प्रकाश सपुतको डेब्यु निर्देशकीय फिल्म ‘वसन्त’ को छायांकन सकिएको छ। निर्माण टिमले दिएको जानकारी अनुसार ३८ दिनमा फिल्मको सम्पूर्ण छायांकन प्याकअप गरिएको हो।
बुधबार फिल्मको अन्तिम सट खिच्दै काठमाडौंमा इन्डक्ल्याप गरियो।
आगामी चैत्र २२ गते चैते दसैँको अवसर पारेर प्रदर्शन हुने फिल्म निर्माणमा आफू र आफ्नो टिमले निकै मेहनत गरेकाले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा अभिनेता तथा निर्देशक सपुतको विश्वास छ।
सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको छ।
यस फिल्ममा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ।
यस सोसल ड्रामा फिल्मको कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सिनेमाको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन्। सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्।
Shares

प्रतिक्रिया