कला


कम सो पाएपछि निश्चल बस्नेत भन्छन्– अब त अत्ति भयो, लगानी उठाउने गरी लागेँ

नेपाली फिल्मकै कारण ‘बेहुली फ्रम मेघौली’ ले कम सो पायोः क्यूएफएक्स
कम सो पाएपछि निश्चल बस्नेत भन्छन्– अब त अत्ति भयो, लगानी उठाउने गरी लागेँ

लक्ष्मी बलायर
असोज २९, २०८१ मंगलबार १३:२, काठमाडौँ

उत्साहजनक सोसहित घटनास्थापनाको दिनबाट फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आयो। अन्य फिल्म हलमा नलाग्दा पहिलो दिन यस फिल्मलाई ३४० सो दिइएको थियो। जुन फिल्मले हालसम्मकै उच्च सो भएको वितरकको दाबी थियो।

सोलो रिलिज र फिल्मको कथालाई दर्शकले निकै रुचाए। जसले पहिलो साताभरि फिल्म उत्साहजनक व्यापार गर्न सफल भयो। तर, दोस्रो साताबाट त्यो रफ्तार कायम हुन सकेन।

फूलपातीबाट दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ५’, जितु नेपालको ‘ज्वाइँ साब’ र विराज भट्टको ‘१२ गाउँ’ रिलिज भए। साथै आलिया भट्ट स्टारर बलिउड फिल्म ‘जिगरा’ समेत हलमा लाग्यो।

नयाँ फिल्म रिलिज हुँदा सो बाँडिनुलाई निर्माता निश्चल बस्नेतले स्वाभाविक माने। तर, ‘बेहुली फ्रम मेघौली’को राम्रो अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै निर्माता निश्चल बस्नेतले सोमबार सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखे। साथै आफूले हलको विकल्प खोज्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।

राम्रो व्यापार गरे पनि अस्वाभाविक रूपमा सो घटाउँदा हलको विकल्प खोज्ने सोच बनाएको निश्चलले बताए। साथै बुधबारबाट फिल्म हलबाट उत्रार्ने निर्णय गरेको उनको दाबी छ।

‘पहिलो साता एकदमै राम्रो व्यापार गरेको थियो। तर, दोस्रो साता सुरु भएपछि सोहरू धेरै फालिएको छ। नेपालगन्ज, पोखरा लगायतका ठाउँमा त सो नै छैन। राम्रो प्रतिक्रिया र अकुपेन्सी आउँदा पनि सोहरू १५ वटा मात्रै छ। तर, हिन्दी फिल्ममा भने मान्छे नहुँदा पनि सोहरू राखिएको छ। दुइ/तीन दिन हामीले अब त बढ्ला भनेर चुप लागेर बस्यौं। छुट्टिभरि सो नपाएपछि अब हलमा के राख्नु? अत्ति नै भएपछि फिल्म उत्रार्ने निर्णय गरेका हौं,’ उनले भने।

हलको यो प्रवृतिले गर्दा हलको विकल्प खोज्न बाध्य भएको उनले बताए। ‘फिल्मले राम्रो गर्दा गर्दै पनि सोको लागि निहुँ खोजिराख्नुपर्ने र झगडा गरिराख्नुपर्ने भनेर हलको विकल्पतिर लागेको हुँ। हलमा फिल्म आजसम्म मात्रै लाग्छ,’ उनले नेपालखबरसँगको कुराकानीमा भने।  

नेपाली फिल्मले कमाइ गर्नु राम्रो पक्ष रहे पनि फिल्म हल सञ्चालकहरू त्यसमा खुसी हुन नसको उनको बुझाइ छ।

‘तीनवटा नेपाली फिल्मले कमाइ गर्नु राम्रो कुरा हो। उनीहरूको शो काटेर दिनु पनि भनेको होइन। तर, हिन्दी फिल्मले राम्रो गरिरहेको छैन। हिन्दीभन्दा हाम्रै अकुपेन्सी राम्रो छ, अनलाइनमा हेर्दा पनि हुन्छ। हाम्रो शो नभएर दर्शकहरू फर्किरहेका छन्। तर, नेपालीभन्दा किन हिन्दीलाई बढी शो दिइयो?,’ उनको प्रश्न छ।

राम्रो फिल्म हुँदा र दर्शकहरू आउँदा शो बढाउँदै लैजाने हल सञ्चालकहरूले भन्ने गर्छन्। यसपटक सबै चिज मिल्दा पनि शो नबढाएको निश्चलको दुःखेसो छ।

‘हाम्रो नचलेको भए, दर्शक कम आएको भए सो नदिँदा फरक पर्दैनथ्यो। तर, यसपालि सबै चिज मिल्दा पनि किन सो पाउँन सकिएन त?,’ उनले प्रश्न गरे।

निश्चलका अनुसार पहिलो साता फिल्मले साढे २ करोडको व्यापार गरेको थियो। तर, सो काटिएपछिको आफूहरूले हिसाब समेत नगरेको सुनाए उनले।

भोलिपर्सिबाट नै फिल्म ओटीटी प्लेटफर्ममा आउने उनको भनाइ छ। ‘भोलिपर्सिबाट नै फिल्म ओटीटीमा आउँछ। एमएसएन भिडिओमा आउने कुरा छ। फिल्मको लागि हलनै जानुपर्छ भन्ने छैन। त्यसको अप्सनतिर लागिहाले म। लगानी उठाउने गरी कुरा गरिरहेको छु। हेरौं के हुन्छ,’ निश्चलले भने।

क्यूएफएक्स नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन हो। हिन्दीभन्दा पनि नेपाली फिल्मकै कारण ‘बेहुली फ्रम मेघौली’ ले कम सो पाएको क्यएफएक्सकी प्रबन्ध निर्देशक तृप्ति गिरी बताउँछिन्।

भन्छिन्, ‘उहाँको फिल्मलाई हामीले राम्रै सो दिएका हौं। अरू नेपाली फिल्म चलेपछि उहाँको सो घटेको हो। हिन्दी फिल्मलाई चाँहि बढी सो दिइयो किन भन्नुभयो? जबकि हामीले हिन्दी फिल्म ल्याउने वितरकलाई पहिल्यै नै दसैँमा नेपाली फिल्म चल्छ। जसले धेरै सो दिन सकिन्न भनेका थियौँ। जसकारण अफटाइम सो दिएका छौँ। हामीले पछिको लागि पनि सोच्नुपर्छ। किनकि कतिपय ठाउँमा हिन्दी फिल्म मात्रै चल्छन्। जसकारण हिन्दीलाई पनि सो छुट्याउनु हाम्रो बाध्यता हो।’

यस फिल्ममा निश्चल र स्वस्तिमासहित वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायतको अभिनय छ। फिल्ममा समाज र परिवारले दिने बिहेको दबाबको कथा छ।

बस्नेतले यसअघि वर्षोदेखिको सेयर बाँडफाँटको विवादलाई किनारा लगाएका थिए। आफू निर्देशित फिल्म ‘दिमाग खराब’ प्रदर्शनको बेलामा हलले ५० प्रतिशत सेयर निर्माण पक्षलाई नदिए हलबाट सिनेमा उतार्ने चेतावनी दिएका थिए।

लामो छलफलपछि प्रदर्शकहरूले निर्मातालाई ५० प्रतिशत सेयर दिन तयार भएका थिए। नेपाली र विदेशी फिल्महरूलाई बराबर सो नदिएको र फिल्म लागिरहने बेलासम्म ५० प्रतिशत प्रोड्युसरलाई नदिएको भन्दै ‘दिमाग खराब’को निर्माण पक्षले त्यतिबेला चेतावनी दिएको थियो।

अघिल्लो वर्ष मंसिर ७ गते भएको उक्त सहमतिलाई नेपाली सिने क्षेत्रको ठूलो निर्णयको रुपमा लिने गरिन्छ। निश्चललाई सिनेक्षेत्रको ‘लडाकु’ भन्दै धेरैले प्रशंसा गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad