कला


नाटकमा फिल्मस्टारको लर्को : कथाको माग कि बजारको?

नाटकमा फिल्मस्टारको लर्को : कथाको माग कि बजारको?

लक्ष्मी बलायर
माघ ५, २०८१ शनिबार ६:४१, काठमाडौँ

केही दिन अघिसम्म मण्डला थिएटरमा झण्डै एक महिना नाटक ‘हरि हजुरबा’ मञ्चन भयो। नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटकमा दर्शकहरूको बाक्लो उपस्थिति थियो।

एक त नाजिर हुसेनको रंगमञ्चमा आठ वर्षपछिको कमब्याक। त्यसमाथि अहिलेका चर्चित अभिनेता विजय बरालको अभिनय। त्यसपछि के चाहियो र? सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारंगी’ जस्तै विजयको क्रेज नाटकमा पनि देखियो।

अझ रमाइलो त के छ भने चर्चित अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ यसका निर्माता हुन्। ४ हजार बढीले हेरेको यस नाटकले २२ लाख ग्रस कलेक्सन गरेको छ।

यसअघि पनि मण्डलामा केदार श्रेष्ठको निर्देशनमा नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन भएको थियो। त्यसमा पनि फिल्ममै चलेका अनुहार कार्म र मेनुका प्रधान मुख्य भूमिकामा थिए। र, नाटकले दर्शकहरूको राम्रो साथ पाएको थियो। दर्शकहरूको मागअनुसार नाटकको मञ्चन अवधि एक साता थप गरिएको थियो।

यी त भए पछिल्ला दुई उदाहरण मात्रै। केही वर्षयता फिल्ममा मात्रै नभई नाटकमा पनि ‘स्टार’ खोजिन थालेको छ। किनकि यसअघि पनि थुप्रै फिल्मका कलाकारहरूले नाटक खेलिसकेका छन्।

कुनकुन स्टारले खेले नाटक?
२०७० सालमा महानायक राजेश हमाल पहिलोपटक नाटकमा देखिए। हिरो नहुँदै विदेशी नाटक खेलेका उनले अनुप बराल निर्देशित नाटक ‘कोर्ट मार्सल’मा अभिनय गरे। त्यतिबेला ‘कोर्ट मार्सल’ले व्यापक चर्चा पाएको थियो। त्यसैलाई पछ्याउँदै धेरै रंगकर्मीले नाटकमा फिल्म स्टारहरूलाई लिन थाले।

विमल सुवेदी पनि आफ्ना नाटकहरूमा धेरै फिल्मका स्टारहरू खेलाउने निर्देशक हुन्। २०७० सालको माघ/फागुनतिर सुवेदीको नाटक ‘चारुमती’ बाट केकी अधिकारीले पहिलोपटक स्टेजमा डेब्यु गरिन्। नेपाल-भारत सम्बन्धको ऐतिहासिक पाटोमा सत्यमोहन जोशीले लेखेको नाटक पनि निकै चलेको थियो। नाटक हेर्न राष्ट्रपति रामवरण यादवसहित राजदूत रञ्जित राय र नेताहरू झलनाथ खनाल, सूर्यबहादुर थापा,पशुपति शमशेर राणा पुगेका थिए।

त्यस्तै, सुवेदीले ‘यार्मा’ मा नम्रता श्रेष्ठलाई खेलाउँदा शेक्सपियरको नाटक ‘ह्याम्लेट’ मा मिस नेपाल सृष्टि श्रेष्ठसहित अर्पण थापालाई अभिनय गराए। उनको फिल्मी सेलेब्रिटीलाई नाटकमा खेलाउने श्रृखंला यत्तिकैमा रोकिएन।

२०७७ सालको माघतिर सुवेदीले नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’माथि नाटक बनाउने घोषणा गरे। जसमा चर्चित अभिनेत्री स्वस्तिमा खड्काले रंगमञ्चमा डेब्यु गर्ने चर्चा चलेको थियो।

डेब्यु नाटकको लागि स्वस्तिमाले रिहर्सल गरिसकेकी थिइन्। तर, कोरोनाको दोस्रो लहरबीच त्यो नाटक मञ्चन हुन सकेन। अर्कोवर्ष स्वस्तिमाले कार्यव्यस्तताले नाटकबाट हात झिकिन्। जुन नाटक अभिनेत्री सृष्टि श्रेष्ठले खेल्ने मौका पाइन्। यसैवर्ष अमेरिकामा मञ्चन भएको नाटक ‘हिटलर आउँदैछ’ बाट वर्षा राउतले रंगमञ्चमा डेब्यु गरेकी छिन्।

लेखक तथा निर्देशक घिमिरे युवराजले पनि आफ्ना नाटकमा फिल्मका कलाकारहरू खेलाइसकेका छन्। २०७५ ताका कलाकार नीर शाह पनि नाटक युवराज निर्देशित नाटक ‘बाथटब’ मा देखिए। दर्जनौँ नाटक खेलिसकेका शाह ३२ वर्षपछि रंगमञ्चमा फर्किएका थिए। कुमार नगरकोटीको लेखेको यस नाटकमा हरिहर शर्मासहित ‍भूषिता वशिष्ठको अभिनय थियो। शिल्पी थिएटरमा मञ्चन भएको यो नाटक महिना दिनसम्म चलेको थियो।  

यससहित अरु फिल्मका कलाकारहरूले पनि घिमिरे युवराजको निर्देशनमा बनेका नाटकहरू खेलिसकेका छन्। २०७८ सालमा विपिन कार्की र उषा रजकले युवराजको नाटक ‘अनुपस्थित तीन’ मा अभिनय गरेका थिए। त्यस्तै, गत वर्ष मात्रै शिल्पीमा मञ्चन भएको नाटक ‘ट्रान्जिट’ मार्फत शिल्पा मास्के पनि पहिलोपल्ट रंगमञ्चमा देखिइन्। यस नाटकमा शिल्पासहित दिव्यदेव, आकांक्षा कार्कीको पनि अभिनय थियो।  

२०७९ को मंसिरमा अभिनेता दयाहाङ राईले पनि नाटक निर्देशनमा कमब्याक गरे। उनी निर्देशित नाटक ‘कुभिण्डोको कथा’ दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भएको थियो।

गतवर्ष अभिनेत्री मलिका महतले पनि ‘पगला घोडा’ मार्फत रंगमञ्चमा डेब्यु गरिन्। त्यस्तै, अभिनेत्री सुरक्षा पन्त पनि ‘क्लेशा’ मार्फत पहिलोपल्ट नाटकमा देखिइन्। भारत रंग महोत्सवमा समेत सहभागी भएको नाटकमा सुरक्षासहित विजय बरालको पनि अभिनय थियो।

यसैवर्ष मोडल एलिसा राईले पहिलोपल्ट नाटक खेलिन्। राजन मुकारुङले लेखेको नाटक ‘बाखम्मा: मुन्दुममा मान्छे’ बाट उनले रंगमञ्चमा पाइला चालिन्।

उसो त सिनेमाका कलाकार मात्रै होइन, लेखक र साहित्यकार पनि नाटक खेल्ने गरेका छन्। पत्रकार भुषण दाहालदेखि साहित्यकार सगुना शाह र भूषिता वरिष्ठले पनि नाटक खेलिसकेका छन्।

कथा कि बजारको माग?
मेनुका र कार्म दुवै रंगमञ्च हुँदै उदाएका कलाकार हुन्। दुवैलाई सेलेब्रिटीभन्दा रंगकर्मी सोचेर ‘ढुकढुकी ७२ मेगाहर्ज’ मा कास्ट गरिएको केदारले दाबी गरे।

‘कार्म र मेनुका रंगमञ्चबाटै उदय भएका कलाकार हुन्। मैले सिनेकर्मीभन्दा रंगकर्मी भनेर नै सम्झेको हुँ। मेरो नाटकमा दुइटा मात्रै क्यारेक्टर थिए। नाटकलाई डेढ घण्टासम्म होल्ड गर्ने अनुभवी कलाकार चाहिएको थियो। पात्रलाई न्याय दिने कलाकार खोज्दा उहाँहरूलाई लिएँ। उहाँहरूले पनि चासो दिएकाले सहकार्य सम्भव भयो,’ उनले भने। 

निर्देशक अनुप बराल सिनेमाको कलाकारले रंगमन्चमा आएर काम गर्नुलाई सकारात्मक रूपमा हेर्छन्। राजेश हमाललाई स्टारडमभन्दा पनि नाटकको कथाअनुसार लिएको बरालको भनाइ छ।  

उनले भने, ‘कोर्ट मार्शलमा काम गरुँ भनेर अनुरोध गर्न जाँदा मैले कहिल्यै राजेश हमालको स्टारडम हेरेर गएको थिइनँ। उनको लिडरसिप गर्न सक्ने व्यक्तित्त्व र आवाजको स्ट्रेन्थलाई हेरेर गएको थिएँ। जुन कोर्ट मार्शल नाटकको कर्णेल रूपकसिंहको चरित्रसँग नजिक पुग्छ भन्ने लागेको थियो। यद्यपि उहाँको उपस्थितिले नाटकलाई लोकप्रिय बनाउन ठूलो मद्दत गर्‍यो।’

हमालका कारण नाटकको चर्चा भए पनि सिनेमाको कलाकार लिँदैमा नाटक राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी नहुने उनको तर्क छ।

‘पर्दामा मात्र देखिरहने कलाकारलाई दर्शकहरूले पहिलोपटक मञ्चको छेवैमा प्रत्यक्ष देख्न पाउनु गज्जबको अनुभव बन्यो। तर, यसको चर्चा हुनुमा नाटकको विषयवस्तु, प्रस्तुतीकरण, अन्य कलाकारबीचको तालमेलले अझै व्यापक चर्चामा ल्याएको हो जस्तो लाग्छ,’ उनले भने, ‘केवल चर्चा र पपुलारिटीको नाममा सिनेमाका कलाकारलाई नाटकमा लिएर आउने हो भने यसले रंगमञ्चको असली रूपलाई स्थापित गर्न कुनै मद्दत गर्दैन। फिल्म स्टारलाई रंगमञ्चमा उतार्दा केही दिनको लागि दर्शक तान्न मद्दत गर्ला तर काममा रचनात्मकता र कलात्मक एप्रोच छैन भने त्यसले खासै ठूलो अर्थ राख्दैन।’

अमेरिकामा रहेका विमल सुवेदी पनि फिल्मका कलाकार नाटकमा देखिनुलाई स्वाभाविक रूपमा लिन्छन्। नेपालमा थिएटर र सिनेमाबीच त्यति सिमाना नहुँदा रंगमञ्चमा स्टार आउनु नौलो कुरा नरहेको उनको भनाइ छ।

स्टार राख्दा रंगमञ्चलाई फाइदा कि बेफाइदा?
नाटकघर कलाकारिताको अभ्यास गर्ने थलो हो। जहाँबाट जन्मेका थुप्रै कलाकारहरू सिनेक्षेत्रमा चर्चाको शिखरमा छन्। जसमा अहिलेका चर्चित तथा व्यस्त अभिनेता दयाहाङ राईदेखि विजय बराल, विपिन कार्की, सौगात मल्ल, बुद्धि तामाङ, कार्म शाक्य, खगेन्द्र लामिछाने लगायतका कलाकारहरू पर्छन्। त्यस्तै, दिया मास्के, अरुणा कार्की, सरिता गिरी, मेनुका प्रधान, सिर्जना सुब्बा र लक्ष्मी बर्देवा लगायतका अभिनेत्रीहरू पनि रंगमञ्चकै उत्पादन हुन्। त्यसैले उनीहरू बेलाबेला रंगमञ्चमा फर्किनुलाई थिएटरप्रतिको मायाको रूपमा समेत हेरिन्छ।

रंगमञ्चबाट उदाएकाहरू नाटकमा फर्किनुलाई स्वाभाविक मान्छन् निर्देशक केदार श्रेष्ठ।

उनले भने, ‘रंगमञ्चबाट गएका कलाकार फेरि नाटकमा फर्किनु राम्रै हो। रंगमञ्चबाट सिनेमामा जान हुने तर सिनेमाकाले रंगमञ्चमा आउनै नहुने भन्ने छैन। चलेका कलाकार हुँदा ठूलो मासमा जानकारी पुर्‍याउन फाइदा भइरहेको छ। जसले धेरै मान्छेहरू आउँछन्।’

अनुप बराल पनि रंगमञ्चबाट उदाएर फिल्ममा चम्किएका कलाकारहरू फेरि फर्किनुलाई निकै सकारात्मक रूपमा लिन्छन्। यसले रंगमञ्च र सिनेमाबीच सम्बन्ध झन् बलियो बनाउने उनको बुझाइ छ।

‘फिल्ममा जतिसुकै ठूलो स्टारडम र सफलता हासिल गरे पनि उनीहरू फेरि रंगमञ्चमा फर्किरहेछन् भने यो उनीहरूको जमिनसँगको लगाव हो। यसमार्फत उनीहरू रंगमञ्चसँग मात्र जोडिँदैनन्, दर्शकको नयाँ समुदाय पनि तयार पार्छन्। रंगमञ्चलाई हेर्ने नवीन दृष्टिकोण जगाउँछन्,’ बरालले भने, ‘आफ्नो कामको एकरूपतालाई भत्काउने चुनौती स्वीकारेर नयाँनयाँ प्रयोगका लागि प्रेरणा ग्रहण गर्न सक्छन्। किनभने रंगमञ्चमा बजारको दबाब सिनेमाको भन्दा धेरै गुणा कम हुन्छ। यसले दुवै क्षेत्रलाई समृद्ध बनाउँछ। फिल्ममा काम गरिरहेका कलाकार रंगमञ्चमा काम गर्न आए भने उनीहरूको राम्रो कामलाई रंगमञ्चमा हेर्न महँगो टिकट काटेर दर्शक आउँछन्। यसले रंगकर्मीहरूको आर्थिक अवस्था उकास्न मद्दत गर्छ।’

उनका अनुसार भारतीय चर्चित अभिनेता नसीरुद्दिन शाह, रजत कपुर, रत्ना पाठक, शवाना आजमीको कामलाई हेर्न महँगो टिकट काटेर दर्शकहरू आउँछन्। त्यस्तै, हलिउड चर्चित कलाकारहरू मेरिल स्ट्रिप, केट ब्लानचेट, अल पचिनो, डेनिअल डे लुइस, डस्टिन हफ्म्यान जस्ता चर्चित अभिनेताको प्रत्यक्ष काम हेर्न पाइन्छ भनेर ब्रोड वेमा महँगो टिकट काटेर पनि दर्शकहरू नाटक हेरिरहेका हुन्छन्। यसले कलाकार र दर्शकहरूबीच अनुभवलाई साटासाट गर्ने सुविधा दिने बरालको धारणा छ।

निर्देशक नवीन सुब्बा नाटकमा चलेका अनुहार देखिनुमा दुईवटा कारण देख्छन्। पहिलो थिएटरबाट आएका कलाकारहरू फिल्ममा स्थापित भए। र, फर्किएर उनीहरू थिएटरलाई स्थापित गर्नलाई आफ्नो क्षमता उपयोग गरिरहेका छन्। जुन सकारात्मक पक्ष पनि हो।

दोस्रो चाहिँ नेपाली फिल्ममा थिएटरवालाले अभिनय राम्रो गर्छ भाष्य निर्माण भएको छ। त्यो भएर जो थिएटरसँग सम्बन्धित थिएनन्, उनीहरू पनि नाटकमा काम गरिरहेको होजस्तो लाग्छ सुब्बालाई।

रंगमञ्चका आफ्नै बाध्यता छन्। कहिलेकाहीँ रंगमञ्चले आफूले उत्पादन गरिरहेको नाटक धेरै मानिससम्म छिटो पुगोस् भन्नका लागि स्टार लिनुपर्ने अवस्था रहेको सुनाउँछन् केदार। तर, रंगमञ्च मात्रै नभई चलेका सेलेब्रिटीहरूलाई पनि नाटक खेल्न रहर लाग्ने उनले बताए।

‘चलेका सेलेब्रिटीहरू जो लाखौँ पारिश्रमिक लिन्छन्, सिनेमाबाटै ठूलो मासमा पुगेका पनि छन्। तर, उनीहरू किन नाटक खेल्न तयार भए त? खासमा उहाँहरूको पनि नाटक आवश्यकता हो। रंगमञ्चले कसरी अभ्यास गर्दोरहेछ, अभिनयमा निखार आउँछ कि भन्ने चाहनाले पनि उहाँहरू रंगमञ्चमा आउनुभएको हो। कतिपय अवस्थामा चलेका फिल्मका सेलेब्रिटीलाई पनि नाटकमा देखिने वा अभ्यास गर्ने चाहना हुन्छ। उनीहरूले रंगमञ्च खोजी रहेको हुन्छ। त्यसैले यो दोहोरो खोजी हो,’ श्रेष्ठले भने।

हुन त कहिलेकाहीँ फिल्मका कलाकारहरू नाटकमा देखिनु राम्रै हो। यसले रंगमञ्चको प्रचारमा सहयोग पुर्‍याउँछ। तर, ठूलो नामले थिच्दा नयाँ कलाकारलाई भने अवसरको कमी हुनसक्छ।

यसमा सहमति जनाउँदै सुब्बा भन्छन्, ‘बाहिरतिर थिएटरका स्टार अलग्गै हुन्छन्। उनीहरूको आफ्नै थिएटरमा लोकप्रियता र स्टारडम हुन्छ। हाम्रोमा यस्तो छैन। सबैले स्टारकास्ट हेर्दा नयाँ आउनेहरूलाई समस्या हुन्छ। जसरी अहिले फिल्ममा नयाँलाई सीमित अवसर छ। त्यही चलेकालाई मात्रै खेलाउँछन्, नयाँ त कसैले ल्याउँदैन। त्यो समस्या थिएटरमा देखिन सक्छ।’

कलाकार तथा निर्देशक संगीता थापा मगर विगत छसात वर्षदेखि रंगमञ्चमा सक्रिय छिन्। २ दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेकी उनले यसैवर्ष नाटक ‘सोरठी’ निर्देशन गरेकी थिइन्। सञ्जय काउछाको प्रकाशोन्मुख उपन्यास ‘सोरठी’ मा आधारित यस नाटकलाई दर्शकहरूले रुचाएका थिए। उनले नाटकमा स्टार राख्दा आफूजस्तै रंगमञ्चमा केही गर्न खोज्नेलाई गाह्रो हुने बताइन्।

‘फिल्मका स्टारहरू नाटकमा ल्याउँदा दर्शक बढ्छन् भन्ने धारणा छ। स्टारको दर्शक नाटकमा आउँछन्, त्यो फाइदा हो। हामी कति वर्षदेखि थिएटरमा संघर्ष गरिरहेका छौँ। तर, नाटककै मेकरले थिएटर आर्टिस्टमाथि नै विश्वास गरिरहेका छैनन्। स्टारडमले चल्ने भए यत्रो वर्षदेखि हामी किन मेहनत गरिरहेका छौँ त?’ उनले प्रश्न गरिन्।

वर्षौंदेखि थिएटरमा काम गरिरहेका निर्देशकले पनि स्टार खोज्दा संगीतालाई दु:ख लाग्छ।

उनी थप्छिन्, ‘हामी त कामले दर्शक तान्ने हौँ नि त। कति नाटकमा थिएटरका कलाकारहरूको कामले गर्दा दर्शकहरू आइरहेका हुन्छन्। किनभने हामी थिएटर भनेर यत्रो वर्षदेखि काम गरिरहेका छौँ। थिएटरका निर्देशकले पनि, जो वर्षौँदेखि लागिरहनुभएको छ, उहाँहरूले नै स्टार खोज्दा दु:ख लाग्दो रहेछ। त्यसले हामीले देखाउने ठाउँ मिस भयो। किनकि त्यसमा एउटा मेहनत गर्ने थिएटर आर्टिस्टले काम पाउँथ्यो भने त्यो अवसर खोसियो।’

केदारले पनि सधैँ स्टार राख्दा बेफाइदा हुने बताए।

‘सधैँ यसरी नै गरिराख्यो भने बेफाइदा चाहिँ हुन्छ। जो रंगमञ्च गरेरै जीवन बिताउँछु वा कलाकारिता गर्छु भनेर कोही आइरहनुभएको छ, उहाँहरूलाई अवसरको कमी हुनसक्छ,’ उनले भने।

निर्देशक बरालले पनि फिल्मका स्टार लिँदा केही चुनौती अवश्य रहने मत राखे।

‘बेफाइदा त होइन, चुनौती भने त्यति नै छन्। जस्तो फिल्मको स्टारको व्यस्तताको कारणले रिहर्सलको लागि समय मिलाउन गाह्रो हुन्छ। नाटक एकदम चलेको खण्डमा सो अतिरिक्त गरौँ भन्ने भयो भने उनीहरूको व्यस्त समयको कारण थप सो गर्न नसकिने हुन्छ,’ उनी भन्छन्,  ‘अभिनय कर्ममा स्टारहरूको काम गर्ने प्रक्रिया र नाटकमा काम गरिरहने रंगकर्मीहरूको बीच अभिनयको सन्तुलन नमिल्न पनि सक्छ जसले गर्दा नाटकको मूल आत्मा प्रस्तुतिबाट हराउन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad