कला


मेयर भएपछि अन्तर्वार्तासम्म नदिएका बालेन ‘लाज शरणम्’को गीत गाउन किन भए राजी?

मेयर भएपछि अन्तर्वार्तासम्म नदिएका बालेन ‘लाज शरणम्’को गीत गाउन किन भए राजी?

‘लाज शरणम्’का निर्देशक तथा लेखक कुमार कट्टेल (जिग्री ब्रो) र मेयर बालेन्द्र शाह (बालेन)


लक्ष्मी बलायर
माघ ३०, २०८१ बुधबार १०:२१, काठमाडौँ

म नेपाल हाँसेको हेर्न चाहन्छु

नेपाली खुसीले बाँचेको हेर्न चाहन्छु

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को स्वर रहेको ‘नेपाल हाँसेको’ बोलको गीत युट्युब ट्रेन्डिङमा छ। फिल्म ‘लाज शरणम्’मा समावेश यो गीत सोमबार सार्वजनिक भएको हो।

सार्वजनिक भएको केही घण्टामै यो गीत ट्रेन्डिङमा उक्लिएको थियो। गीत २४ घण्टा नपुग्दै म्युजिकतर्फको ट्रेन्डिङको शीर्षस्थानमा पुग्यो। नेपाल मात्र नभएर अरू पनि देशको ट्रेन्डिङमा पनि यही गीत छ।

र्‍यापरसमेत रहेका बालेनको स्वर, संगीत र शब्दमा गीत तयार पारिएको छ। यस गीतले नेपालको राजनीतिक र सामाजिक अवस्थालाई प्रस्तुत गरेको छ। मेयर भएपछि बालेनको यो पहिलो गीत हो। यद्यपि, उनले १० वर्षअघि नै यस गीतको अडिओ भने ल्याइसकेका थिए।

‘लाज शरणम्’ चर्चित हास्य टेलिशृंखला ‘सक्किगो नि’ टिमले बनाएको फिल्म हो।

मेयर भएपछि कुनै नेपाली सञ्चारमाध्यममा अन्तर्वार्तासम्म नदिएका बालेन फिल्म ‘लाज शरणम्’ प्रमोसन गीत गाउन कसरी तयार भए त?

मेयर बन्ने कसरतमा हुँदा बालेन आफ्नो चुनावी प्रचारमा निकै खटिएका थिए। जसका लागि उनले कुनै सञ्चार माध्यममा अन्तर्वार्ता दिन छुटाएनन्। विभिन्न कार्यक्रममा गएर आफ्नो गीति प्रस्तुतिसमेत दिए। यसैबीच उनी टेलिशृंखला ‘सक्किगो नि’को एक एपिसोडमा पनि देखिए। जुन बालेनमै केन्द्रित थियो।

त्यसै बेलादेखि बालेनसँग ‘सक्किगो नि’ को टिमसँग सम्बन्ध जोडिएको थियो। जुन सम्बन्धकै कारण  बालेनको स्वरमा गीत ल्याउन सम्भव भएको ‘लाज शरणम्’का निर्देशक तथा लेखक कुमार कट्टेल (जिग्री ब्रो) बताउँछन्।  

‘हामीले बालेन शाहलाई काठमाडौँको मेयर पदमा उम्मेदवारी दिएदेखि नै युवाले नेतृत्व गर्नुपर्छ भन्ने हिसाबले व्यक्तिगतदेखि सिरियलमार्फत सहयोग गरेका थियौँ। राम्रो युवालाई ठाउँमा पुर्‍याइयो भने परिवर्तन सम्भव छ भन्ने हिसाबले उहाँसँग जोडिएका हौँ’, उनले भने, ‘हामीले सिनेमा निर्माण गर्ने भनेदेखि उहाँले चासो पनि दिनुभएको थियो। पहिल्यैदेखि राम्रो सम्बन्ध भएकाले फिल्ममा सहकार्य सम्भव भयो। अझ यो सम्भव बनाउन हाम्रो अर्जुन घिमिरेजीको ठूलो भूमिका छ।’

अर्जुन घिमिरे

उनकै भनाइमा, पहिले सहकार्य भएकाले बालेन ‘सक्किगो नि’ टिमप्रति निकै सकरात्मक थिए। झन् सोही टिमले फिल्म बनाउने भएपछि बालेन उत्साहित नहुने कुरै भएन।

गत वैशाख-जेठताका कुमारसहित अर्जुन घिमिरे (पाँडे) गीतको प्रस्ताव लिएर मेयर बालेनकहाँ पुगेका थिए। बालेनले धेरै कुरा नसोचीकनै प्रस्ताव सहजै स्वीकारे।

कट्टेलले भने, ‘सिरियलमा काम गरिसकेपछि उहाँ हामीसँग नजिक हुनुहुन्थ्यो। उहाँ राम्रो गर्नुपर्छ र राम्रो हुनुपर्छ भन्नेमा सजग हुनुहुन्छ। हामीले सिनेमा निर्माण गर्ने र मिलेर अगाडि बढ्ने कुरामा उहाँ एकदमै उत्साहित हुनुभयो।’

हुन त यस गीतलाई बालेनले दस वर्षअघि नै अडिओमा सार्वजनिक गरेका थिए। तर, नयाँ भर्सनमा ल्याउन उनले निकै मेहनत गरेको कट्टेल सुनाउँछन्।

अर्जुन घिमिरे र कुमार कट्टेल

पारिश्रमिकचाहिँ कति पाए?

जवाफमा निर्देशक कट्टेले भने, ‘लाज शरणम् सिनेमासँग मेयर साबको एकदमै सद्‌भाव छ। त्यसैले हामीबीच यसमा आपसी समझदारी भएको छ।’

ठूलो फ्यान फलोइङ भएका र मेयरका रूपमा धेरै जनताको अपेक्षा बोकेका मेयर बालेनको स्वरमा गीत ल्याउन पाउँदा फिल्म निर्माण टोली दंग छ।

कट्टेल भन्छन्, ‘यो जनताको आवाज हो। यस गीतले वर्तमान समयमा सबै वर्ग र उमेर समूहको भाषा र आवाजलाई सम्बोधन गर्छ। गीतले अहिलेको अवस्थामा नेपालमा सबैजना हाँसेको हेर्न चाहेको छ।’

चलचित्रलाई प्रवर्धन गर्न र नेपाली चलचित्रको विस्तारमा बालेनजस्तो व्यक्ति जोडिनु निकै सकरात्मक मान्छन् उनी।

भन्छन्, ‘उहाँले यति राम्रो सिर्जना गर्नुभएको छ। व्यस्तताका बीच समय दिनुभएको छ। यस फिल्ममा जोडिनु नै ठूलो सौभाग्य हो। किनकि यसले चलचित्र प्रचारप्रसार र ब्रान्डिङमा मद्दत गर्छ। जुन हाम्रो सिनेमाबाट सुरू हुँदा निकै खुसी लागेको छ र हौसला पनि मिलेको हो।’

मेयर बालेन जोडिनु आफ्नो फिल्मका लागि मात्र नभई सिंगो चलचित्र क्षेत्रका लागि सबल पक्ष भएको उनको भनाइ छ।

उनी थप्छन्, ‘यो समग्र चलचित्र क्षेत्रको लागि नै राम्रो हो। किनभने, जनताले आशा  गरेका र समाजले पनि आइडल मानेका व्यक्ति चलचित्रमा जोडिएर ब्रान्डिङ गर्दा पक्कै पनि सिनेक्षेत्र अझ मजबुत बन्छ। चलचित्रको विषयवस्तु के छ भन्ने कुराहरू पनि जानकारी लिएपछि उहाँ जोडिनुभएको हो।’

कट्टेलका बुझाइमा, गीतसंगीतकै पृष्ठभूमिबाट आएकाले बालेनले नेपाली कलाक्षेत्रलाई निकै माया गर्छन्। काठमाडौँ महानगरले कला, संस्कृति र छायांकनको पाटोतर्फका विभिन्न कार्यक्रमसमेत योजनामा समेटेको छ।

फिल्मको प्रमोसनल गीत भए पनि यसलाई युट्युबमा भने बालेनकै च्यानलमा राखिएको छ। प्रायः फिल्मका गीत डिजिटल अधिकार लिने युट्युब च्यानलमा सार्वजनिक हुन्छन्। यस गीतको अडिओ प्लाटफर्ममा पहिल्यै आइसकेकाले बालेनकै युट्युबमा अपलोड गरिएको कट्टेलले प्रस्ट्याए।

यस गीतको चर्चाले ‘लाज शरणम्’ टिमसहित बालेन पनि निकै खुसी छन्। गीत सार्वजनिक भएपछि बालेनले खुसी व्यक्त गरेको कट्टेलले बताए।

‘उहाँ एकदमै खुसी हुनुहुन्छ। मेयर बनेपछि उहाँको यो पहिलो गीत हो। उहाँ जुन पोस्टमा भए पनि गीत-संगीतबाट टाढा त बस्न सक्नुहुन्न। उहाँकै पनि गीतसंगीतमा ग्याप भएको थियो। लामो समयपछि आउँदा एउटा सर्जक र गायकलाई यो लेभलको माया पाउँदा खुसी हुनुहुन्छ।’

यस फिल्ममा कुमार र अर्जुनसहित सीताराम कट्टेल ‘धर्मुस’, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ। जेपीटी क्रिएसनको ब्यानरमा बनेको यो फिल्म फागुन १४ गते रिलिज हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad