यस वर्षको दसैँतिहार ताका टिकटकदेखि सामाजिक सञ्जालसम्म नेपाली गीतहरूको वर्चस्व देखियो। ती गीतहरूमा लाखौँ टिकटक र रिल्स बने। युट्युबमा पनि राम्रो भ्युज पाए। तिनै चर्चित गीतमाझ थियो, ‘हियारै’।
गीतको बोल छ:
कसले भन्यो प्रितीले सुख दिन्छ
सद्दे मुटु त्यत्तिकै दुख्दिन्छ
ए आम्मै, हियारै जलाउन्या रहेछ पियार
नयाँ शैलीको यस लोकगीतले दर्शकको मन जितिरहेको छ। त्यसैले त दुई महिनाअघि सार्वजनिक गीतलाई युट्युबमा करोडभन्दा बढीले हेरिसकिएका छन्। यो सफलताले दंग छन् गायक एवं संगीतकार विनोद बाजुराली।
‘यसरी यो गीत चल्छ होला भनेर सोचेको थिइनँ। सिर्जना गरिसकेपछि त्यसलाई राम्रो बनाउनु सर्जकको धर्म हुन्छ। गीत तयार पारेपछि अगाडि बढाउनुपर्छ भनेर भिडिओमा मौसम हिमालीसँग सहकार्य गरियो। र, दुई महिनाअघि आएको गीतले दर्शकहरूको माया पायो,’ बाजुरालीले भने।
भिडिओ
बाजुरालीले यो गीत एक वर्षअघि नै रचना गरेका थिए। जसमा एक गायिकाले आवाजसमेत रेकर्ड गराएकी थिइन्। भिडिओ बनाउने कुरा पनि चलेको थियो। तर, ती गायिका सम्पर्कमा नआएपछि बाजुराली पुन: यो गीत बनाउनतर्फ कस्सिए।
भदौतिर उनी यस गीतको तयारीमा लागे। र, शान्तिश्री परियारसँग मिलेर गीत रेकर्डिङ गराए। भिडिओ निर्देशनका लागि मौसम हिमालीसँग कुरा गरे। हिमालीले देवेन्द्र बब्लु र जुना विश्वकर्माको अभिनयमा भिडिओ तयार पारे।
अहिले भाइरलको जमानामा गीत चलाउनु ठूलै चुनौती बन्ने गरेको छ। बिनालगानी र प्रमोसन गीत दर्शकमाझ पुग्न गाह्रै हुन्छ। कि भिडिओमा चर्चित अनुहार हुनुपर्यो, कि त सोसल मिडिया र टिकटकमा चल्नुपर्यो। तब मात्रै दर्शक युट्युबसम्म पुग्छन्।
बाजुरालीका भनाइमा, उनीसँग न भिडिओमा ठूला स्टार राख्न बजेट थियो न प्रमोसन गर्ने क्षमता नै। थियो त केवल भित्री मनबाट लेखिएको एक सिर्जना।
हियारको अर्थ हो: हृदय। जुन पहिल्यैदेखि उनको मनमा गडेको शब्द थियो।
बाजुरालीका अनुसार हियारै गीत फ्युजन शैलीको छ। यस गीतमा नयाँपन छ। पूर्वदेखि पश्चिमसम्मको स्वाद भेटिन्छ। र, सुदूरपश्चिमकै भएर केही आञ्चलिकता पनि। त्यही फ्युजन गीतलाई बाजुरालीले असोज ३ गते शुभारम्भ डिजिटल म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरे।
सुरुवातमा यस गीतले त्यति प्रभाव देखाएन। एक दिनमा ३५ हजार भ्युज पाउँदा त्यसले खासै उत्साह दिएको थिएन। तर, एक हप्तापछि बिस्तारै गीतले पिकअप लिन थालेको सुनाउँछन् बाजुराली।
भन्छन्, ‘अहिले चलेका मान्छे नराख्दासम्म युट्युबमा क्लिक गर्ने वातावरण छैन। कि त भाइरल हुनुपर्यो कि टिकटकमा प्रमोसन गर्नुपर्यो। नत्र दर्शकश्रोता गीतसम्म पुग्न सक्दैनन्। मसँग केही थिएन। तर, बिस्तारै जान्छ भन्ने अनुमान त थियो। सुरुवातमा भ्युज निकै निराशाजनक थियो। एक हप्तापछि बिस्तारै बढ्न थाल्यो। टिकटकमा पनि रुचाइयो।’

बजारको यस किसिमको माहोलले सर्जकहरू सुरक्षित नभएको उनको बुझाइ छ।
‘यसको मतलब कुनै पनि कलाकार सिर्जनामा सुरक्षित छैनन्। यहाँ ठूलो प्रतिस्पर्धा छ। दिनमै दर्जनौँ गीत आइरहेका छन्। दर्शकश्रोतालाई पनि कुन गीत हेर्ने भन्ने अन्योल छ। कि त चर्चा हुनुपर्यो कि विवाद आउनुपर्यो,’ उनले भने, ‘चर्चाकै लागि जानाजान विवाद पनि ल्याइन्छ। अंग प्रदर्शनदेखि दुईअर्थी शब्द प्रयोग गरिन्छ। त्यस्ता सर्जक र गीतहरू झन् चलेका छन्। यो गीतचाहिँ दर्शकहरूले इमान्दारितापूर्वक चोखो हृदय र मनोरञ्जनका लागि हेरिदिनुभएजस्तो लाग्छ।’
बाजुराली २७ वर्षदेखि संगीतकर्ममा निरन्तर सक्रिय छन्। गीत रचना होस् वा गायन। त्यो भन्दा बढी म्युजिक एरेन्जरको रूपमा चर्चित छन् । पशुपति शर्माको ‘लुटन सके लुट कान्छा’ देखि विष्णु माझीको ‘चरी जेलैमा’ लगायतका चर्चित गीत एरेन्ज गरिसकेका छन् विनोदले। त्यसैले त नेपाली संगीत क्षेत्रमा विनोद बाजुरालीलाई नचिन्ने सायदै होलान्।
उनी क्यासेटको जमनादेखि डिजिटल युगसम्मका साक्षी हुन्। निकै कठिन परिश्रमको भट्टीबाट खारिएर आज राजधानीका एक व्यस्त संगीत संयोजक (म्युजिक एरेन्जर) बन्न पुगेका विनोद आफ्नो गायकीमा बनेका केही गीत सफल हुँदैमा धेरै उत्साहित भइहाल्नुपर्ने ठान्दैनन्।
उनकै भनाइमा, गीतहरू निकाल्नु भनेको अझै सोखमा सीमित छ। आयआर्जनको भरपर्दो माध्यम अझै बन्न सकेको छैन। जति लगानी र मेहनत गरिन्छ, दर्शकश्रोताले मन पराऊन् भन्नेबाहेक अर्को उद्देश्य हुँदैन। आम्दानी होला भन्ने बिरलै हुन्छ।
‘अत्यधिक उत्साहित हुने भन्ने हुँदैन,’ उनी भन्छन्, ‘पहिले गाडीमा जाँदा हाम्रो गीत बज्यो भने खुसी महसुस हुन्थ्यो। टिकटकमा सबै गरेर सात-आठ लाख बनाइएको छ। अहिलेको भाइरल जमानामा यसरी चल्दा खुसी नै लागिरहेको छ।’

बाल्यकालदेखि संगीतसँग गाँसिएको साइनो
बाजुराको मार्तडीमा जन्मेका विनोदको गीतसंगीतसँगको साइनो बाल्यकालदेखिकै हो। मालिका माध्यमिक विद्यालय पढ्दा सांस्कृतिक कार्यक्रमहरू हुने गर्थे। कार्यक्रमअघि शिक्षकहरूले सिकाउँथे। ६/७ वर्षका विनोद झ्यालबाट ती प्रशिक्षण हेर्थे अनि गाउन र बजाउन पाए हुन्थ्यो भन्दै मनमनै कल्पिन्थे।
त्यसपछि तीन-चार कक्षामै उनी खैँजडी, हार्मोनियम र बाँसुरी सिक्न थाले। छ-सात पढ्दा त शुक्रबारे कार्यक्रममा बाँसुरी बजाउन र गीत गाउन थालिसकेका थिए। देउडाभन्दा पनि संगीत शिक्षक विन्देश्वर थापाको प्रशिक्षणमा पूर्वेली र नारायण गोपालका गीतहरू गाएको उनी सुनाउँछन्।
१२-१३ वर्षमा त विनोद गाउँमा राम्रो बाँसुरीवादकको रूपमा चिनिइसकेका थिए। जिल्लास्तरीय कार्यक्रममा बाँसुरी बजाउँथे। तत्कालीन अञ्चल र क्षेत्रीय प्रतियोगितामा सांस्कृतिक टोलीसम्मै पुगे। ती सहभागितामा कहिले पुरस्कार लिएर आए त कहिले सिकाइ मात्र।
हुन त विनोदले संगीतको विरासत परिवारबाटै पाएका हुन्। उनका बुवा हुड्के थिए। बुवाको पुस्तौनी पेसा हुडक्यौली दाइले सम्हाले। विनोदले भने ७ वर्षकै छँदा बुवा बित्दा प्रत्यक्षतः त्यो कला सिक्न त पाएनन्। तर, उनमा त्यो गुण जन्मजात देखियो। उनले संगीत मात्र होइन, कलाका अरू विधा र क्षेत्रमा पनि चाँडै पकड जमाए।
विनोदले राम्रा चित्र बनाउन सक्थे। आकर्षक अक्षरमा साइनबोर्ड र ब्यानर लेख्न जान्ने भए। उनको त्यो प्रतिभा बुवाबिनाको घरको लागि आर्थिक टेवासमेत बन्न पुग्यो।
सुदूरपश्चिमा विभिन्न संस्कारमा हुड्क्यौली बजाउने गरिन्छ। हुड्को डमरुजस्तो एउटा बाजा हो। त्यही बाजार समातेर बजाउँदै, गाउँदै नाच्ने गरिन्छ। हुड्केले हुड्को समातेर गीतिभाकामा कथाहरू सुनाउने लोकसाहित्यको एक विधा नै हुड्क्यौली हो। बाजुरामा हुड्केले सुनाउने कथालाई भार्ता भन्ने चलन छ। अन्यत्र भारत पनि भन्छन्। वाद्यवादन, गाउने, नाच्ने र गीतिकथा सुनाउने चारथरी काम एक्लैले गर्ने बुवाको त्यो प्रतिभा सुनेर मात्रै पनि विनोद चकित पर्छन्, आज।
पोखराबाट औपचारिक संगीत यात्रा
एलएलसी पास गरेपछि गाउँमै प्लस टु भर्ना भए। तर, आर्थिक अभावले पढाइ पूरा सकेनन्। त्यसपछि उनी ब्यानर र साइनबोर्डको व्यवसाय गर्छु भनेर महेन्द्रनगर हुर्रिए। महेन्द्रनगरमा पनि त्यो सपना पूरा हुन सकेन।
त्यहाँ छँदा विनोदले २०५९ सालमा पहिलोपटक देउडा एल्बम निकाले, आँसुको नासो। २-३ सय क्यासेट निकालेका थिए। तर, संकटकालको बेलामा उनले गीतहरू वितरण गर्न पाएनन्। झोलामा बोकेर गाउँ फर्किँदै गर्दा ती सबै क्यासेट सुरक्षाकर्मीले लगिदिए।
गाउँमा फर्केपछि उनी विद्यार्थी नेता जनक बोहरासँग पढ्ने र सांगीतिक क्षेत्रमा केही गर्ने उद्देश्य बोकेर पोखरा पुगे। पीएन क्याम्पसको होस्टेलमा बसे। दोहोरी साँझमा बाँसुरी बजाउन थाले। साथसाथै ब्यानर र साइनबोर्डको काम पनि गरे। अनि पोखराकै एक स्टुडिओमा रेकर्डिस्ट बने। जहाँ संगीतका ध्वनि मिसाउने सीपसित उनी परिचित भए।
सोहीबेला उनको भेट चर्चित संगीतकर्मी बीबी अनुरागीसँग भयो। त्यसपछि बीबीसँगै काठमाडौँ आए। काठमाडौँ आइसकेपछि उनले पहिलोपटक ‘रुँदैरुँदै जान्छु मेलामा’ बोलको गीतमा सहकार्य गर्न पाए। सिर्जना विरहीको शब्द रहेको गीतमा राजु परियार र सिर्जनाको स्वर थियो। गीतमा संगीत संयोजन विनोदले गरे। २०६४ सालमा सार्वजनिक यस गीतलाई दर्शकश्रोताले निकै रुचाइदिए। जुन गीत उनको करिअरको टर्निङ प्वइन्ट बनिदियो।
बीचमा उनले देउडासहित विभिन्न प्रकारका लोकगीतहरू निकाले। ती प्रत्येकमा सफतलाको स्वाद चाख्दै गए। विष्णु माझीसँग ‘भिरको घाँस काट्न सक्छौ’ मा पनि गीत गाए। त्यो गीत पनि राम्रै चलेको थियो।
समयसँगै जनजीवन अनि जनजीवनसँगै लोकगीत पनि परिवर्तन हुँदै जाने कुरा स्वाभाविक मान्छन् विनोद। जस्तो कि चिट्ठीको युग परिवर्तन भएर फोन र फेसबुकको युगमा परिणत भयो। यही कुरा २०६७ तिर पत्रकार डीबी खड्काको शब्दमा ‘हुन्यावाली जीवन साथी’ ल्याए। त्यो गीत पनि निकै लोकप्रिय भयो। त्यसपछि प्रदेश नम्बर ७, बाटो लामो रारा, बसेइ मैना मेरी लगायतका हिट गीतहरू विनोदले दिए।

‘संगीत संयोजनको क्षेत्रमा सुनिश्चितता छ’
विनोद शब्द, स्वर र संगीत भर्न उत्तिकै पोख्त छन् तर व्यावसायिक रूपमा संगीत संयोजन बढी सुरक्षित ठान्छन्।
भन्छन्, ‘गायनमा गीत चलेर मेला/महोत्सवमा बोलाउँदा टिक्न सजिलो छ। तर, चलेन भने बहुत गाह्रो छ। म्युजिक एरेन्जर बन्दा सुनिश्चितता छ। २०५९ सालदेखि यसै क्षेत्रमा काम गरिरहेको छु। यसले निर्वाह सजिलो भएको छ। गायन क्षेत्रमा जोखिम छ।’
विनोद नेपालमा टप म्युजिक एरेन्जरको रूपमा चिनिन्छन्। आठ हजारभन्दा बढी गीतमा संगीत संयोजन गरिसकेका उनको मालश्री काठमाडौँका सर्वाधिक व्यस्तमध्येको स्टुडिओमा पर्छ। जहाँ चर्चित गायक-गायिकाहरू पनि लाइनमा बस्नुपरिरहेको हुन्छ।
यसमा भने खुसीभन्दा बढी तनाव हुन्छ विनोदलाई।
‘इन्जोय गर्नेलाई त ठिकै हो। मलाई भने तनाव हुन्छ। पर्दापछाडि भए पनि क्रियटिभ काम हो। म त दरिद्र पेसा भन्छु। एउटा मूर्तिकार र चित्रकारले हजारौँ मूर्ति उस्तै बनाउँदा हुन्छ। तर, म्युजिक एरेन्जरले सधैँ नयाँ दिनुपर्ने चुनौती हुन्छ। कसैसँग मिल्न पनि भएन। फेरि भाकाहरू उस्तै आइदिन्छन्। लोक फ्लेबरभन्दा बाहिर जानुभएन। मलाई चाहिँ खुसीभन्दा तनाव हुन्छ,’ उनी भन्छन्।
बाजुरालीलाई संगीत संयोजनको क्षेत्रमा आकर्षण बढिरहेको लाग्छ, ‘यो एरेन्जको क्षेत्रमा लगाव छ। धेरै गायकहरू एरेन्जर बन्न चाहनुहुन्छ। गायन क्षेत्रमा राम्रै गरिरहेकाहरू पनि सम्भावना देखेर यस क्षेत्रमा आउन खोज्नु सकारात्मक हो।’
तर, पर्दापछाडिको कर्मलाई सबैले चिन्दैनन्। जसले कहिलेकाहीँ यो क्षेत्र छनोट गरेकोमा हीनताबोध पनि हुन्छ उनलाई।
‘हामी पर्दाभित्रका मान्छेलाई चिन्दैनन्। मिडियामा आउन सक्दैनौँ। २५ वर्ष बिताउँदा पनि दर्शकश्रोतासँग प्रत्यक्ष जोडिन नपाउने अवस्था आउँदा दु:ख पनि लाग्छ। हामीमार्फत वा हिजो आएको गायक सेलिब्रेटी बन्छ। हामी सधैँ पछाडि हुन्छौँ। कहिलेकाहीँ गलत क्षेत्र छनोट गरेछु भन्ने हीनताबोध पनि हुन्छ।’
बाजुराबाट रित्तो हात आएका बाजुरालीको काठमाडौँमा अहिले घर छ। आफ्नै सुविधासम्पन्न रेकर्डिङ स्टुडिओ छ। धेरै अपेक्षा नहुँदा यो सफलतामा खुसी लाग्छ उनलाई।
भन्छन्, ‘म सपना नभएको ठाउँबाट आएको मान्छे। परिवारको पनि मप्रति अपेक्षा थिएन। केही गरेर खाओस् भन्ने मात्र थियो। अपेक्षा नहुँदा यति हुँदा खुसी हुन्छ। तर अहिलेको चेतनाले त्यहाँभन्दा अगाडि बढ्न झक्झक्याउँछ। अझै गर्न पाए हुन्थ्यो लाग्छ।’
पछिल्लो समय संगीतक्षेत्रमा धेरै भित्रिरहेका छन्। तर, सुनिश्चितताको अभाव हुँदा टिक्न गाह्रो हुने बताउँछन् उनी।
‘यो क्षेत्रमा सबैको सुनिश्चितता र भविष्य छैन। ५ प्रतिशतले फाइदा गर्छ। अहिले सामाजिक सञ्जाल, मिडिया र युट्युबको सहजता छ। सबै बुझ्न सकिन्छ। तर, यसले सहजतासँगै प्रतिस्पर्धा बढाएको छ। गायक नभएको घर छैन। सामाजिक सञ्जालको प्रभाव धेरै छ। पहिले राष्ट्रव्यापी प्रतियोगितामा स्थान ल्याउनेले अहिले जिल्लामा पनि स्थान ल्याउन गाह्रो छ।’

सुदूरपश्चिमबाहिर देउडाप्रति धेरै भ्रम छन्
पछिल्लो समय सुदूरपश्चिमको भाका मूलधारसम्म आइरहेका छन्। फिल्मदेखि गीतसंगीतमा पनि सुदूरपश्चिम पर्न थालेको छ। तर, विनोद भने सुदूरपश्चिमबाहिर देउडाप्रति धेरै भ्रम रहेको ठान्छन्।
‘सुदूरपश्चिमबाहिर देउडाप्रति धेरै भ्रमहरू छन्, देउडालाई बुझ्ने र परिभाषित गर्ने सवालमा, देउडाका क्षेत्र निर्धारण गर्ने सवालमा। देउडा भनेको सुदूरपश्चिमका धेरैमध्येको एक संस्कृति र शैली हो। अब यहाँ के भइरहेको छ भने सुदूरपश्चिमको हुडक्यौलीलाई पनि डेउडा भनेको छ। चाँचरीदेखि छलिया, धमारी र ठाडी भाकालाई पनि देउडा भनिएको छ। अझ कतिपयमा कुनै अर्थै नदिने गरी तमरा र हमरा प्रयोगका भरमा पनि देउडा भनिएको छ। अझ तिमीहरूको देउडा भाषा भनेको छ। यो एक किसिमको गलत परिभाषा छ। यसमा गहन रूपमा बहस हुन जरुरी छ,’ भन्छन्।
उनका अनुसार देउडा भाषा होइन, यो एउटा सवालजवाफ हो। जहाँ पाइला मिलाउँदै खेल खेलिन्छ। र्याप ब्याटलजस्तै घम्साघम्सी हुन्छ।
पछिल्ला सिर्जनाहरू देउडाभन्दा पनि सुदूरपश्चिमका भाषिकाअन्तर्गतका गीत भएको उनको बुझाइ छ। जहाँ सुदूरपश्चिमका मौलिक शब्दहरू प्रयोग गरिएका हुन्छन्।
अघि थप्दै भने, ‘हियारैमा पनि जलाउन्या र गलाउन्या शब्द राखेका छौँ। त्यो देउडा होइन। पछिल्ला गीतहरू देउडाभन्दा सुदूरपश्चिमका आञ्चलिकता भएका गीतहरू हुन्। नेपाली गीतहरू जहिले पनि प्रभावित भएका छन्। सिर्जना गर्नेहरू पूर्वबाट सकेर पश्चिमतिर लागेका छन्। छक्का पञ्जामा पनि तमरा हमरा प्रयोग गरिएको छ। यो देउडा होइन। उनीहरूले देउडाको आशय र भाव बुझ्नै सक्दैनन्।’
भिडिओ
Shares

प्रतिक्रिया