गायिकाहरु शान्तिश्री परियार, ज्योति मगर, रचना रिमाल र मोडल करिश्मा ढकाल अमेरिका उडेका छन्।
तीजको अवसरमा आयोजना हुने कार्यक्रम ‘अब नाच्छ अमेरिका’ मा प्रस्तुति दिन उनीहरु अमेरिका गएका हुन्।
सोमबार साँझ त्रिभुवन विमानस्थल हुँदै उनीहरु अमेरिका प्रस्थान गरे। उनीहरुको अमेरिका बसाई झण्डै दुई महिना हुनेछ।
फ्लाई नेपाले अमेरिकाका थुप्रै राज्यमा कार्यक्रमको आयोजना गरेको छ। चारैजनाको यो पहिलो अमेरिका टुर हो।
यो नचाउने यात्रामा गायिकाहरुले प्रस्तुति दिने कार्यक्रम छ। यस्तै, चर्चित मोडल करिष्मा ढकालको पनि नृत्य रहनेछ।
अगस्ट १० मा बोस्टन सहरबाट सुरु हुने कार्यक्रम सेप्टेम्बर २९ सम्म तय भएको छ।
नचाउने उद्देश्यसहित ‘अब नाच्छ अमेरिका’ नाममा कार्यक्रम गर्न लागेको फ्लाई नेपाका सीईओ विनोद अधिकारीले जानकारी दिए।
कार्यक्रम तीजको अवसर पारेर अमेरिकाका ८ वटा राज्यमा हुनेछ। कार्यक्रमले नेपालीलाई मनोरञ्जनसहित नेपालमै रहेको आभाष दिलाउने फ्लाई नेपाका सीईओ विनोद अधिकारीको विश्वास छ।
आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम तय भइसकेको छ।
Shares
प्रतिक्रिया