राइटपाथ करियर काउन्सिलिङ र मकालुखबरको सहकार्यमा प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’ सार्वजनिक भएको छ।
काठमाडौँमा आयोजित कार्यक्रममा सार्वजनिक गीतमा एकता र सामूहिक प्रयासको महत्वलाई उजागर गरिएको छ।
गीतले नेपाली जनताले मिलेर काम गर्दा नेपालको समृद्धि सम्भव छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ।
भिडियोमा विभिन्न प्राकृतिक विपत्तिहरूको प्रभाव र यसबाट प्रभावित जनताको दुःखलाई उजागर गर्दै सामूहिक प्रयासले यी चुनौतीहरूलाई पार गरी समृद्धिको नयाँ युग सुरु गर्न सकिने सन्देश छ।
भिडिओमा नाजिर हुसेन र केकी अधिकारी फिचर्ड छन्। भिडिओमा युवाहरूलाई विदेशमा अवसरहरूको खोजी गर्नु सकारात्मक भए तापनि, आफ्नो देशको विकासमा योगदान दिन फर्किनु आवश्यक रहेको सन्देश दिन्छ। यस गीतले नेपाली युवाहरूलाई आफ्नो सीप र क्षमता फिर्ता ल्याई समृद्ध राष्ट्र निर्माण गर्न प्रोत्साहित गरेको छ।
सगोत्री आचार्यको शब्द रहेको गीतमा सत्यराज र स्वरूपराज आचार्यको स्वर छ। फिलिप डिसी र सिआर बस्नेतको निर्माण रहेको भिडिओलाई निकेश खड्काले निर्देशन गरेका हुन्।
समारोहमा राइटपाथ करियर काउन्सिलिङले पूर्व मिस नेपाल अस्मी श्रेष्ठलाई आगामी एक वर्षका लागि सद्भावना दूतको रूपमा नियुक्त गरेको घोषणा पनि गरियो।
राइटपाथ करियर काउन्सिलिङका सिइओ फिलिप डिसीले यस परियोजनालाई सफलतापूर्वक अघि बढाउन पाउँदा आफू अत्यन्त उत्साहित भएको बताए। उनले भने, ‘हाम्रो उद्देश्य नेपालीहरूलाई मिलेर उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गर्नु र आफ्नो देशको समृद्धिमा योगदान दिनु हो।’
Shares
प्रतिक्रिया