विजय बराल अभिनीत फिल्म ‘पूर्ण बहादुरको सारंगी’को प्रदर्शन नरोकिने भएको छ।
निर्माताले सोमबार हलबाट फिल्म उतार्ने निर्णय गरे पनि वितरक कम्पनी टी-फोक र ब्यांकटेस इन्टरटेनमेन्टले प्रदर्शन नरोक्ने अडान लिएका हुन्।
वितरक कम्पनीहरूले फिल्मको प्रदर्शन नियमित गर्न भन्दै हलहरूलाई इमेल पठाएका छन्।
‘कृपया! योजनाअनुसार नै पूर्ण बहादुरको सारंगीको प्रदर्शनलाई अघि बढाउनुहोला। फिल्मलाई उतार्नेलगायतका कुरालाई बेवास्ता गर्नुहोला’, इमेलमा लेखिएको छ।
अर्को सूचना नआएसम्म प्रदर्शनलाई निरन्तरता दिनसमेत वितरकले हलहरूलाई आग्रह गरेका छन्। जसअनुसार भोलिका लागि हलहरूले सो उपलब्ध गराएका छन्।
निर्माताको भनाइ खण्डन गर्दै वितरकले प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेका हुन्।
वितरक कम्पनी र निर्माता कम्पनीबीच भएको सहमतिको दोस्रो बुँदामा लेखिएको छ, ‘दोस्रो पक्ष (निर्माण कम्पनी)ले नेपाली हलहरूमा रिलिज गरेको मिति कात्तिक १५ गतेबाट ६ महिनाका लागि नेपाली फिल्मको वितरण एवं प्रदर्शन गर्ने अधिकार प्रथम पक्ष (वितरक) मा निहीत रहनेछ। उक्त समयावधि दुवै पक्षको आपसी सहमतिमा थपघट गर्न सकिनेछ।’
अगाडि लेखिएको छ, ‘प्रथम पक्षको वितरण एवं प्रदर्शनसम्बन्धी अधिकारलाई दोस्रो पक्षले कुनै पनि आधार र कारण देखाई नकारात्मक असर पर्न सक्ने क्रियाकलाप गर्न पाइने छैन। तर यो व्यवस्थाले कानुन विपरीत कार्य गर्न छुट दिएको मानिने छैन।’
सोही कानुनी आधारमा वितरकले प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेका हुन्। यसबारे निर्णय गर्न आइतबार बेलुका वितरकले निर्मातालाई छलफलका लागि बोलाएका छन्।
बिहीबारदेखि दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ ले नेपाली सिनेमा हलमा प्रवेश पाएपछि ‘पूर्ण बहादुरको सारंगी’को सो घटेको थियो।
निकै कम सो दिएर नजरअन्दाज गरेको भन्दै निर्माण टिमले विज्ञप्ति निकालेर ‘पूर्ण बहादुरको सारंगी’ सोमबारदेखि देशभरका हलबाट उतार्ने निर्णय गरेका हुन्।
कात्तिक १५ गतेदेखि प्रदर्शनरत यस फिल्मले अत्यधिक सो पाउनेदेखि सर्वाधिक कमाइ गर्नेसम्म रेकर्ड बनाइसकेको छ। यस फिल्मले नेपालमा ५० करोड र विदेशमा २५ करोडमाथि कमाइ गरिसकेको छ।
Shares

प्रतिक्रिया