चर्चित लोक गायक पुरूषोत्तम न्यौपाने पोखरामा गुञ्जिएका छन्। स्याङजामा जन्मिएर पोखरालाई कर्मथलो बनाएका अग्रज गायक न्यौपानेले शुक्रबार पोखरामा एकल सांगीतिक साँझमा प्रस्तुति दिए।
वि।स। २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत रेकर्ड गराएर सांगीतिक यात्रा सुरू गरेका उनले एकल साँझको सुरूमा सोही गीत गाए। त्यसपछि दर्शकहरुले रूचाएका गीतहरू क्रमशः सुनाउँदै गए।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पोखरा सभागृहमा ‘एनसेल– पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१’ आयोजना गरेको हो।
यसअघि २०६६ साल चैत २२ गते पोखरा सभागृहमा न्यौपानेको सांगीतिक साँझ गरिएको थियो। सो ठाउँमा ठ्याक्कै १५ वर्षपछि गुञ्जिएका उनलाई सुन्न र उनको प्रस्तुतिमा झुम्न लोक संगीतप्रेमीको बाक्लो उपस्थिति थियो।
गायक न्यौपानेले सम्बन्धित गीतसँग जोडिएका केही कुरा राख्दै गीत प्रस्तुति दिए। उनले ढुंगेधारामा, देउरालीमा ध्वजा, झिलझिल सितारा, सररर पानी घट्टमा, रून्छ नी मन किन रूँदैन, घामजस्तो चम्किलो जुन हुँदैन, ऐना हेरेर, मिर्मीमुनी काली थुनेको आदि १८ वटा गीत लाइभ बाजामा गाए।

गायक न्यौपानेले आफूले गीतसंगीतको माध्यमबाट आन्तरिक पर्यटन प्रबद्र्धनमा समेत टेवा पुर्याएको बताए। ‘मिर्मीमुनी काली थुनेको’, ‘आँधिखोला स्याङजा बजारमा’ आदि गीत त्यसको उदाहरण भएको उनले बताए।
सांगीतिक साँझमा न्यौपानेको जीवनीबारे तयार पारिएको श्रव्यदृश्य सामाग्री देखाइएको थियो भने विभिन्न संघसंस्थाले उनलाई सम्मान समेत गरेका थिए।
१ हजारभन्दा बढी गीतमा स्वर दिएका न्यौपाने दोहोरीगीत प्रतिष्ठानका पूर्वअध्यक्ष हुन्। लामो समयदेखि सञ्चारकर्ममा समेत सक्रिय न्यौपाने रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा कार्यक्रम अधिकृतको रुपमा कार्यरत छन्।
आयोजित सांगीतिक साँझ समुद्घाटन गर्दै प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मानिसका पीर–मर्का र खुसीलाई छुने गीत नै कालजयी हुने बताए। उनले गीत–संगीतले समाज रूपान्तरणमा भूमिका खेल्ने हुनाले यसको शक्ति ठूलो रहेको बताए।
दोहोरी गीत प्रतिष्ठानले गत वर्ष काठमाडौंमा वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको सांगीतिक साँझ गरेको थियो। वर्षेनी एक अग्रज लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने प्रतिष्ठानको योजनालाई यसवर्ष पनि निरन्तरता दिँदै कार्यक्रम गरिएको प्रतिष्ठान अध्यक्ष रीता थापा मगरले बताइन्।
Shares

प्रतिक्रिया