आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को पहिलो झलक सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्कालाई देख्न सकिन्छ।
पोस्टरमा उनलाई ढुङ्गे चौतारोमा रुखमुनि एक्लै गम्भीर तथा निराशा भावमा देख्न सकिन्छ। उनको शारीरिक हाउभाउ र अनुहारको भावले उनी कुनै गहिरो सोच, विरह वा गम्भीर मानसिक अवस्थामा रहेको दर्शाउँछ।
साथै, पोस्टरको पृष्ठभूमिमा पातहरू झरेका, सुकेका वा नाङ्गा रुखहरू देखिन्छन्। यी उजाड रुखहरूले जीवनको शून्यता, निराशा वा सङ्घर्षको प्रतीकका रूपमा काम गरेका छन्, जसले पात्रको भित्री पीडाको संकेत गर्छ।
सन् २०१६ देखि २०२० सम्म अमेरिकाको क्यालिफोर्नियामा सञ्चार अध्ययन गरेकी न्यान्सी अमेरिकामै मोडलिङ क्षेत्रमा समेत सक्रिय थिइन्। ‘मिस नेपाल इन्टरनेसनल २०२२’ को उपाधि विजेता खड्काले जापानमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै देशको नाम उँचो बनाएकी थिइन्।
सोनी थापा (ढुंगाना)को प्रस्तुति रहेको यस फिल्मको पटकथा तथा संवादमा निर्देशक पौडेललाई चर्चित लेखक अभिमन्यु निरवीले साथ दिएका छन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्मलाई उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाले संयुक्त रूपमा निर्माण गरेका हुन्। फिल्मको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन्।
Shares

प्रतिक्रिया