कला


कौतुहलता बढाउने फिल्म ‘लाज शरणम्’का तीन पोस्टर सार्वजनिक

कौतुहलता बढाउने फिल्म ‘लाज शरणम्’का तीन पोस्टर सार्वजनिक

नेपालखबर
पुस १७, २०८१ बुधबार १६:५२, काठमाडौँ

फिल्म ‘लाज शरणम्’को पोस्टर सार्वजनिक गरिएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण टिमले आज चलचित्रका तीन वटा पोस्टर सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएका पोस्टरमा चलचित्र अधिकांश मुख्य कलाकार अटाएका छन्। पोस्टरमा पाँच जना कलाकार फिचर्ड छन्।

पहिलो पोस्टरमा कफिनभित्र हरिस निरौला (क्रकोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) छन् । कफिन भित्रबाट उनीहरूले केही आश्चर्य र रमाइलो मिश्रित भावमा केही हेरिरहेका छन्। यसलाई मृत्युपछि मान्छेले के देख्छ होला भन्ने परिकल्पनाका रूपमा बुझ्न सकिन्छ।

दोस्रो पोस्टरमा हात तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन्। उसको तराजुमा यार्सा र सुनको विष्कुट जोखिरहेको देखिन्छ। सुनको विष्कुट यार्साको भन्दा भारी तौल देखाइएको छ। उसको अगाडि हिमाल र त्यसको काखमा बस्ती छ। यो पोस्टरले सम्पत्तिको लोभ र बाध्यतामा मान्छे कसरी मृत्युसम्म पुगिरहेको छ भन्ने बुझ्न सकिन्छ।

अर्को पोस्टरमा हरिष र विजय छन्। हरिषको ढाडमा बसेर विजयले मान्छेको हड्डीको शङ्ख फुकिरहेको देखिन्छ। यसले प्रतिशोध साँधिरहेको देखाएको छ। सँगै विजय पनि सिनेमामा हाबी हुने एक पात्र हुन् भन्ने देखाउँछ।

गम्भीर विषयलाई रमाइलो तरिकाले ‘लाज शरणम्’ले कथा भन्ने पोस्टरले संकेत गरेको छ । तर, प्रष्ट रूपमा कथा के हो भन्ने खुलाएको छैन । पोस्टरले सिनेमाप्रतिको कौतुहलता बढाइदिएको छ।

कुमार कट्टेल निर्देशित यो फिल्म महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदै छ ।

चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ। सिनेमालाई सुदीप बरालले छायांकन गरिरहेका छन्।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन्। सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन्।

‘लाज शरणम्’को विदेश प्रदर्शन अधिकार बिक्री भइसकेको छ। सिनेमाको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलले किनेको छ।

वितरण कम्पनीका प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम्’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना छ।

सुवेदीले ‘लाज शरणम्’ आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गरिने जानकारी दिएका छन्। कुन–कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताएका छन्। नेपालमा भने सिनेमालाई ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad