कला


छोरीका लागि अभिनेता राजबल्लभले ल्याए ‘औरा’ कविता संग्रह

छोरीका लागि अभिनेता राजबल्लभले ल्याए ‘औरा’ कविता संग्रह

नेपालखबर
माघ २०, २०८१ आइतबार १२:१५, काठमाडौँ

प्रदर्शनरत फिल्म ‘एक्टरः टेक वान’ अभिनेता राजबल्लभ कोइराला यतिखेर नेपालमा छन्। उनै कोइरालाको पहिलो कविता संग्रह ‘औरा’ सार्वजनिक गरिएको छ। 

शनिबार एक कार्यक्रमबीच कविता संग्रह सार्वजनिक गर्दै अभिनेता कोइरालाले कृति छोरीलाई उपहार स्वरुप तयार गरेको बताए।

कवि विप्लव प्रतीक, सञ्चारकर्मी दिलभुषण पाठक, निर्देशक दीपाश्री निरौला र प्रकाशक साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले पुस्तकको विमोचन गरे। 

अभिनेता कोइरालाले समारोहमा बोल्दै भने, ‘कोभिड पछाडि अचानक के महसुस भयो भने हामी जति बेला पनि यो दुनियाँमा नरहन सक्छौँ। मैले माया गर्ने छोरी औराका लागि र मलाई माया गर्ने शुभेच्छुकको सम्झनाका लागि केही छाडेर जाऊँ भन्नका लागि यो कविता संग्रह आएको हो।’ 

पाश्र्व संगीतसहित कविता वाचनको शृंखलासहित सम्पन्न कार्यक्रममा कवि विप्लव प्रतीकले अभिनेता कोइरालालाई अमेरिकाको ड्यालसमा भेटेको स्मरण गर्दै संग्रहमा रहेका कविता र आवरणको तारिफ गरेका थिए। उनले संग्रहमा रहेका केही कविताको वाचन गर्दै कविता हतारमा नभई समय लिएर पढ्ने साहित्य भएको बताएका थिए।

‘यो कवितामा १ सय ११ वटा कविता छन्। यी कवितालाई कम्तिमा यति दिन नै लगाएर पढ्नुहोस् भन्ने मेरो सुझाव छ। किनकि राजका कविता छोटा छन् तर प्रभावशाली छन्,’ उनले ठट्टा गर्दै अगाडि थपे, ‘यो दुनियाँमा कवि नै यस्तो प्राणी होला जसलाई देश, समाज, मान्छे सबको चिन्ता छ। उनका कवितामा चिन्तासँगै शिल्प र दर्शनको बेजोग संगम भेट्न सकिन्छ।’

निर्देशक दीपाश्री निरौलाले राजबल्लभ अभिनयमा मात्र नभएर कविको रुपमा पनि परिपक्व भएको प्रमाण कविता संग्रह रहेको बताउँदै चलचित्रमा निरन्तर देखिन सुझाव दिइन्।

कार्यक्रममा दिलभुषण पाठकले संग्रह भित्र समेटिएका केही कविता वाचन गर्दै कविताले समयको कथालाई दुरुस्त उतारेको टिप्पणी गरे। 

अश्विनी कोइरालाले लामो मेहनतपछि संग्रह तयार भएको जनाउँदै राजले कविता संग्रहमार्फत् साहित्यिक वृत्तमा दमदार उपस्थिति जनाएका बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad