समाज


खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या

केही पर आरोपीको पनि शव फेला, घटना अनुसन्धान गर्दै प्रहरी
खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या

नेपालखबर
माघ ३०, २०८१ बुधबार ८:२०, काठमाडौँ

रुकुम पूर्वमा आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको छ। भूमे गाउँपालिका–४ को साकिम भन्ने ठाउँमा मंगलबार आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको अवस्थामा शव फेला परेको हो। 

घटनास्थलबाट केही पर हत्या आरोपीको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी इन्सपेक्टर हिमबहादुर केसीले जानकारी दिए। 

हिजो (मंगलबार) दिउँसो ३ बजेतिर भूमे गाउँपालिका–४ को साकिम निवासी ६० वर्षीया ढाँटी बुढा र उनका ८ महिने नाती समिरको हत्या भएको हो। 

सोही ठाउँका ५१ वर्षीय चन्द्रसिंह पुनले उनीहरूको हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन्। 

‘घर नजिकै बाटोमा सामान्य विवादको क्रममा पुनले हजुरआमा र नातीलाई एकसाथ धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन्,’ इन्सपेक्टर केसीले नेपालखबरसँग भने, ‘उनीहरुको हत्यापछि भाग्ने क्रममा आरोपी पुनको पनि भिरबाट खसेर मृत्यु भएको अवस्थामा शव फेला परेको छ। हामी घटनाको थप अनुसन्धान गर्दैछौँ।’ 

पुनको शव भिरबाट करिब २५ मिटर तल खुलखुले खोलामा खसेको अवस्थामा फेला परेको उनले बताए। ‘आरोपी भाग्ने क्रममा भिरबाट लड्दा अथवा फाल हान्दा मृत्यु भएको अनुमान हाम्रो छ,’ इन्सपेक्टर केसीले भने, ‘हजुरआमा र नातीको हत्या भएको स्थान र आरोपीको शव फेला परेको ठाउँ झण्डै तीनसय मिटरको दुरीमा छ।’

प्रत्यक्षदर्शीले प्रहरीलाई बताएअनुसार हजुरआमा ढाँटी बुढा नातीलाई पिठ्युमा बोकेर बाटोमा निस्किएको बेला पुनले खुकुरीले प्रहार गर्दा घटनास्थलमै उनीहरुको मृत्यु भएको हो। 

आरोपी पुन गाउँमा धामी, झाँक्रीको काम गर्ने व्यक्ति हुन्। पीडित परिवार र आरोपीको घर झण्डै एकसय मिटरको दुरीमा छ। दुई परिवारबीच सामान्य मनमुटावमेत रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।  

मारिने नाबालकका बुवाआमा पनि घरमै छन्। हजुरआमा र नातीको हत्या हुँदा उनीहरु घरबाहिर काममा गएका प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad