कला


यस्तो छ सहकारी ठगीको कथा भन्ने ‘महाभोज’को ट्रेलर

यस्तो छ सहकारी ठगीको कथा भन्ने ‘महाभोज’को ट्रेलर

नेपालखबर
जेठ ४, २०८२ आइतबार १५:१७, काठमाडौँ

जेठ १५ गतेबाट रिलिज हुने फिल्म ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार काठमाडौंको क्युएफएक्स सिनेमा–राइजिङ मलमा आयोजित ट्रेलरले सहकारी संस्थागत प्रणालीमा जकडिएका पीडितहरूको मार्मिक कथा उठाएको छ।

ट्रेलरमा मुख्य पात्र दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला प्रमुख भूमिकामा चित्रित छन्।

ट्रेलरका बीचबीचमा सहकारीमा जम्मा गरेको रकम नपाएर औषधि मात्र होइन, ज्यान नै गुमाउन पुगेका आम मानिसको त्रासदी, जागिरे कर्मचारीको मनोवेदना र राजनीतिकरूपले चलखेल गर्नेहरूको दम्भ झल्किन्छ।

आफूले दैनिक जम्मा गरेको रकमको कारण मृत्युमा समेत परिणत भएको विपन्न सदस्यहरूको दृश्यले सामाजिक असमानताको गम्भीर रूप प्रकट गर्दछ। सहकारी संस्थामा पहुँच राख्नेहरूले आफ्नो पदको फाइदा उठाउँदै कसरी सर्वसाधारणको रकमलाई निजी विलासी जीवनमा प्रयोग गर्छन् भन्ने कथानकलाई ट्रेलरले साहसिक रूपमा उजागर गरेको छ।

ट्रेलरको अन्त्यतिर भित्तामा ‘सत्य कहिल्यै लुक्दैन’ लेखिएको दृश्यले चलचित्रले वास्तविक सत्यको खोजी गर्न प्रतिबद्ध देखिएको छ। केही दिनअघि चलचित्रका सबै कलाकारले आफ्नो सामाजिक सञ्जालमा एउटै स्ट्याटस ‘सत्य कहिल्यै लुक्दैन’ पोस्ट गरी उत्सुकता फैलाएका थिए।

निर्देशक दिनेश राउतले समारोहलाई सम्बोधन गर्दै भने, ‘समाजमा सहकारीको रकम मिसयुज हुने घटनाहरू पछिल्लो समय मात्र बढेका होइनन्। अहिलेको समयमा यो विषय तातेको भएर मात्र पनि यो कथालाई पर्दामा उतार्ने प्रयोजन बनाएका होइनौँ। हाम्रो समाजका माथिल्ला स्तरका केही मानिसहरूले तल्लो स्तरका मानिसहरूलाई प्रयोग गरी कसरी आफ्नो बिलासी जीवन जिउँछन् भन्ने कथा यो चलचित्रको हो, सहकारीको कथा एक कारक मात्र हो।’

विकास सुवेदीले कथा तथा पटकथा रहेको फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad