माध्यमबाट न्याय दिन सकिन्छ कि भनेर यो कथा ल्याएका हौँ,’ उनले भने।

उनका अनुसार समयसँगै व्यवस्था परिवर्तन हुँदै जान्छ। दारासिङ जस्ता चरित्रहरू अहिले पनि नेपाली समाजमा एकदमै धेरै छन्। र, हरेक पटक दारासिङ जन्मिरहन्छन् भन्ने चिजको लागि पनि यो नाटक भन्नुपर्छ लागेको उनको भनाइ छ।

भन्छन्, ‘दारासिङजस्तो पात्र नेपाली राजनीतिक सत्ता र गलत नेतृत्त्वका कारण नयाँ पुस्ताहरूमा हरेक पटक जन्मिरहन्छ। जसले आफूलाई महसुस नगरेको हुनसक्छ।’

कर्णबहादुर केरुङको कथा सबैले थाहा पाउनुपर्छ भनेर आफूहरू विगत एकवर्षपछि निर्माणमा जुटेको सुनाउँछन् उनी। लेखक सुमन लिङ्देनसँगै निर्देशक स्वयंले वास्तविक पात्रको अनुसन्धान गरेका थिए। दारासिङको पृष्ठभूमि खोतल्दै जाँदा भनिएभन्दा फरक पाएको उनको अनुभव छ।  

‘यो कथा वास्तविक पात्रको अनुसन्धान गरेर निर्माण गरिएको हो। पञ्चायत व्यवस्थामा जन्माएको पात्र दारासिङ, जो एउटा मिथक पात्र थियो। जसले बाँचेको जिन्दगी समाजलाई आतंकित पारेको भाष्य निर्माण गरिदियो,’ उनी भन्छन्, ‘कर्णबहादुर केरुङको रिसर्च गर्दा समाजले बुझेको दारासिङ जस्तो पाइएन। उसले गरेका कामहरू सबै लुकाइएछ। खलनायक बनाइएको दारासिङको भाष्य निर्माणलाई परिवर्तन गर्नुपर्छ। खास कर्णबहादुर केरुङ लिम्बूले बाँचेको जीवन प्रस्तुत गर्नुपर्छ लाग्यो। एउटा कालखण्डमा साह्रै अन्याय भएको पात्र हो। अब यसलाई अलिकति न्याय कलाक्षेत्रबाट गर्नुपर्छ जस्तो लाग्यो।’

उनका अनुसार यो विषय राजनीतिसँग पनि जोडिएको भएर गहिरो रिसर्च गरिएको थियो। उनको जन्मथलो पुगेर बाल्यकाल र बाँचेको समयबारे बुझेको उनको भनाइ छ।

‘अवस्था बुझ्दै जाँदाखेरी उहाँ यति इनोसेन्ट हुनुहुँदोरहेछ, त्यो बेला ग्याङस्टर भएर हिँड्दा अरुले काम गर्दा पनि उहाँले अपजस पाउनुभएको रहेछ। अपजसले बाँचेको पात्र रहेछ। तर, अन्यायको विरुद्ध उठ्ने पात्र रहेछ,’ उनले भने,‘१० जनालाई सोध्दा १० खालको कुरा आउने। किनकि उनीहरू उहासँग बाँचेको मान्छे थिएनन्। सबै मिथक टेलिङ मात्रै थिए। उहाँसँग जोडिएको र उमेरको मान्छेहरूको जीवन बाँचेकाहरूसँग सोध्दा जुन कुरा भेटायौँ, त्यसलाई मात्रै नाटक भनेका छौँ। दारासिङको योगदानलाई चित्रण गरिएको छ।’

पञ्चायतकालमा राजनीतिकर्मीहरू दारासिङलाई हतियारको रूपमा प्रयोग गरेको निर्देशक आङथुपोलाई लाग्छ। जसको बुइ चढेर पञ्चायत विस्तार गरिएको थियो। तर, अन्त्यमा उनलाई हिसांत्मक र अभियुक्तजस्तो चित्रण गरियो। २०३७ सालमा तत्कालीन पञ्चायत सरकारले ल्याएको भूमि व्यवस्थापनको योजनामा झोडा, जमिन सट्टाभर्नाजस्ता राजनीतिक कोपभाजनमा परेर उनको मृत्यु भयो।  उनको मृत्यु रहस्यमय छ। आरोपितले केहीवर्ष जेल पनि भोगे पनि कसले हत्या गरेको भनेर प्रमाणित हुन सकेको छैन।

त्यही नलेखिएको दारासिङ अर्थात् कर्णबहादुर केरुङ पात्रको कथा नाटक ‘उर्फ दाह्रासिङ’ ले भन्छ। थापागाउँस्थित मण्डला थिएटरमा चलिरहेको यस नाटकमा आकाश सुहाङ दारासिङको भूमिकामा छन।

आकाशसहित नाटकमा अञ्जना राई, प्रवीण मगर, लहना राई, दावा शेर्पा, मनकुमार योङहाङ, सम्पदा थुलुङ, मनिक शंकर, प्रविन भण्डारी, युगल लिम्बू, मनि के राई, प्रविण भण्डारी, सञ्जित थुलुङ, अजय लामा, पवन गोले, उज्जल राई, युगल श्रेष्ठ लगायतको अभिनय छ। चुलाचुली रंगमञ्चको प्रस्तुति र एक थिएटरको सहकार्य रहेको नाटक जेठ ११ सम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad