सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी कार्तिक ३० गते प्रदर्शनमा आउने पक्का भएको हो।
निर्माण टिमले आइतबार एक पोस्टर सार्वजनिक निकाल्दै रिजिज मिति घोषणा गरेको हो। पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ।
निर्देशक जोन राईले सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामाको सम्मिश्रण रहेको बताए। उनले यस चलचित्रले बम बहादुर नामक पात्रको जीवनमा चार दशक पहिले भएका घटनाहरूको छायाले कसरी वर्तमानमा उनको जीवनलाई प्रभावित बनाएको कथा प्रस्तुत गर्ने सुनाए।
‘यसको कथाले दर्शकलाई बम बहादुरको बाल्यकालको स्मरणमा पुर्याउँछ, जहाँ उनका सुन्दर पलहरू एकाएक विगतको घटनाले छिन्नभिन्न हुन्छन्। चलचित्रले वर्तमान र विगतको कथा जोड्दै एउटा नाटकीय क्लाइमेक्समा टुङ्गिन्छ, जसले सस्पेन्स, रोमान्स र सोसल ड्रामाका सबै धागाहरूलाई बुन्छ, ’ निर्देशक राईले बताए।
बिस्ट ब्रदर्स फिल्म्स प्रा।लि।को निर्माणमा बनेको यस फिल्ममा सौगातसहित प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, रिया भुजेल, शान्तिला तामाङ, बाल कलाकार वाशित कार्की, सुरेश पाँचकोटी लगायतको अभिनय छ।
‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन्। जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस चलचित्रको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन्।
Shares
प्रतिक्रिया