यस वर्षको पारिजात स्मृति सम्मान विभिन्न क्षेत्रमा योगदान पुर्याएका चार स्रष्टालाई प्रदान गरिएको छ।
पारिजात स्मृति दिवसका अवसरमा पारिजात स्मृति केन्द्रले काठमाडौँमा एक समारोहको आयोजना गरी स्रष्टालाई सम्मान गरेको हो।
यस वर्षको पारिजात कला सम्मान मूर्तिकार उत्तम डङ्गोललाई प्रदान गरिएको छ। चित्रकला र मूर्तिकलाका माध्यामबाट सामाजिक रुपान्तरणको अभियानमा पुर्याएको योगदानको कदर गर्दै पारिजात स्मृति केन्द्रले उहाँलाई सम्मान गरेको हो।
लामो समयदेखि कला क्षेत्रमा सक्रिय कलाकार डङ्गोल दर्जनौँ एकल तथा संयुक्त कला प्रदर्शनीमा सहभागी भइसकेका छन्।
यस्तै केन्द्रले पारिजात बाल साहित्य सम्मान बाल साहित्यकार तेजप्रसाद श्रेष्ठ, सृजना सम्मान साहित्यकार बिना थिङ र पारिजात सङ्घर्षशील नारी सम्मानबाट डा.विन्दा पाण्डेलाई सम्मान गरेको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले नगद राशिसहित शुक्रबार उनीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन्। गत फागुन ३० गते पारिजातको जन्मजयन्तीका अवसरमा उक्त सम्मान घोषणा गरिएको थियो।
सम्मानित स्रष्टाहरूले पारिजातको नाममा सम्मान प्राप्त हुँदा खुसी लागेको र उक्त सम्मानले आफूहरूलाई थप जिम्मेवारी मिलेको अभास भएको बताए। रासस
Shares

प्रतिक्रिया