नाटकमा कथा मात्रै हुँदैनन्, कसैको संस्कृति भेटिन्छन् अनि मौलिक पहिचान पनि। कुनैमा त मिथकीय विषयवस्तु जोडिएका हुन्छन्। जुन कथामा इतिहास र थुप्रै रहस्य लुकेका हुन्छन्। यस्तै, रहस्यले भरिएको इतिहास खोतल्ने नाटक हो: सोरठी।
सोरठी भन्नेबित्तिकै दिमागमा झट्ट मगर समुदायको परम्परागत नृत्य याद आउँछ। तर, नाटक सोरठी एक युवतीसँग सम्बन्धित छ। जो राजपरिवारमा जन्मिए पनि बाल्यकालदेखि परिवारसँग टाढा छिन्।
सोरठी नाचसँगै नाटक सुरुवात हुन्छ। कथाको सार बताउने गीतमा चारपाँचजना केटाहरू सोरठी नाच्छन्। जुन हेरेर नातिनी (रमिता राई) सोरठी रानीको कथा भन्न बजै (कविता राई) सँग कर गर्छिन्। त्यसपछि मञ्चमा मूल कथा सुरु हुन्छ।
मगर समुदायले मान्दै आएका एक जैसिङ्गे राजा हुन्छन्। सोह्रवटा रानीमध्ये कान्छी हैमती हुन्। दयालु स्वभावकी उनीबाट छोरीको रूपमा सोरठीको जन्म हुन्छ। तर, परिवारमा उनको जन्मलाई अभिशापको रूपमा लिइन्छ।
एक पण्डितले ‘राजकुमारीले आमालगायत सम्पूर्ण सन्तानलाई सिध्याउनेछिन्। राज्यमा ठूलो विपत्ति आउनेछ’ भनेपछि राजा सोरठीलाई नै सकाउने निर्णयमा पुग्छन्। तर, हैमती रानी मान्दिनन्। त्यसपछि सोरठीलाई सुनको सन्दुकभित्र राखेर नदीमा बगाइन्छ। जसलाई एक माझीले फेला पारेर आफूसँगै राखे।
माझी परिवारमा हुर्किएकी सोरठी (पुनम मगर) यौवनवस्थामा पुगिन्। नदी किनारमा सँगसँगै माछा खोज्दाखोज्दै उनको आइतेसँग प्रेम बस्छ।
तर, यता सिकार खेलेर तिर्खाएका जैसिङ्गे पानी माग्न जाँदा सोरठीसँग ठोकिन्छन्। १६ वर्षे सोरठीको सुन्दरताले मोहित हुन्छन् राजा। राजाले सोरठीलाई सुनको कल्की उपहार दिन्छन्। आफ्नी कान्छी रानी बनाउने सपना देख्छन्।
जैसिङ्गे राजालाई सोरठी आफ्नो छोरी हो भन्ने थाहा होला? नाटकले यसैको रहस्योद्घाटन गर्छ। नाटक सञ्जय काउछाको प्रकाशोन्मुख उपन्यास ‘सोरठी’ मा आधारित छ। काउछाकै लेखन रहेको नाटकलाई काउछासहित संगीता थापा मगरले निर्देशन गरेकी छिन्।
सोरठीको भाका मिसाउँदै मिथक नाटकलाई मञ्चमा उत्रार्न सफल भएकी छिन् संगीता। मुख्य पात्र सोरठीले बाँचेको जीवनदेखि यौवनावस्थामा फक्रिएको प्रेमलाई नाटकमा सशक्त ढङ्गले देखाइएको छ। सोरठीले वियोगले दर्शकहरूको आँखा समेत रसाउँछ।
हजुरआमामार्फत फ्ल्यासब्याकको तरिकाले भनिएको नाटकले दर्शकलाई मगर समुदायको इतिहाससम्म पुर्याउँछ। दरबारदेखि माझीगाउँको परिवेशलाई नाटकमा कलात्मक ढङ्गले उतारिएको छ। घोडाको सट्टा प्रयोग गरिएको प्रप्सले दर्शकहरूमा हाँसो पैदा गर्छ।
मञ्चको परिकल्पना नाटकको अर्को सुन्दर पक्ष हो। किनकि मञ्चमा देखिएको दृश्यले नाटकलाई बलियो र वास्तविक बनाएको छ। दरबार होस् वा सिकार गरिरहेको दृश्य। पानी पँधेरोको सेटिङदेखि नदीमा जाल हान्दै माछा मारिरहेको दृश्य सुहाउँदो छ मञ्च। त्यसैले त लाग्छ: नाटक हैन, वास्तविक दृश्य हेरिरहेका छौँ।
त्यस्तै, पात्रहरूको लवजले कथालाई झनै मौलिक बनाएको छ। हुन त नाटकमा नेपाली भाषाकै प्रयोग गरिएको छ। तर, मगर र माझी पात्रहरूमा आएको मातृभाषा लवजले नाटकमा मिठास थपेको छ।
संगीतको पाटोमा पनि गज्जबको काम भएको छ। एलिना राई, युकेश राई र सन्देश मानन्धरको लाइभ म्युजिकले दर्शकहरूलाई नाटकसँग जोड्न ठूलो भूमिका खेल्छ।
त्यस्तै, कलाकारहरूको अभिनय पनि जीवन्त छ। सबैले आ-आफ्नो पात्रलाई न्याय गरेका छन्। पात्रहरूले पुरानो समयलाई अभिनयमार्फत नाटकमा दुरुस्तै प्रस्तुत गरेका छन्। प्रकाश र ध्वनिको समायोजनले कथाको परिवेश र पात्रको मनस्थितिलाई सान्दर्भिक चित्रण गर्छ।
समग्रमा ‘सोरठी’ आदिवासीको कथा भन्ने उत्कृष्ट नाटक हो। मगर समुदायको इतिहासदेखि संस्कृति, गीतसंगीत, नृत्य र जीवनशैलीलाई नाटकमा कलात्मक शैलीमा बुनिएको छ।
काउछा क्रियसनको प्रस्तुति, बिम्ब आर्टस् तथा हलेसी डेकोरको सहकार्य रहेको नाटक नाटकमा कविता पुन, रमिता पुन, रमिला मोक्तान, विशाल पुलामी, हेमन्त लामिछाने, आरुब जङ्ग राई, अस्मिता बुढामगर, मानबहादुर राई, खुसी सुनुवार, निस्सोम मगर, गङ्गा मगर, प्रविन मगर र संजीत थुलुङ राईको अभिनय छ। भदौ ३० गतेसम्म चल्ने नाटक मंगलबारबाहेक हरेक साँझ ५:३० बजे मञ्चन हुँदै आएको छ।
Shares
प्रतिक्रिया